शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि म रोमाञ्चित थिएँ । एक वर्ष भइसकेको थियो घर नगएको । अघिल्लो सालको यहि दशैंमा नै घर गएको थिएँ म । एक त दशैं जस्तो महान चाडले खुशी ल्याएको थियो भने संगसंगै घर जान पाउने कुराले खुशी थपेर अझै रोमाञ्चित बनाएको थियो ।
म भखरै २३ वर्ष पुगेको थिएँ । यो उमेरलाई धेरैले धेरै किसिमबाट वर्णन गर्दछन् । प्रेमको पालुवा पलाएर मौलाउने, अनि झाङ्गनि उमेर यहि हो भन्ने मान्यता मेरो पनि थियो । कलेजमा आफ्नो उमेरका सहपाठीहरु युगल जोडी बनेर प्रेमपत्र साटासाट गर्थे, कुनै बहाना बनाएर कलेज बंङ्क गर्थे, टाढा कुनै पार्कमा घुम्न जान्थे । यी सबै देख्दा र सुन्दा म रोमाञ्चित हुन्थेँ । म कल्पनाको संसारमा पुग्थें र आफ्नो जीवन साथीको बारेमा कल्पना गर्थेँ । उ कस्ती होली ? भन्ने प्रश्न मनमा ल्याउथेँ । प्रश्नको उत्तर बनेर मनमा कुनै पनि आकृति आउँदैनथ्यो । यो उमेरसम्म मैले प्रेम के हो र कस्तो हुन्छ महशुस गर्न सकेको नै थिईन । ‘सुन्दर महिलासंगको साथ अनि सामिप्यता कस्तो हुन्छ मलाई थाहा नै थिएन । यद्यपि म पनि आम मेरो उमेरका केटाहरु जस्तै प्रेममा रमाउन चाहन्थें ।हरेक पल्ट दशैंमा घर जाँदा म ठुलो उत्सुकताका साथ टिकट काट्थेँ र सधैँ झ्यालपट्टीको सिट लिन्थेँ । दशैंमा काठमाडौँ छोडेर घर फर्किनेहरुको ठुलो भिड हुन्थ्यो । यस कारण हामी फुलपाती भन्दा १०-१२ दिन अगाडि नै घर जाने तयारीमा जुट्थ्यौ । काठमाडौँबाट नेपालगंजसम्मको यात्रा रात्री बसमा करिब १४ घण्टाको हुन्थ्यो । त्यो १४ घण्टाको पट्यारलाग्दो यात्रालाई सजिलो बनाउने एउटै उपाय आफ्नो साइडको सिटमा रमाइलो साथी भेटिनु । यसपल्टको यात्रा चाँहि अगाडिको दुईवटा वोरिङ्ग यात्रा जस्तो हुनैहुँदैन भने सोच्दै म टिकट काउन्टरमा पुगेको थिएँ र भगवानसँग मनमनै प्रार्थना गदै थिँए “भगवान कम्तिमा यो यात्रामा त मेरो साइडको सिटमा एउटी सुन्दरी जुराइदेउ !”
म चढेको बस बालाजुको नयाँबसपार्कबाट अगाडि बढ्यो । बस अझैँ भरिएको थिएन सायद कलंड्ढीबाट चढ्ने यात्रीहरु बाँकि छन् होला । मेरो सिटमा म मात्रै थिएँ । यसपल्ट भने म ढुक्क थिएँ, मेरो सिटमा कोहि प्राकृतिक सुन्दरी आउनेछिन् र मेरो यात्रा अन्यन्तै रमाइलो हुनेछ । तर, अहँ त्यस्तो भइराखेको थिएन । कलंकीबाट बस चढ्नेहरुको भिडमा मेरो आँखाले लगातार खोजीरहेको सुन्दर आखाहरुको जम्काभेट हुनै सकेन । मैले खोजी राखेको जस्तो कोहि पनि गाडीमा चढेन । यस पल्टको यात्रा पनि निरस हुने कुरामा अब म विश्वस्त भएँ । भर्खरसम्म रमाइलो यात्राको खुसीमा रमेको मेरो मन तुरुन्तै निरस यात्रामा दुःखी हुन पुग्यो । बसका करिब सबै सिटहरु भरिईसकेका थिए । खाली म संगैको सिट मात्र अघिदेखि मैले ओगटेकोले होला भरिएको थिएन ।
बस कलंड्ढीबाट पनि अगाडि बढ्यो मेरो जीवनको एउटा अर्को निरश र पट्यारलाग्दो यात्रा अगाडिका बर्षहरु र दिनहरु जस्तै गरि अगाडि बढ्यो । कलंड्ढी चोकबाट बाबा पेट्रोलपम्पतर्फ ओरालो लागेको बस थोरै अगाडि बढ्ने बित्तिकै फेरि रोकियो । मेरो श्वास पनि रोकियो, मुटुको धड्कन बढ्यो , कता कता डर लागेको जस्तो भयो । मेरो गाडीको अन्तिम खाली सिटमा बस्न कोहि यात्री आउँदैछ भन्ने अड्कल गर्न मलाई कुनै गाह्रो भएन । खलासीले ढोका खोल्यो र एकोहोरो करायो ‘छिटो छिटो गर्नुहोस्, ट्राफिकले रोक्न दिँदैन, छिटो छिटो ।’
गाडीभित्र छिरेको आकृति र मेरो कल्पनाको आकृति एउटै पो थियो । मेरो ओठबाट विजयको मुस्कान निक्लियो, एकचोटी बिस्तारै ओठ बरबरायो ‘थ्याङ्कस् गड, यसपालिको यात्रा भने रमाइलो हुने भयो ।’ म खुसुक्क झ्याल पट्टीको सिटमा सरेँ, ऊनलाई मेरो सिटमात्र खाली छ भन्ने जानकारी दिन चाहन्थें तर उनी सहजै मेरो सिटमा बसिनन् । बरु कण्डक्टरलाई खाली सिटको बारेमा सोध्नपो थालिन् । कण्डक्टरसँग पनि उपाए नै थिएन । मलाई मेरो सिट खाली राख्न गरेको प्रयत्न र उनको म संगैको खाली सिटमा नबसी अर्को सिट खोज्न गरेको प्रयास सम्झेर हाँसो उठ्यो । उनी अनिच्छुक देखिएकी थिइन् मेरो सिटमा बस्न, तर बसिन् । मैले मनमनै सोचेँ ‘नखरा चाहिँ पार्न जानेकी रैछे ।’
म धेरै खुसी अनि थोरै डरले कुनातिर च्यापिएको थिएँ । गाडी अगाडि बढ्यो, मनमा हजारौँ कुराहरु खेल्न थाले । सबै उनको बारेमा थियो भन्ने हैन, तर धेरै उनकै बारेमा थियो । मलाई उनीसंग कुरा सुरु गर्नुथियो तर हिम्मत जुटाउन सकिराखेको थिईन । म आफुभित्र भएको व्यग्रतालाई लुकाएर भलाद्मी देखिन चाहन्थें । त्यसैले चाहेर पनि छिट्टै बोलीहालीन । बस नागढुङ्गामा गएर रोकियो । अलिकति जाम लागेको रहेछ । करिब बेलुकीको ५ बजिसकेको थियो । मैले झ्यालबाट टाउको निकालेर बाहिर हेरेँ र बरबराएँ ‘कस्तो जाम पो रहेछ ।’ म उनको ध्यान आफुतिर खिच्ने प्रयास गर्दैथेँ तर ऊनी त मुर्ति जस्ती पो देखिईन् । अहँ केही बोलिनन, कतै हेरीनन् । हातमा सानो किताब च्यापेकी थिईन्, ऊनको आँखा त्यसमा मात्र थियो । वरु गाडीभित्र उज्यालो नपुगेकोले उनी थोरै झ्यालतिर किताबलाई फर्काएर पढ्दै थिइन् ।अब मैले आफैले प्रयास गर्नुपर्ने सोचेर बिस्तारै सोधेँ ‘के किताब हो ?’
उनले छोटो जवाफ दिईन् ‘उपन्यास ।’
यति भनिसक्दा पनि उनी मतिर हेरिनन् । मैले आफ्नो अनुहार संम्झिएँ के म त्यती नराम्रो छु र ? तर उनले मलाई अर्को प्रश्न छोडेकी थिईन ‘उपन्यासको नाम के हो ?’ जवाफमा उनले ‘बसाइँ’ भनिन् ।
म हरेक प्रश्नको लामो उत्तर चाहन्थेँ तर उनी छोटो छोटो उत्तर दिदैं थिईन् । प्रश्न सोध्नुको मतलब उपन्यास वा किताबको बारेमा जानकारी लिनु थिएन बरु उनीसंग वार्तालापको सुरुवात हुन सक्छ कि भन्ने कोशिस थियो । मेरो दुईटा प्रश्न त्यसै खेर गएको महशुस भयो मलाई । ‘बसाइँ मेरो पनि मनपर्ने उपन्यास हो’ भन्दै म कुराको पोको खोल्न थालेँ । मोटे कार्की र झुमाका कुरामा उनले पनि मलाई थोरै साथ दिईन् । सायद उनलाई पनि लाग्यो होला म उनीसंग कम्तिमा यो विधामा भने कुरा गर्ने योग्य छु । झमक्क अध्यारो भइसकेकोले उनले किताब थन्काइसकेकी थिइन्, बसको बत्तिमा किताब पढ्न गाह्रो नै हुन्थ्यो । मैले सोचेँ-अब उनको साथी म र मेरो साथी उनी हुनेछिन् । तर मैले सोचे अनुसारको यात्रा भइराखेको थिएन, उनी अलि कमै बोल्थिन् , म उनलाई बोलाउनको लागि अलि धेरै बोलीराखेको हुन्थेँ ।
बस आफ्नै गतिमा गुड्दै थियो । बसका यात्रीहरु भिडियो चलाउनको लागि कण्डक्टरलाई अनुरोध गर्दै थिए । अनि कण्डक्टर चाहिँ मुग्लिनमा खाना खाएपछि बल्ल चलाउने जानकारी दिँदैं थिए । मैले सोचेँ उनी सँग म कम्तिमा मुग्लिनसम्म त कुरा गर्न सक्छु, उनी संग कुरा गर्ने समय छोट्टएिको महशुश भयो मलाई, त्यसैले हतारमा मैले उनको नाम सोधेँ । नाम ‘अनामिका’ भएको बताईन् तर प्रतिप्रश्न गरेर मेरो नाम भने सोधिनन् । उनले नसोधिकनै आˆनो नाम ‘सफल’ हो भनि आफुलाई परिचित गराएँ । उनले मेरो नाम सुनेपछि ‘ए राम्रो नाम रहेछ’ भन्ने प्रतिकि्रया दिईन् । मलाई खुसी हुन अरु के चाहियो र ? उनले राम्रो नाम भनेपछि मलाई पहिलोपल्ट आˆनो नाम राम्रो लाग्यो । मलाई उनी सँगको त्यो यात्रा मौनता बिच पनि रमाइलो लागिरहेको थियो । मैले त्यो उमेरसम्म कुनै पनि केटीसँग नजिक भएर उनीहरुको मनोविज्ञान बुझेको त थिइँन तर पनि साथीहरुसंगको अन्तरकृयाबाट बनाएको केटी प्रतिको धारणा भन्दा उनी फरक थिईन, भिन्न थिइन् ।
उनी अहिले पनि अगाडि नै हेरिराखेकी थिईन् । यहि मौकाको सहि सदुपयोग गरेर मैले उनलाई पूरा नियालेँ अनि मनमनै निष्कर्श निकालेँ, कुनै कविले वर्णन गर्ने सुन्दरी अरु कोही हैन, उनीनै हुन् । चित्रकारले क्यानभासमा रङ्ग भर्ने पनि उनी नै हुन् । सुन्दर गजलहरु उनलाई हेरेर लेखिन्छन् अनि गीतहरु उनकै लागि गाईन्छन् । पूर्णचन्द्रमा समान उज्यालो उनको मुहारमा लजालुपनले गर्दा होला आधा भाग मात्र खुलेका कमल समान सुन्दर, लजालु तर ठूला ठूला आँखा अति सुहाएका थिए । आँखाको डिलमा लगाईएको कालो गाजलले ति मृगनयनीलाई थप सुन्दर बनाएको थियो । केशराशी खुल्ला छोडिदिएकी थिईन, केहि नसम्हालिएर निधारबाट चिप्लिदै गालासम्म आईपुग्थे र ति केशराशीलाई तिनका सुन्दर कान्छी औंला र माझीऔंलाको सहायताले बेला-बेलामा कानको चेप्पामा अड्काउँथीन । राम्रा, वान्किपरेका सफा हिउँ जस्तै सेता, टम्म मिलेका दाँतहरुका विच एउटा सानो दाँत देब्रेकुना बाट उछिट्टएिर थोरै बाहिर निक्लिदा झनै सुन्दर देखिएको थियो । उनको गोरो मुहारलाई लाजका अवशेषहरुले रक्तिम बनाएका थिए । पालुवा समान सुन्दर अनि कोमल ओठहरुले सुन्दरता थपिएकी उनी सुन्दर फूलको गुच्छा जस्ती देखिएकी थिईन् । उनी जब हाँस्थिन उनको स्वासको सुवासले खुला हावामा अत्तर जस्तो महक छरिएझैँ लाग्थ्यो । हरिणको वच्चा समान चञ्चल आँखाहरुले कहिले काहीँ आफ्नो सम्पूर्ण शरिरलाई जब उनी तलदेखि माथिसम्म नियाल्थिन् र असरल्ल हुन खोजेका कपडालाई तन्काएर आफ्नो पुष्ट अनि आकर्षक शरिरलाई छोप्थिन् त्यतिबेला लाग्थ्यो, उनी मात्र हुन् जसलाई सुन्दर भन्न मिल्दछ अनि सुन्दर भन्ने शब्द उनकै कारणले बनेको हो ।
“तँपाई कहाँ जाने हो ?” यो प्रश्नले म झस्किएँ । झट्ट जवाफ दिएँ “म त नेपालगञ्जसम्म नै पुग्छु” । उनले हाँस्दै उनको बारेमा बताइन् “म तँपाइ भन्दा १६ कि.मि वर नै रोकिन्छु र ८५ कि.मि उत्तर तर्फ लाग्दछु ।” मलाई अड्कल गर्न गाह्रो भएन उनको घर सुर्खेत रहेछ । मैले फेरि प्रश्न राखेँ-सुर्खेतको गाडीमा किन जानुभएन त ? हाँस्दै उनले जवाफ दिइन् “म सुर्खेतको गाडीमा गएको भए तपाइले यो प्रश्न कसलाई गर्नुहुन्थ्यो” ।
नागढुङ्गा देखिनै राजमार्गमा जाम भेटिएको थियो त्यो जामले मुग्लीनसम्म हामीलाई छोडेन । मुग्लिन पुग्दा रातीको १२ ः३० नै बजिसकेको थियो । मेरो साइडको सिटमा बसेकी मेरो यात्राकी मित्र र म पनि केहि नजिक भइसकेका थियौं । हामी दुवै संगसंगै बसवाट ओर्लियौं । म उनी भन्दा अगाडिनै कुनै टेवलमा गएर बस्न चाहन्थेँ र उनलाई प्रतिक्षा गर्न चाहन्थेँ तर मेरो प्रतिक्षा व्यर्थ भयो । उनि मेरो टेबुल अगाडी खाली कुर्सी भएपनि म भन्दा अगाडीको टेवुलमा गएर पो बसिन् । भर्खरसम्म नजिककी साथी सोचेको उनी मलाई टाढाको पो लागिन । मनमनै गाली गरेँ “कस्ति अचम्मकी होली, नखरा पार्न पनि कति जानेकी, मेरै टेबुलमा आएर बसेकी भए के जान्थ्यो ? के पो बिगि्रन्थ्यो ? मैले काम गर्ने केटालाई बोलाएँ र मेरो टेबुलको फोहोर सफा गर्न भनेँ । म चाहन्थेँ उनले फोहर टेबुलमा नबस्नको लागि मलाई भन्छिन, अनि उनको टेबलमा बोलाउँछिन । तर त्यस्तो भएन । न उनले बोलाइन न उनका आँखालेनै बोलाए । मैले हिम्मत जुटाएँ र उनको टेबुल अगाडीको कुर्सीमा बस्न पुगे । खाना हाम्रो टेबुलमा आइपुग्यो । हामी दुवै जना खान थाल्याँै । उनले बढो प्रेमले खाना खाईन् तर मैले भने बढी खुसी भएकोले हो वा खाना नमिठो भएर हो खानै सकिनँ । मैले खाना फालेको देखेर उनले मलाई खाना नफाल्न सम्झाईन, खाना संगै जोडिएको उनको विगत बताउन थालिन, उनी भन्दै गईन “मेरो बुबा व्यापार गर्नुहुन्थ्यो पैसा राम्रै कमाउनुहुन्थ्यो त्यसैले मलाई बच्चामा कहिले पनि अभाव महशुस गर्नुपरेन । पुल्पुलीएर हुर्किएँ । सबैको धेरै मायाले मलाई घमण्डी वनायो । कहिल्यै राम्रोसंग खाना खाईन । मम्मीले राखीदिएको खाना थोरै खान्थे, धेरै फाल्थे । जव १८ वर्षको पुगेँ, ठूलो रोग लाग्यो मलाई, मेरो घाँटीको अपरेशन गर्नुपर्ने भयो । त्यसपछि मैले खाना खान पाईन । लगातार ८ महिनासम्म दाल र सुप मात्र खाएर मैले जीवन धानेँ । एकदिन यस्तो लाग्यो-मेरो खुसी भनेको अब दाल र भातमा नै रहेछ । मेरो अगाडी काली माताको तस्विर थियो । त्यहि काली मातालाई हेरेर प्रार्थना गरेँ र मनमनै भनेँ-मलाई भात खाने सक्ने बनाइदिनुस, म अब कहिले पनि भात फाल्नेछैन । त्यो दिन म धेरै रोएँ, मेरो रुवाइले मेरो रोग ठिक भएन । म दिनदिनै कमजोर हुदै गएँ । बुबा र मम्मीले आश मार्नु भएछ । म वाच्दिनँ भन्ने सोचेर बुबाले मेरो हजुरआमालाई देखाउन होला सुर्खेत लैजाले निर्णय गर्नुभएछ । यहि मुग्लिनमा खाना खान गाडी रोकिएको थियो । बुबा र मम्मीले खाना खान थाल्नु भयो, मलाई दूधको व्यवस्था गरिएको थियो । म खाना खान चाहन्थेँ, आँखावाट आँसु खसाउँदै उहाँहरुले खाएको हेरिराखेकी थिएँ । बुबालाई लाग्यो होला सायद छोरी अव वाँच्दिन त्यसैले यसको खाना खाने इच्छा पुरा गरिदिनुपर्छ । उहाँले मेरो लागि खाना अर्डर गर्नुभयो । मैले ८ महिनापछि भात खान पाएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । म सुर्खेत ल्याइपुर्याईएँ र घरेलु उपचारले वाँचे । अहिले तपाइको अगाडी छु ।” उनको अतितले मेरो आँखा रसायो उनको अतित सुनिरहँदा मैले थालको सवै खाना सिध्याईसकेको थिएँ । संगसंगै संकल्प गरे “अब म कहिले पनि खाने कुरा फाल्ने छैन ।”
“ल चिया सिया खाउँ, १५ मिनेट-१५ मिनेट” एकोहोरो यो आवाजले म व्युझिएँ । निन्द्रामा कहाँ आइपुगेछु पत्तै भएन । आँखा मिचेर झयाल बाहिर हेरेँ भालुवाङ्ग आइसकेको रहेछ । उनीतिर हेरेँ-उनी त सुतिरहेकी रहिछन् । कति सम्हालिएर सुतेकी आफ्नो शरीरलाई निन्द्रामा पनि आफ्नै सिटमा केन्दि्रत राखेकी । मेरो शरिरसंग छुइन्छकी भनेझै अलग्ग बसेकी । उनका हरेक क्रियाकलाप मलाई मन पर्न थाल्यो । सोचेँ उनलाई मेरो जिवन यात्राको सहयात्री बनाएर पठाएको हो भगवानले । मलाई उनको माया लाग्यो । निदाइरहेकी उनलाई उठाउन मन लागेन तर कन्डक्टरको एकोहोरो आवाजले उनको निद्रा खुल्यो । आँखा मिच्दै उनी मतिर हेरिन् र मुस्कुराईन् । मलाई लाग्यो उनको मुस्कानसंगै उषाको आगमन भयो । क्षितीजमा देखिएको लाली उषाको उनकै मुस्कानको कारण हो । उनलाई मैले चिया खान जाने हो भनेर सोधेँ । म आफु चिया नखाएपनि उनलाई साथ दिन चाहन्थेँ अथवा भनौं हामी विचको मौनतालाई शब्दहरुले चिर्न चाहन्थँ । उनले दाहिने आँखालाई थोरै सानो पार्दै टाउको मात्र हल्लाएर नखाने जानकारी दिईन् । अब छिट्टै उनी संग छुट्टनिु पर्छ भन्ने कुराले म दुःखी थिएँ र फटाफट उनी संग कुरा गर्न चाहन्थेँ । अझ भनौँ उनलाई आफ्नो बारेमा पनि केहि कुराहरु गरेर प्रभावित बनाउन चाहन्थे । यो बसको यात्राबाट सुरु भएको छोटो परिचयलाई लामो रुप दिन चाहन्थेँ । तर मेरो प्रयास एकोहोरो भईराखेको थियो । उनको हाउभाउबाट लागिराखेको थियो उनी मसंग नजिकिन खोजीराखेकी छैनन् । बसका सबै यात्रीहरु बाहिर ओर्लीसकेका थिए बसभित्र उनी र म मात्रै थियौं । हामी दुवैजना चुपचाप थियौं । उनको मोवाइलको घण्टीले त्यो मौनतालाई चिर्यो । उनले पाइन्टको अगाडीको गोजीबाट मोवाइल निकालिन र बजिरहेको घण्टी काटेर म्यासेज लेख्न थालिन् । नोकिया ब्राण्डको क्वाटीकिबोर्ड वाला मोवाइलमा उनको दुबै हातका बुढि औलाहरु छिटो छिटो चले । अनि मसिनो छोटो रिङ्गटोन बज्दा बज्दै उनले मोवाइल गोजीमा राखिन् ।
अघिल्लो साँझदेखि उनी मसंगै थिईन् । मेरो नजिक । उनले मसंग कुरा नगरेकी पनि हैनन् । तर मलाई उनी मेरो नजिक भएपनि नजिक लागिरहेकी थिईनन् । मैले मुश्किलले उनको नाम थाहा पाएको थिएँ, उनको खानासंग जोडिएको अतित थाहा पाएको थिएँ, अनि उनले मेरो नाम मात्रै थाहा पाएकी थिईन् । त्यो सानो परिचय नै काफि रहेछ की क्या हो प्रेमको लागि ! मलाई उनी आफ्नै हुन् है भनेझैँ लाग्यो । भगवानले मेरै लागि पठाएका हुन है भनेझैँ लाग्यो र मनमनै आफ्नो नामसंग उनको नाम जोडेँ सफल-अनामिका, मलाई कस्तो राम्रो सुहाए जस्तो लाग्यो । मनमनै मैले उनलाई हृदयको सिंहासनमा बसाएँ र मनमनै उनीसंग जीवन यात्रा गर्ने संकल्प गरेँ ।
गाडी आफ्नै गतिमा गुडिरहेको थियो । भालुवाङ्ग छाडेेको पनि ३ घण्टा भईसकेको थियो । म उनीसंग उनको मोवाइल नम्बर माग्न चाहन्थेँ तर सिधै माग्ने आँट नै भएन । उनले दिन्न भनिन् भने ? मेरो दिमागमा मोवाइल नम्बर माग्ने राम्रो तरिका सुल्झियो । अनि मैले बिस्तारै आफ्नो मोबाइललाई हामी दुईजना बसेको सिटको चेप्पामा लुकाईदिएँ र मोवाइल कता परेछ भनेर उनले थाहा पाउने गरि छट्पटाउन थाले । पाइन्ट र सर्टको गोजीमा छामेँ र उनीतिर हेरेर सुस्तरि भनेँ-मेरो मोवाइल कता अल्मलियो, एक चोटी मिस कल दिनुस् त । उनले पाइन्टको गोजीबाट मोवाइल निकालिन् । उनले किबोर्डमा हात लगाएकी मात्र थिइन् उनको मोवाइल बज्न थाल्यो । उनले म तिर हेरेर एक छिन है भन्दै मोवाइल उठाएर कुरा गर्न थालिन् । उनले हाँस्दै मोवाइलमा धेरै बेर कुरा गरिन् बिच बिचमा बाबा भनेको प्रष्ट सुनिन्थ्यो । मलाई लाग्यो उनि आफ्नो बुवा या भाई संग कुरा गर्दै थिइन् । मैले उत्सुकताका साथ उनलाई सोधेँ,
को हो ?उनले छोटो जवाफ दिइन् ‘मेरो हविू
हवि ! के हो हवि भनेको ? मैले अर्को प्रश्न गरेँ ।
उनले हाँस्दै भनिन् ‘मेरो हज्वेण्ड भनेको ।’
म झस्किएँ, मेरो सोचाइहरुको सुन्दर महल टुक्रा टुक्रा भयो, मैले भर्खरै दखेको सपना चकनाचुर भयो अनि मेरो प्रेम, नजन्मिदै मर्यो । मेरो आँखा रसायो, रसिलो आँखामा अध्यारो छायो । आफुलाई सम्हाल्न धेरै गाह्रो भयो । बडो मुश्किलले आफुलाई सम्हाले र फेरी अर्को प्रश्न गरेँ । तँपाई विवाहित हो ? उनले हाँस्तै भनिन् “हैन त” । भर्खरै थाकेर फतक्क गलेको शरिरमा उनको त्यो उत्तरले फेरी उर्जा भरियो । आँखाको आँशु डिलबाट नखसीकनै आँखैमा सुके झै लाग्यो । खुशीले होला स्वर पनि धोति्रयो र त्यहि धात्रे स्वरमा सोधेँ, अनि अगि फोन गर्ने को त ? उनले सहजै जवाफ दिईन् । मेरो हुने वाला श्रीमान्, हामी एक अर्का लाई साह्रै प्रेम गर्छौँ र छिट्टै विवाह गर्दैछौं । मैले केहि सोच्नै भ्याइन कण्डक्टरले कोहलपुर ओर्लने छिट्टै तयार हुनुहोस् भन्दै थियो । आफ्नो ब्यागको लोतामा च्यापेर राखेको क्लिप निकालेर खुल्लै छोडिएको कपालमा लगाउँदै उनी उत्रने तयारी गर्न थालिन् । गाडी तुरुन्तै रोकियो उनले “हस् त म जान्छु, तपाई राम्रो मान्छे हुनुहुँदो रहेछ । तँपाई संगको यात्रा रमाइलो भयो” भन्दै सिटवाट उठिन् र हात नहल्लाई ओठले मात्र बाइ भनेर विदा भइन् । मैले सिटबाट उठ्ने प्रयास गरेँ तर शरीर साह्रै भारी लाग्यो, शरिर भन्दा मन भारी लाग्यो । भारी र गलेको शरिर लिएर जुरुक्क उठेँ अनि ढोकासम्म आएर उनलाई बाई भने । उनी फटाफट् उत्तरतर्फ लागिन् र तुरुन्तै पार्क गरेर राखेको बसहरुको भिडमा हराइन् । मेरो मन चिसो भयो, रुन मन लाग्यो । पुरुषत्वले रुवाई रोक्यो, घाँटीमा अड्कियो । घाँटी दुख्यो, कता कता भित्र दुख्यो ।
आफनो सिटमा आएर बसेँ, मोवाइल बज्यो । हतार हतार खल्तिमा छाँमे , मोवाइल थिएन । धत्तेरी बिर्सेछु । सिटको चेप्पामा पो छ, चेप्पाबाट निकालेँ । उनले पो गरिन कि भन्ने लाग्यो तर चिनेको नम्बर रहेछ, उठाउनै मन लागेन । उनले कसरी गर्छिन त मलाइ ? उनलाई मेरो नम्बर दिएको कहाँ छु र ? अहो ! मैले त उनको नम्बर पनि लिईनँ र उनलाई मेरो नम्बर पनि दिईनँ, कस्तो बिर्सेछु । कोहलपुर पनि कति छिटो आउनु परेको । मलाई आफु मुर्ख भएको आत्मबोध भयो । उनीसंगको यात्रा सधैको लागि सकिएको बोध भयो । आफुलाई गालि गर्दे उनीसंग छुट्टएिको करिब ४५ मिनेटमा म नेपालगञ्ज पुगेँ ।
नेपालगञ्जसम्मको त्यो यात्रा ३ बर्ष पुरानो भैसकेको थियो तर त्यति पुरानो भएपनि उनका शब्दहरु “तँपाई राम्रो मान्छे हुनुहुँदो रहेछ र रमाईलो रहृयो तपाई संगको यात्रा” भने मेरो कानमा हरेक दिन ताजा भएर गुञ्जिरहन्थे । ३ बर्ष भैसक्दा पनि मैले उनलाई बिर्सन भने सकेको थिइनँ । उनका यादहरु पातलो भए पनि दिमागको कुनै कुनामा बसकै थियो । शायद त्यसैले होला मलाई मेरो विवाहको लागि जिवनसंगी छान्न साह्रै गाह्रो भएको थियो । आमा बुवाको धेरै प्रयासहरु असफल भएका थिए । म औपचारिक शिक्षा सकाएर काम गर्न थालिसकेको थिएँ । एउटा ठुलो कम्पनिमा सेल्स मैनेजरको रुपमा काम गर्दथेँ ।
एक दिन म अफिसको टेबुलमा राखिएको बिलहरु ओल्टाई पल्टाई हेर्दै थिएँ । मोबाइलको घण्टी बज्यो, दाईको रहेछ । दाईको छोरीको स्कुटी दुर्घटना भएको रहेछ । कलेजबाट फर्कँदा गाडीले हान्दिएको रे । म हतार-हतार टिचिङ्ग हस्पिटल पुगेँ । उसको खुट्टा अपरेशन गर्नु पर्ने भयो । बाँकि अरु ठिकै रहेछ । अपरेशनपछि उसलाई ४१२ नम्बरको डबल बेडेड क्याबिनमा राखियो । दिनभरी बिक्रीको तनावले हस्पिटलमा जान नपाउने कारणले बेलुका कुरुवा बस्ने काम चाहिँ मैरै भागमा पर्यो । त्यहि क्याबिनको अर्को बेडमा एउटी अधबैशे जस्तो देखिने महिला थिइन् । उनको कुरुवा शायद कोही थिएनन्कि या मैले देखेको थिइन, उनी प्रायः एक्लै हुन्थिन । म छोरीलाई खाना खुवाएर, छोरी सुतिसकेपछि आफ्नो ल्यापटप निकालेर केहि काम गर्दै थिएँ । उनले मलाई बोलाइन् र उनको पिउने पानी सकिएकोले मिनरल वाटरको २ बोतल किनेर ल्याइदिनको लागी अनुरोध गरिन् । मलाई पसल जान अल्छि लागेकोले आफु संग भएको एउटा बोतल दिँदै अहिले यसैले काम चलाउनुहोस् भने । धेरै दिनदेखि देखिरहे पनि बोलिनसकेको बिरामीलाई सोधेँ । तपाईलाई के भएको हो ? उनले हाँसेर जवाफ दिइन् ‘क्यान्सर ! उनको जवाफ सुनेर म झस्किएँ । उनको जवाफ भन्दा बढि म उनको मुस्कानले झस्किएँ । त्यो मुस्कान परिचित लाग्यो मलाई । म अलिबढी नै भाबुक छु साह्रै सानो कुराले दुःखी बनाईदिन्छ, बिथोलिदिन्छ मलाई । उनलाई मैले यो भन्दा अगाडी राम्रो संग हेरेको नै थिईनँ । उनलाई क्यान्सर भएको भन्ने सुन्दा मलाई लाग्यो उनी अब केहि दिनको लागि मात्र हुन् । उनलाई यो सुन्दर धर्ती छोडेर छिट्टै जानुपर्छ भन्ने कुरा सोच्दा मात्र पनि मेरा आँखा रसाए । मैले उनलाई त्यहि रसिलो आँखाले नियालेँ । उनको टाउकोमा एउटा पनि कपाल थिएनन्, मुडुल्लो खौरिएको जस्तै थियो । आँखा भित्र दविएका थिए । गालाको मासु पनि पातलिएर हाडसंग बेस्सरी टाँसिएकोले होला नाक लामो भएर बाहिर निक्लिए जस्तो लाग्थ्यो । ओठहरुमा कलेटी प्रष्ट देखिन्थ्यो । उनको शरीर पातलिएको थियो । शरिरमा लगाएको कपडाले शरिरको अङ्ग छोएको नै थिएन, साह्रै ठुलो भएको थियो । उनको हैन अरुकै लुगा लगाएको जस्तो । उनलाई हेरिरहँदा मेरो मनमा एकैचोटी सय वटा कुराहरु आए । उनलाई के को क्यान्सर भयो ? उनी कति बर्षकी भइन् ? उनको घर कहाँ हो ? उनको अरु को-को छन् ? उनी बाँच्छिन् या बाँच्दिनन् आदि आदि ।
उनी बाच्छिन् या बाच्दिनन् भन्ने प्रश्न चाँहि लगातार मनमा आइरहृयो र जिब्रोको माध्यमबाट फुत्त बाहिर निक्लन खोज्यो तर त्यो प्रश्नलाई मनमा नै राखेर अरु प्रश्न गर्न थाले । तँपाईलाई के को क्यान्सर भएको हो ? मैले बडो सावधानीका साथ यो प्रश्न राखेको थिएँ । किनकी म चाहन्नथेँ मेरो कुनै पनि प्रश्नले उनलाई गाह्रो होस् र कमजोर बनाओस् । उनले अगिकै मुस्कान ओठमा ल्याएर जवाफ दिईन “ब्रेष्टको” मैले अर्को प्रश्न गर्नु अगाडी नै उनले आफ्नो जवाफ लम्ब्याइन् । मेरो किमो चलीरहेको छ र यो छैठौं साइकल हो । प्रत्येक २१ दिनमा एउटा साइकल चल्छ । छैठौ साइकलको किमो सकिएपनि थोरै इन्फेक्सन भएकोले मलाई अझै केहि दिन यहिँ बस्नु पर्छ । मेरो ब्रेष्ट को अपरेशन भईसकेको छ । उनले त्यसरी आफ्नो बारेमा भनीरहँदा मलाई उनको स्वर परिचित लाग्यो, मैले उनको नाम र घर एकै चोटी सोधेँ । मेरी छोरी निदाईसकेकी थिई । कोठामा उनको कुरुवा कोहि पनि नभएकोले म मात्र कुरुवा थिएँ । उनले आफनो नाम अनामिका बताइन् घर कहाँ भनिन् मैले सुन्दै सुनिँन । अनामिका नामले म भस्किएँ । एकाएक भगवानको नाम लिन पुगेँ । प्रभु त्यती राम्री अनामिकालाई के गरिस् तैले यस्तो ! ३ साल अगाडी गाडीमा भेटिएकी मेरो यात्राकी मित्र अनामिका सम्झेँ अनि बेडमा मृत्युसंग संघर्ष गर्दे बसेकी अनामिकालाई हेरेँ । भगवानको क्रुरतासंग रिस उठ्यो, श्रृष्टिको नियमसगं रिस उठ्यो । त्यो क्यान्सर रोगसंगै रिस उठ्यो । अरु केहि सोध्ने हिम्मत नै भएन सुन्ने साहस नै भएन । भर्खरसम्म टाढाको लाग्ने ती बिरामी आफ्नो नजिकको लाग्न थाल्यो । म टोलाएर भुइँतिर हेरिरहेँ । उनले पनि अरु थप बोल्न चाहिनन् । अनि त्यहि पुरानै शैलीको मुस्कानमा “ए तँपाईकि छोरी त सुतिछ, तँपाई पनि सुत्नुस” भनिन् र आफु पनि आँखा चिम्लिन् । क्यान्सरले थलिएर बेडमा सुत्दा पनि उनको ओठमा मुस्कानै मात्र देखेँ मैले, कति मुस्कुराएकी उनी लाग्छ उनलाई केहि भएकै छैन । मैले ३ साल अगाडिकी अनामिका सम्झेँ अनि हेरेँ अहिले बेडमा सुतिराखेकी अनामिका । उनको अहिलेको मुस्कान र ३ साल अगाडीको मुस्कानमा फरक खोजें तर फरक नै पाइनँ ।
उनको मुस्कानले मलाई दिनभरी अफिसमा पनि लखेटिरहृयो । ३ बर्ष अगाडीको नेपालगञ्जसम्मको यात्रा दिमागमा पुनराबृत भइरहृयो । अर्को दिन छिट्टै हस्पिटल पुगेँ । उनी आफै आफ्नो लागि हर्लिक्स बनाउँदै थिईन् । म बनाइदिन्छु तँपाई आराम गर्नुस् भनेँ । म उनलाई त्यस दिन उनको श्रीमान्को बारेमा सोध्न चाहन्थेँ । क्यान्सर जस्तो घातक रोगले थलिएको बेलामा पनि उनको आफ्ना मान्छेहरु कुरुवा नबस्नुले मलाई ठुलै खुल्दुली लागेको थियो । अनि ३ साल अगाडी मात्र देखेको मान्छेलाई उनले चिन्न नसक्नुले अर्को खुल्दुली पैदा गरको थियो । म उनलाई चिनाउन चाहन्थेँ, भन्न चाहन्थेँ कि म त्यहि सफल हुँ जसलाई तपाईले ३ साल अगाडी गाडीमा भेट्नु भएको थियो र हामी संयोगवश लामो यात्रासंगै गरेका थियौं । अनि त्यो दिनदेखि आजसम्म म तपाईको सुन्दर तस्बिर मनमा राखेर हिडिराखेको छु ।
मैले उनलाई आफ्नो नाम सफल भएको बताउँदै ३ साल अगाडीको यात्रा सम्झाएँ । उनी फेरी मुस्काईन र मलाई पहिलो दिनमा नै चिनिसकेको कुरा बताईन् । अब म उनीसंग खुलेर कुरा गर्न सक्ने भइसकेको थिएँ । मैले उनलाई उनको श्रीमानको बारेमा सोधेँ । मेरो प्रश्नले उनी केहि दुःखी भइन् तर केहि सम्हालिएर हाँस्दै भनिन् “सफल १४ महिना अगाडि विश्वास अध्ययनको लागी डेनमार्क गएको थियो । उ जानु अगाडीनै हामी बिवाह बन्धनमा बाँधिने निश्चय गरेका थियौँ तर हामो अन्तरजातिय प्रेमलाई अन्तरजातिय विवाहमा परिणत गर्न हामीले सकेनौ । मेरो परिवार मसगँ रुष्ट भए । उसका परिवार उसँग रुष्ट भए । हामीले विद्रोह गर्यौ, परिवार सँग, समाज सँग तर हाम्रो विद्रोहले हामीलाई दुवै परिवारको सहमतिमा विवाह हुनसक्ने परिस्थितिको सृजना गराउन सकेन । अन्ततः विवाह नै नगरी विश्वास डेनमार्क गयो ।
६ महिना भित्रै सबै डकुमेन्ट मिलाएर मलाई लिन आउँछु भनेर गएको थियो । तर ६ महिना नपुग्दै मलाई रोगले सतायो । मेरो ब्रेष्टको अपरेशन गर्नु पर्ने भयो । मैले विश्वासलाई बोलाएँ । उ आत्तिएर आयो, मेरो अपरेशन गरायो । उ सधैँ म सँगै हुन्थ्यो उसको साथले म पुर्ण विश्वस्त थिएँ, मलाई कुनै पनि रोगले मृत्युवरण गराउन सक्दैन । उसको साथमा जीवन रमाइलो लागेको थियो त्यसैले मलाई मर्न डर लागेको थियो बाँच्ने लोभ लागेको थियो । मेरो अपरेशनसम्म उ यहि बसेको थियो । मेरो पहिलो किमो साईकल सुरु हुनु अगाडीनै उ फर्कियो । त्यसपछि उ टाढियो । उसलाई फोनमा भेटिएन, अनलाइन देखिएन, उसका मेलहरु आएनन्, उ स्काईपमा आएन, फेशबुक स्टाटस अपडेट गरेन । धेरैपछि मैले सुनेँ अरु कोही नेपाली केटी संग उ डेनमार्कमै बस्छ रे । सायद म मर्छु भन्ने सोँचेर उसले मलाई छोडिदियो होला । तर मलाई केहि हुन्न सफल, म मर्दिनँ , मलाई अब झन बाँच्ने इच्छा छ । उसलाई देखाउन चाहन्छु । उसको साथ विना पनि म बाँच्न सक्छु भनेर । उनी फेरि मुस्कुराईन । उनको मुहारमा कहिँ दुःख देख्दिन म, पिडाहरु सबै लुकाएर हाँस्न मात्र जानेकी, जीवन जीउन त कसैले यिनी संग सिकोस् ।
मेरा त आँखा रोएछन् । छोरी तिर हेरेँ उ पनि रोइराखेकी रहिछे । ३ साल अगाडिको अनामिका सम्झेँ । फेरि अहिले वेडमा सुतिराखेकी सम्झेँ । मलाई त अहिलेकी अनामिका पो राम्री लाग्यो । त्यो खाल्डो परेको आँखा, त्यो चुच्चिएको नाक अनि पातलो गालाको छालामा कलेटी परेका ओठहरु पो राम्रो लागे । अनामिका तपाँईको कहिले डिस्चार्ज हुने भयो ? मेलै एकाएक प्रश्न गरे उनले उत्तर दिनु अगाडिनै अर्को वेडमा सुतेरहेकी मेरी छोरीले उत्तर दिई “हामी सँगै दिदीको पनि भोलि नै डिस्चार्ज हुन्छ ।” मैले मेरी छोरी तिर टुलुटुलु हेरिरहेँ मेरो आँखाहरुले छोरीलाई प्रश्न गरिराखेका थिए । “छोरी म तिम्रो दिदीलाई तिम्रो आन्टी बनाउछु हुन्छ ? सधैँको लागि, मेरो छोटो यात्राको साथीलाई अनन्त यात्राको साथी बनाउँछु हुन्छ ?” मेरी छोरीको रोइरहेका विरामी आँखाबाट दुई तिन थोपा आँसु गालासम्म आइपुगे । ति आँसुहरुले मलाइ स्विकृती दिए झै लाग्यो । “अंकल तपाईले अनामिकालाई पवित्र र साँचो प्रेम गर्नुभएको रहेछ” भने झै लाग्यो । अनामिकातिर हेरेँ र उनको दुब्लो, हाड मात्र देखिने पातलो हात समातेर भनेँ तपाईँ सँगै म बाँकि जीवन विताउन चाहन्छु, संगै यात्रा गर्न चाहन्छु ,यो यात्रामा कहिल्यै एक्लो छोड्ने छैन अनन्तसम्म, के मलाइ साथ दिनुहुन्छ ? उनी केही बोलिनन् । उनका हँसिला,उज्याला अनि चम्किला आँखाहरुलाई आँसुले धोए ती झनै चम्किला भए । उनका चम्किला आँखाहरुले मलाई स्विकृती दिए झै लाग्यो । मैले मेरी छोरीलाई हेरेँ । ऊ अझै रोइरहेकी थिई, आफुलाई नियालेँ म पनि रोइराखेको थिएँ । अनामिकालाई हेरेँ उनी मुस्कुराईराखेकी थिईन् । म पनि मेरो अनन्त यात्राको सहयात्री संगसँगै मुस्कुराएँ ।
मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ! त्यसो त मसँग ६ रुपियाँ थियो, तर यस ६ लाई दस, दसलाई बीस र यसै गरी सयसम्मन् पुर्याई एउटा सानु नुनतेल-मसलाहरुको पसल थाप्ने साह्रै रहर भएकोले झट्ट एउटा तुच्छ झुलको निम्ति सत्र आना खर्च गर्ने आँट आएन । तीनपल्ट हीरा साहुको पसलसम्मन् पुगेँ र थरी थरीका झुलहरु हेरेँ । एक दिन एउटा झुल मन पनि पर्यो र मूल्य सोधेँ । एक रुपियाँ आठ आना भन्यो । मैले घटाई एक रुपियाँ एक आनासम्म पुर्याएँ पनि । थैलीबाट सिङ्गो एक कम्पनी र एक आना खुरुक्क निकाली थसुल्ले मारवाडीको हातमा हत्तपत्त दिन साह्रै गाह्रो लाग्यो । नकिन्ने विचार गरी मैले टाल्नलाई भने -”मन परेन ।”
मारवाडी भाषामा के के सराप्यो मैले केही बुझिनँ । कसुर मेरै भए पनि त्यसले एउटा ग्राहकलाई सराप्ने के हक ? मैले पनि नेपालीमा लाजभाँड गाली गरेँ र बाहिर निस्केँ । जब राती टुवीँई … ञ … ट्वींई … ञ गर्दै लामखुट्टे कानमा कराउन लागे अनि झुल नकिनेकोमा पछुतो हुन लाग्यो ! आफैँलाई धिक्कार्दै बिहान भयो । रातभरि नसुतेकोले काम गर्न मन लाग्दैनथ्यो, कुनै तौरले गरे पनि एकैछिनपछि पट्टार लागी हाईहाई गर्दै उँघ्न लाग्दथेँ । यसै गरी दिन बित्न लागे ।
दिनभरि त लामखुट्टेको विचारै आउँदैनथ्यो, तर रात के पर्यो गाला बजायो, कान पिटयो, एउटा कोल्टेबाट अर्को कोल्टे पर्यो र बिहान भयो । जाडो त यसै गरी बित्यो । तर अब गर्मी बितीदनँ भन्थ्यो । एक त वीरगञ्जको लामखुट्टेको फौज, दोस्रो त्यहाँको गर्मी र तेस्रो गन्हाउने छिँडीको डेरा, बितोस् पनि कसरी ? कुनै रात त मेरो छिँडीको कोठा दिउँसोको गर्मीले गुम्सिएर धोबीको भट्टीलाई पनि माथ गथ्र्यो । बाँसको पङ्खा घुमाउँदै घुमाउँदै आँखा लठ्ठिनु के थियो लामखुट्टेको खुट्टीको प्रहार र विनासुरतालको ट्वींट्वींले फेरि बिउँझन्थेँ । एक दिन राती तन्द्रामा मैले देखेँ – एउटा बगैँचामा एउटी राम्री तरुनी जर्जेटको साडी र रेशमी ब्लाउज लगाई आफ्ना सुकुमार, सुकिला नाङ्गा गोडा बिस्तार बिस्तार बढाउँदै मधुरो स्वरमा बिहाग गाउँदै मनजिकै आइरहेकी थिइन् । तर अकस्मात् तीनी थामिइन् । म झल्याँस्स बिउँझे । युवतीको बिहाग त लामखुट्टेको सूर पो रहेछ । गर्मीले खल्खली पसिना आयो, लामखुट्टेहरुले टोक्न लागे, रछानको गन्धले बस्न मुश्किल पर्यो । तर के गर्नु, हवादार बङ्गला, बाबरलेटको ठूलो झुल, फूलको सुगन्ध, बिजुली पङ्खाको बतास सोचेर त भएन । यही आफ्नो गरिबीलाई सम्झनुपर्छ – फेरि पङ्खा घुमाउन थालेँ । अकस्मात् झुल किन्ने विचार आयो-भोलि त अवश्य किन्छु, रुपियाँ भईभईकन किन दुःख भोग्नु ! ब्याहान हुनासाथ त्यही एक रुपियाँ र एक आना-सत्र आनाको झुल किन्ने निश्चय गरेँ । तर विहान त हुनै खोज्दैनथ्यो !
भोलिपल्ट उठ्नासाथ हीरा साहुको पसलमा पुगेँ । पसले त उही थियो तर उसले मलाई चिनेन । एक दिन सरापेकोलाई मोरो बिर्सेछ । ठीक भयो नत्र … !
मैले झुल देखाउनलाई भनेँ । एकै छिनमा मेरो अघिल्तिर थरीथरीका झुलहरुको थुप्रो भयो । तर मलाई त छान्नु थिएन ! चार महिनापहिले नै छानिसकेको थिएँ । त्यसकारण अरु झुलहरुलाई पन्छाउँदै उही “सत्र आने” झुल खोज्न लागेँ । एक्कासि मनमा शङ्का उठयो -”कहीं त्यो झुल बिक्री भइसकेको भए !” मन मनै झसङ्ग भएँ, धेरै खोजेँ तर अन्तमा पाइनँ । अर्कै झुलको मोल गराउनुपर्यो । एउटा निकै राम्रो झुल थियो, गौरसँग हेरेँ र दाम सोधेँ । एक रुपियाँ ६ आना भन्यो । तर धेरै बेर हेर्दा त्यो मन परेन । अर्को हातमा उठाएँ, दाम दुई रुपियाँ । पहिलोभन्दा यो नै राम्रो र मजबूत थियो । यही किन नल्यूँ ६ आना त बेसी हो नि । फेरि आर्को हेरेँ, तीन आनाको फरक र पहिलेको भन्दा धेरै असल । हुँदा हुँदा बाबरलेटको झुलको दाम सोधेँ, सात रुपियाँ भन्यो । पहिले हेरेको मामूली कपडाको झुलभन्दा यो बाबरलेटको झुलमा एक रुपियाँ मात्रै फरक थियो । किन एक रुपियाँ अरु थपेर बाबरलेटको नै नलिनू ? सुनेको थिएँ, बाबरलेटको झुल धेरै वर्ष खप्छ ।
मैले पसलेलाई सोधेँ – “सातभन्दा घट्दैन ?”
उसले भन्यो – “अँहँ ।”
यसरी टाउको हल्लाउँदै उसले यो ‘अँहँ’ भन्यो कि सातभन्दा एक पैसा पनि नघट्लाझैँ लाग्यो । तर मसँग सात थिएन, मैले साँढे पाँच भनेँ । धेरै मोलतोल हुँदा हुँदा अन्तमा ६ मा मञ्जुर भयो । तर थैली निकाल्दा मेरो हात काम्यो । एउटा झुलको ६ रुपियाँ ! किनुँ कि नकिनुँ, यही फसादमा परेँ । झट्ट मेरो मगजमा रातीको लामखुट्टेको घुनुनुन्न र गाला, कान, छाती, गोडालाई केही बेरको अन्तरमा हातले टयाप्पटयाप्प पिटेको याद आयो । नाकको टुप्पोमा लामखुट्टे बस्तथेँ ! अल्छीले हात उठाई उडाउन मन लाग्दैनथ्यो । त्यस कारण नाकको पोरा तीन-चारपल्ट फुलाई उडाउनुपथ्र्यो । त्यो दुःख बेसाउनुभन्दा त रुपियाँ खर्च गर्नु नै बेस हो नि ! – तर ६ रुपियाँ किन खर्च गर्नु ?-लामखुट्टेको डरले ? मुटुमा ढ्याङग्रो बज्यो, तर मनलाई दरो बनाई रुपियाँ मारवाडीको हातमा राखिदिएँ, एक किसिमले दान दिएँ-पाँच ओटालाई त उसले हातमा राती हेर्यो मात्रै, तर एउटा भिक्टोरिया रानीको रुपियाँलाई चाहिँ धेरै बेरसम्मन्, कहिले आँखानजिकै टाँसी र कहिले कोटयाई कोटयाई हेर्न लाग्यो । केही गरी चलेन भने ? म डराएँ । तर हैन, चल्यो ! भुईँमा धेरैबेर ठटाएर कन्तुरको प्वालबाट छिरायो ।
त्यस दिन केही काम गरीनँ । रुपियाँ खर्च गरेकोमा पछुतो भयो । कहाँ सय पुर्याउने र पसल थाप्ने विचार, कहाँ एउटा झुल किन्दा नै रुपियाँ सकियो ! त्यो बाबरलेटको झुललाई दिनभरी छिँडीमा बसी हेरिरहे । यसका एकनासका साना साना प्वाल, बकुल्लाभन्दा पनि सुकिलो कपडा-हेर्दाहेर्दै मन फेरि रसायो । बेस भयो । जे भए पनि किनिहालेँ । अब पछुतो गरेर नै के हुन्छ ? कमसेकम सात-आठ वर्ष त खप्ला नि ! मामूली कपडाको किनेको भए दुवै वर्षमा धूजा धूजा हुन्थ्यो ।
साँझ पर्यो-छिँडीमा त दिउँसैदेखि साँझ परिसकेको थियो । तर अब सारा वीरगञ्जमा झमक्क साँझ पर्यो । अब झुल कस्ने सारसूर गर्नुपर्छ भनी फरियाको पारी खोज्न छिँडीबाट बाहिर निस्केँ । धुइँधुइँती खोज्दा एउटा रातो पारी पाएँ । त्यसलाई च्यापेर चारोटा लामा लामा त्यान्द्रा बनाई झुल कस्न थालेँ । सक्ला त थिएन, त्यस कारण एकातीरको त्यान्द्रोलाई ढोकाको सिक्रीमा, एउटालाई दलिनको कडीमा, आर्कोलाई लुगा टाँग्ने डोरीमा र अर्कोलाई चाहिँ आँखीझ्यालमा टाँगीवरी पानस सल्काएँ । अब रामायण पढ्नु थियो । खाटमा बसी रामायण बाच्न थालेँ – “एक दिन नारद सत्योलोक् पुगिगया … ।” झुलको माथिको हिस्साले टाउको छुन्थ्यो, त्यसकारण अलि अप्ठयारो लाग्यो-टाउको निहुराइरहनुपर्ने । तपाईँहरु भन्नुहोला ६-६ रुपियाँ हालेको झुल पनि कहीँ सानु हुन्छ ? र मेरो पनि त सुन्नुहोस् । झुल सानु थिएन, असाध्य ठूलो थियो ! त्यस कारण ठूलो हुनाले माथिको हिस्सा लत्रिन्थ्यो । फेरि तपाईँहरुले मेरो छिँडीको कोठा देख्नु नै भएको छेन । देखेको भए भन्नुपथ्र्यो- “तारे ठीक भन्छ ।” झुल त कोठाभरीलाई पनि पुग्ने थियो तर खाट भने साह्रै सानु । अब विचार गर्नुहोस्, अवश्य नै लत्रिएको थियो होला । तर जे भए पनि मेरो जस्तो बाबरलेटको झुल तपाईँहरुमध्ये पनि धेरै काम मानिसको छ । मलाई एक दिन मालको सुब्बा कहाँ जाने मौका मिलेको थियो । सुब्बाजस्तो कहाँ पनि मामुली कपडैको झुल देखेँ ।
रामायण बाचीवरी, ढिँडो ओडाली, एक भुल्को गुन्द्रुक उमाली खाईवरी सुत्ने सुरसार कसेँ । बिस्तारै झुल खोली जतनसँग खाटमा लडेँ । लामखुट्टे त थिएन, तर गर्मी असाध्य थियो । कोठामा एउटा सानु आँखीझ्याल मात्र थियो । त्यसमा पनि बाहिर हावा चलेको थिएन । हावा कहाँबाट आओस् । खल्खली पसिना आयो । पङ्खा हम्केँ । तर कतीबेर सम्मन् हम्किरहनू ? यताउती कोल्टे परेँ । फेरि पङ्खा हम्के । नींद केही गरे पनि परेन । धेरै विचार गर्दा थाहा पाएँ, यही झुलले गर्मी ज्यास्ती खपिनसक्नु भएको हो । अन्तमा झुल उठाउनुपर्यो । ६ रुपियाँ हालेको झुलले केही काम दिएन । झुल उठाएपछि गर्मी त केही कम भयो तर फेरि लामखुट्टेको उपद्रव-कहिले मुखमा किटिक्क, कहिले गोडामा र कहिले आँगमा–लुगा फुकाली सुतेको थिएँ) । एक घण्टापछि फेरि झुल कसेँ, फेरि उकुसमुकुस, फेरि खल्खली पसिना, थाहा नै पाइएन कैले भुसुक्क निदाएछु ।
भोलिपल्ट राती
झुल ठूलो थियो, खाटमा बस्यो कि माथिको झुलको हिस्सा आई मुखमा र टाउकोमा लत्रिने । रामायण बाचेँ ! तर केही बुझिनँ, किनभने टाउकोमा र झुलमा नै मेरो मन अल्झिएको थियो । हातले कतीपल्ट पन्छाएँ, तर फेरि लत्रिने । यस्तो अप्ठयारो र असजिलो लाग्यो कि के भनूँ । जम्मा ६ रुपियाँ गाँठमा थियो तर पनि यही नाथे झुलमा फ्याँके । मन मनै झुलदेखि रिस उठयो । एक पटक त जोरसँग माथि फ्याँकेँ पनि तर फेरि आई टाउकोमा हल्लिन लाग्यो । ओह ! मनुष्यको सुख र दुःख कत्रो तुच्छ वस्तुमा निर्भर हुँदो रहेछ ! एउटा हलुको झुलले छुँदा कन्सिरी तातेर आउँछ ।
रामायणनजिकै मुख लगी पढ्न थालेँ । झुलले त छोएन तर घिच्रो दुख्न थाल्यो । फेरि टाउको उठाउनुपर्यो, फेरि झुल । “धिक्कार यस्तो जीवनलाई”-मैले झोंक्किएर एकपल्ट चिच्याएँ । चिच्याएर के हुन्थ्यो ! झुल माथि उठेन । अनि फेरि झुलको प्रतीक्रोध, जीवनको प्रतीघृणा र गरिबीको प्रतीआँसु जोरले बढ्न थाल्यो । हन त एउटा मामुली झुलले छोएको मात्रै थियो, तर मलाई यस्तो भान भयो भनूँ झुल मलाई गिज्याउँदैछ । जस्तो मानिसको टाउकोमा एकएक बूँद धेरैबेर खसालिरहृयो भने त्यो मानिस पागल हुन्छ त्यस्तै मलाई पनि त्यो झुलले बहुलाहा बनायो । एकपल्ट फेरि भएभरको जोरले झुललाई माथि हुत्याएँ । एकातीरको डोरी चुँडियो र सारा झुलले मलाई छोप्यो । डोरी चुँडिनु के थियो मेरो खप्ने सीमा पनि च्वाट्ट गरी चुँडियो । आँगबाट झुल पन्छाइवरी हत्तपत्त खाटबाट ओर्लेर सारा झुललाई अँगालो हाली आफूतीर तानेँ । बाँकी तीनवटा बन्धन पनि चुँडिए ।
म क्रोधले बुहलाहाझैँ भएको थिएँ । झुलैको एउटा फुर्कोलाई पानसको ज्वालामा डढाएँ । हुरहुर बल्न थाल्यो मेरो बाबरलेटको झुल ! मनमा केही शान्ति भयो ! तर कोठाभित्र त बस्नु भएन, घर सल्किने डर थियो । बलिरहेको झुलर्ला झट्ट चोकमा लगेर थुप्र्याएँ । धुँवाले सारा घर रङ्गमगियो । के के न भयो भन्दै माथि बार्दलीबाट थुप्रै मानिस हेर्न लागे । म कुत्रुक्क बसेर बल्दो बाबरलेटको झुललाई हेर्दै थिएँ । माथिका मानिसहरुले पनि केही बोलेनन् । ६ रुपियाँको झुलको अन्तिम क्रियालाई मैले टाउको निहुराई हेरिरहेँ । खरानी भएपछि म जुरुक्क उठेँ र एकपल्ट लामो सास फेरि बिस्तार बिस्तार आफ्नो धुँवा र लामखुट्टेले रङ्गमगिएको कोठातीर हिडेँ । के त्यस बखत म चिन्तित थिएँ ?
(किरण रिमालद्वारा सम्पादित ‘नेपाली कालजयी कथा’बाट)
पत्रकारिताजीवनमा आश्चर्यलाग्दा घटना आई नै रहन्छन् । अझ भनौँ, त्यस्ता घटनाका खोजीमा उनीहरु सक्रिय रहन्छन् । पत्रकारका लागि ती पेसागत अवसर पनि हुन्, जसमार्फत आफ्नो सीप र कर्तव्यलाई सही रुपमा सार्वजनिक गर्न सकिन्छ । तर २०५८ जेठ १९ को राजदरबार हत्याकाण्ड त्यति स्वाभाविक र आश्चर्यको घटना मात्र थिएन, जसमा पत्रकार-चेतना मात्र ब्युँझियोस् र मानवीय संवेदनामा भने गहिरो प्रभाव नपरोस् । त्यो घटनाले नेपाली मनहरु कति दुःखी थिए ? शब्दले व्याख्या गर्न सकिँदैन ।त्यसताका पुष्कर भर्खर नयाँ घर बनाएर सरेका थिए, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ठ्याक्कै पछाडिपट्टी। त्यति बेला घरहरु बाक्लिइसकेका थिएनन् । घरको छत र झ्यालबाट वीरेन्द्र सैनिक अस्पतालपरिसर र चौर स्पष्ट देखिन्थ्यो ।
२०५८ जेठ १९ को त्यो दिन, बेलुकीको खाना खाइसकेर परिवारसहित टिभी हेरेर बसिरहेका थिए उनी । एक्कासि ‘साइरन’को आवाज आउन थाल्यो । अस्पताल भएकाले बिरामीहरु ल्याइरहने हुनाले त्यस्ता ‘साइरन’ अन्य समयमा पनि बजिरहन्थे । त्यसैले स्वाभाविक रुपमा त्यसलाई लिइरहेका थिए । तर ‘साइरन’ लगातार बजेको बज्यै गर्न थाल्यो । त्यसपछि उनको मनमा कता-कता चिसो पस्न थाल्यो । सरकार-माओवादी भिडन्तका समाचार अखबारका पानामा व्यापक छापिन थालिसकेको त्यो समयमा उनले सोचे, ‘सायद कतै त्यस्तै भिडन्त भएछ कि !’ भिडन्तपछि घाइते सेना वा प्रहरीलाई हेलिकोप्टरबाट वीरेन्द्र सैनिक अस्पतालमा ल्याइने गरेको उनले देख्ने गरेका थिए । टाढा वा काठमाडौँ आसपासकै कुनै स्थानमा त्यस्तो भिडन्त भएछ कि भन्ने सोचिरहेका थिए उनी ।रातको साढे १० बजेतिर उनको मोबाइल र घरको फोनमा घण्टीहरु बज्न थाले, ‘दरबारभित्र कुनै ठूलो घटना भएजस्तो छ ।’ त्यस क्रममा ‘दरबारमा माओवादीले आक्रमण गरेको’ भन्नेसम्मका कुरा पनि आए । त्यस्ता शङ्का, हल्ला आउन थालेपछि अब यसरी भएन भन्ने लाग्यो उनलाई । वास्तविकता के हो ? त्यो बुझ्न दरबारनिकट समाचारस्रोतहरुकहाँ फोन गर्न थाले । पहिल्यैदेखि दरबारका मानिसहरू कुरा चपाएर बोल्ने गरेको यथार्थसँग अनभिज्ञ थिएनन् उनी । ‘ए हो र, तपाईंले भनेपछि मात्र थाहा भयो’, उनीहरुले घटनाका बारेमा बेखबर भएको बताए पनि उनीहरुको बोली र शैलीबाट दरबारमा केही न केही भएको स्पष्ट सङ्केत बुझिरहेका थिए उनले ।
त्यसपछि तुरुन्त भीमसेनस्थानस्थित कामना प्रकाशनगृहमा फोन गरे । दरबारवरपर दुई जना संवाददातालाई खटाइदिए । मुख्यपृष्ठको समाचारस्थान खाली राख्न ‘स्टप द प्रेस’ को निर्देशन गरे । उनी त्यति बेलासम्म घरमै थिए ।
वीरेन्द्र सैनिक अस्पताल छाउनीनजिकै आ८नो घर भएकाले र त्यहाँ अस्वाभाविक गतिविधि बढ्दै गएकाले तुलनात्मक रुपमा अन्य सर्वसाधारणभन्दा बढी नै जानकार वा सचेत भइसकेका थिए उनी । यद्यपि अस्पष्टता बाँकी नै थियो । रातको सवा ११ बजेतिर दरबारमा गोली चलेको भन्नेसम्मको सूचना आउन थाल्यो । तर गोली बाहिरबाट चलेको कि भित्रैबाट, कसरी घटनाको यथार्थसम्म पुग्ने ?तत्कालीन युवराज दीपेन्द्रका स्वकीय सचिव सौजन्य सुल्प्या सानै बेलादेखिका पुष्करका गुरु थिए । घटनाका बारेमा बुझ्न उनको घरमा फोन गरे । ‘इमर्जेन्सी परेर राजदरबार जानुभएको एक घण्टाजति भयो’, सुल्प्याका परिवारले बताए । त्यसपछि अझ ‘कन्र्फम’ भयो । राजदरबार घटनाका बारेमा साङ्केतिक स्पष्टता पाएपछि उनको मोबाइलमा घण्टी बजाए । पुष्करको नम्बर देखेर उनले उठाए र आत्तिएको स्वरमा भने रे, ‘यस्तो बेलामा फोन गर्ने हो ?’ झर्किंदै फेरि भने रे, ‘पछि म आफैँ गरौँला ।’
पुष्करको अनुमान छ, पत्रकार भएकाले केही कुरा सोधिहाल्ला भनेर स्तब्ध अवस्थामा रहेका उनले त्यसो भनेका हुन सक्छन् । करिब रातको सवा १२ बजे उनी आफैँले पुष्करलाई फोन गरे । सानै बेलादेखिको आफ्नो विद्यार्थी, पत्रकार पनि हो, सूचनाको भोको पत्रकारलाई घटनाका बारेमा केही त भन्नैपर्छ भन्ने लागेर गुरुले त्यो मध्यरातमा फोन गरेका होलान्जस्तो लाग्छ पुष्करलाई । ‘किन फोन गरेको अघि ?’ गुरुको पहिलो वाक्य थियो ।
‘दरबारमा ठूलै घटना भएजस्तो छ, त्यसैका बारेमा बुझ्न सकिन्छ कि भनेर ।’
‘के सुनेका छौ तिमीले ?’ उनले प्रतिप्रश्न गरे ।विभिन्न सूचनास्रोतबाट थाहा पाएका अपुष्ट सूचना उनलाई बताए । राजपरिवारभित्रकै सदस्यमा केही अस्पष्टता प्रकट भई गोली चलेको भन्नेसम्म सुनेको बताए । राजपरिवारका सबै सदस्य र नजिकका केही आफन्तसमेतको निधन भइसकेको हल्ला छ भने ।
त्यसपछि पनि सूचना दिनेभन्दा पनि ‘को-को बिते’ भन्ने प्रश्न उनले गरे रे । राजपरिवारका सबै सदस्य र आफन्तहरुको नाम भने पुष्करले । ‘तिमीले सुनेको धेरै हदसम्म सत्य हो’, पुष्करकोे प्रश्नमै उनले उत्तर सुल्झाइदिए, अस्पष्टतालाई स्पष्टता दिए ।
पत्रकारलाई विस्तृत वृत्तान्त आवश्यक पर्छ भन्ने हुँदैन । थोरै शब्दबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ । उनीसँगको टेलिफोन संवादपछि ‘घटना भएको’ निश्चित भयो ।
त्यसपछि घरको छतमै गएर वीरेन्द्र सैनिक अस्पतालपरिसर हेर्न थाले । त्यहाँको चहलपहल असाध्यै तीव्र गतिमा बढिरहेको देखे । पालहरु टाँगिएका थिए र मानिसहरु स्तब्ध र एकसाथ हतारमा रहेको प्रस्ट अनुभव गर्न सकिन्थ्यो । त्यतिकैमा राजदरबार संवाद सचिवालयका तत्कालीन सचिव मोहनबहादुर पाण्डेको फोन आयो । पहिले-पहिलेजस्तै साधारण हिसाबले उनले घटनाका बारेमा कुरा गरे रे, ‘के छ पुष्कर ? के सुनेका छौ ?’ त्यति बेला रातको २ बजेको थियो सायद । भन्छन्, ‘पत्रकारलाई घटनाका बारेमा के-कस्तो जानकारी भयो होला भन्ने हिसाबबाट उनले मलाई फोन गरेका थिए होलान् ।’ आफूलाई थाहा भएका कुरा इमानदारीपूर्वक बताए पुष्करले । घटनाका बारेमा सुनेको र बुझेको कुरा बताएपछि उनले त्यसलाई नकार्न त नकारेनन् रे, तर प्रश्न गरेछन्, ‘भोलि अखबारमा के गर्ने विचार छ त ?’ पुष्करले उनलाई प्रत्युत्तरमा भने रे, ‘त्यो कुरा त आउनुपर्यो नि सचिवज्यू ।’‘नो, नेभर’, राजदरबारका संवादसचिवले भने रे, ‘राजदरबारमा दुर्भाग्यले यस्तो घटना हुन पुग्यो । यो घटनालाई भोलि अखबारले ‘कभर’ गर्यो भने नेपाली जनताले स्वीकार्नै सक्दैनन् । त्यसैले तपाईंले आ८नो व्यवसायलाई न्याय दिने नाममा घटनालाई सम्प्रेषण गर्दा जनतामा गलत ‘रियाक्सन’ उत्पन्न हुन सक्छ र देशमा अस्थिरता उत्पन्न हुन सक्छ ।’
उनले भनेजस्तै परिस्थिति थियो त्यति बेला । रुखबाट खसेको बाँदरजस्तै भइसकेका थिए घटनाका बारेमा केही मात्र थाहा पाएकाहरु पनि । राजपरिवारका सम्पूर्ण सदस्य सखाप भएको खबर भोलिपल्टको अखबारमा आउँदा अवस्था जेसुकै हुन सक्ने सम्भावना थियो । कुरा गर्दागर्दै फोनसम्पर्क टुट्यो । त्यसले उनलाई केही अस्पष्टताको बोध पनि गरायो, केहीबेर । तर उनको मनको ठूलो हिस्साले समाचार सम्प्रेषण गर्नैपर्छ भनिरहेको थियो । एकछिनपछि फेरि सचिव पाण्डेले फोन गरेर सोधे रे, ‘के विचार गर्नुभयो त ?’
उनले सीधै भनिदिए रे, ‘यो घटनाका बारेमा त हामीले लेख्नैपर्छ । मैले ‘स्टप द प्रेस’ गरेको छु र घटनाका बारेमा समाचार भोलिको अखबारमा छापिन्छ ।’ पाण्डेले फेरि पनि सम्झाउने प्रयास गरे रे, ‘मैले अघि पनि तपाईंलाई भनेकै हो, त्यसैले यो समाचार भोलि दिने काम छैन ।’
तर पुष्कर त्यस्तो घटनालाई कसरी छोप्न सक्थे ? त्यो व्यावसायिक पत्रकारिताभन्दा परको कुरा थियो । पुष्करले उनको आग्रहलाई ठाडै अस्वीकार गरे र कडाइका साथ भने रे, ‘म यो घटनाको समाचार त दिन्छु नै । तर जनताको भावनाको विरुद्धमा नगई, उनीहरु उत्तेजित नहुने किसिमले मर्यादित रुपमा समाचार छाप्ने विचार गरेको छु सचिवज्यू ।’ पुष्करको अडानसँग सायद उनले हार खाए र रिसाएर फोन राखे रे !
त्यसपछि ‘नेपाल समाचारपत्र’का सम्पादक कपिल का८लेलाई उनले फोन गरेछन् । काफ्लेको घर चोभारमा थियो । एकछिनपछि काफ्लेले उनलाई फोन गरेर भने रे, ‘सचिवज्यूसँग कुरा भएको रहेछ, सरले समाचार छाप्ने वा नछाप्नेबारेमा के सोच्नुभएको छ ?’ उनीहरुबीच कुराकानी भइरहँदा सीएनएन, बीबीसीलगायत विदेशी टेलिभिजनमा नेपालको राजदरबार हत्याकाण्डका बारेमा समाचार आउन थालिसकेका थिए । पूरै यथार्थ विवरण थाहा नभए पनि राजदरबारभित्रको घटनाको परिणाम थाहा भइसकेको थियो ।‘देशमा त्यति ठूलो घटना हुँदा दुई अक्षर लेखेर भए पनि पाठकलाई सूचना नदिने हो भने पत्रकारिता छाडेर जीरा-मरिचको पसल थापे भइहाल्यो नि, किन पत्रकारिता गर्ने ?’, उनले काफ्लेलाई त्यसो भने रे । घटनाको गम्भीरता बुझ्न र त्यहीअनुरुप गर्नका लागि आफ्नो प्रधानसम्पादकलाई दबाब वा आग्रहका लागि संवाद सचिवालयका सचिवले राति फोन गरेर का८लेलाई भनेका रहेछन् । उनको लवजबाट पुष्करले अन्दाज लगाए ।
पुष्करले काफ्लेलाई भने रे, ‘तपाईं चोभारमा हुनुहुन्छ, त्यति परबाट प्रकाशनगृह आउन पनि सजिलो छैन । कतिखेर के हुने हो, थाहा छैन, अवस्था गम्भीर हुँदै गइरहेको छ । त्यसैले तपाईं आउनु पर्दैन, म अफिस जान्छु र समाचार छाप्छु ।’ त्यति बेला पुष्करको घरवरपर सुरक्षासंयन्त्र सक्रिय भइसकेको थियो । सैनिक क्षेत्र भएकाले पनि छाउनी र आसपासका क्षेत्रमा सुरक्षासक्रियता बढी नै भएको होला ।
त्यसपछि रातको करिब ३ बजे हातमा सानो टर्चलाइट लिएर छाउनी ब्यारेकको ठीक पछाडि रहेको घरबाट उनी अफिसतिर लागे । विस्तारै गल्लीगल्ली हिँडेर भीमसेनस्थानमा रहेको कामना प्रकाशनगृह पुगे । जानुअघि घरका सदस्यहरुले नजान भन्दै थिए । चारैतिर सेना तैनाथ भइसकेको देखेका परिवारका सदस्यहरु अत्तालिएर उनलाई रोक्न खोज्दै थिए ।
सेना बन्दुक लिएर हिँड्छ भने पत्रकार कलम लिएर । यस्तै सोच्दै उनी प्रकाशनगृहतिर लागे । धन्न बाटामा केही भएन, उनी अफिस पुगे । ‘स्टप द प्रेस’लाई पूर्णता दिनु थियो ।घटनाको चरित्र र प्रवृत्ति रातको भयावह अन्धकारजस्तै डरलाग्दो थियो । त्यो घटनालाई छाप्नु थियो तर जनतालाई नियन्त्रणबाहिरको अवस्थामा पुर्याउन पनि नहुने हिसाबले समाचारशिल्प प्रस्तुत गर्नुपर्ने चुनौती थियो । भन्छन्, ‘निधन भइसकेका राजपरिवारका सबै सदस्यको फोटो छाप्ने तर मृत्यु भयो कतै पनि नभन्ने । त्यति बेला नाइट डेस्क इन्चार्ज राजेश वज्राचार्यसहित हामीले त्यो रणनीति लियौँ ।’ सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने शैलीबाट समाचारको अन्तिम तयारी भयो ।
राजदरबारभित्र ठूलो क्षति भएको स्पष्ट शब्दमा भन्ने निधो त भयो तर त्यतिले मात्र घटनाको स्पष्टता प्रस्तुत गर्न सक्दैनथ्यो । त्यसैले नेपालको संविधानमा राजाको मृत्युपछि उत्तराधिकारी छान्ने प्रावधान के
छ ? त्यसलाई बक्स बनाएर छाप्ने निर्णय भयो । भन्छन्, ‘त्यसबाट राजाको मृत्यु भएको स्पष्ट हुने र कानुनी हिसाबबाट पनि हामीलाई कारबाही गर्न नसकिने शैलीबाट घटनालाई ‘कभर’ गर्यौँ । त्यसका लागि प्रकाशनगृहका सहकर्मी सबै मिलेर ३-४ पटकसम्म शब्दहरुसँग खेल्यौँ ।’ सकेसम्म नरम भाषाको प्रयोग तर राजदरबारमा ठूलै घटना भएको अनुभव हुने किसिमले समाचार तयार भयो । पत्रिका प्रकाशित भयो ।२०५८ जेठ १९ रातिको त्रासद घटनाको भोलिपल्ट ‘नेपाल समाचारपत्र’ (पुष्करका अनुसार) काठमाडौँमा मात्र डेढ लाख प्रति बिक्री भयो भने विराटनगरमा ५० हजार प्रति । उनी त्यो दिन सम्झन्छन्, ‘अघिल्लो दिन कागज सीमित भएकाले हामीले त्यत्तिकैमा चित्त बुझाउनुपर्यो । नत्र त्यो दिन १० लाख प्रति पत्रिका पनि बिक्री हुन सक्थ्यो किनभने त्यो दिन विहान अरु पत्रिकाले घटनालाई समाचार नै बनाएनन् । स्पेसटाइम दैनिकले छापिएकामध्ये पनि केही प्रतिमा मात्र सानो स्थान राजदरबारको घटनाका बारेमा दिएको थियो । ‘कान्तिपुर’ दैनिकले साँझमा निकालेर यसबारे लेखेपनि त्यसबाहेक अन्य पत्रिका मौन थिए ।’त्यो दिन काठमाडौँका प्रत्येक मान्छेको हातमा ‘नेपाल समाचारपत्र’ थियो । सीएनएन, बीबीसीलगायत अन्तर्राष्ट्रिय च्यानलले प्रसारण गरेका दृश्यमा सडकमा उभिएका मानिसहरुका हातमा ‘नेपाल समाचारपत्र’ नै देखिन्थ्यो । टाइम, न्युजविकजस्ता अन्तर्राष्ट्रिय पत्रिकाहरुले छापेका राजदरबारसम्बन्धी समाचारसँगैका तस्वीरमा ‘नेपाल समाचारपत्र’ पढिरहेका पाठक देखिन्थे ।
राजदरबारभित्रको त्यो त्रासद हत्याकाण्डपछि त्यतिबेला ‘नेपाल समाचारपत्र’ले जुन रुपमा समाचार सम्प्रेषण गर्यो, त्यसले उनलाई गौरवबोध गराउँछ । घटनाको भयावह वातावरणकै बीचमा समाचार नछाप्न धम्की वा दबाब आउँदाआउँदै पनि जनताको सुसूचित हुने अधिकारलाई उनले उपेक्षा गरेनन् । भन्छन्, ‘भोलि जे पनि हुन सक्छ भन्ने भयावह सम्भावनाबीच पनि व्यावसायिक पत्रकारिता गर्न पछि परिनँ । त्यो आफैँमा मेरो जीवनको खतरनाक तर लोभलाग्दो निर्णय थियो ।’
पुष्करका अनुसार राजदरबार हत्याकाण्डका बारेमा समाचार छाप्नु असाध्यै डरलाग्दो काम थियो, त्यो रात । तर उनले त्यस्तो सोचेका भए अँध्यारो रातमा टर्चलाइट बोकेर सुनसान साँघुरा गल्ली छिचोल्दै उनी अफिस पुग्न सक्ने नै थिएनन् । बीचैबाट उनका पाइला फर्किन सक्थे । भन्छन्, ‘मैले समाचार नछाप्नेतिर सोच्दै सोचिनँ । बरु अफिस पुगेर एकपटक फेरि आफ्ना समाचारस्रोतहरुकहाँ फोन गर्छु र समाचारलाई अझ पूर्णता दिन्छु भन्नेतिर मात्र लागेँ ।’ ‘दिमागमा भएको र खल्तीमा रहेको सूचनालाई पाएसम्म अझ पूर्ण बनाउँछु, नभए त्यसैलाई मिलाएर छाप्छु’ भन्ने सोच्दै उनी अफिसतिर गएका थिए, एक्लै । तर ‘डेडलाइन’ त सकिइसकेको थियो । उनी पागलजस्तै अफिसतिर दौडिरहेका थिए, कतिखेर पुगेर समाचार ‘फाइनल’ गरेर छाप्न पठाउँला भन्ने मात्र उनको सोचाइ रहृयो । ‘देशमा ठूलो घटना भएको छ र जनतालाई कुनै न कुनै रुपमा सुसूचित गराउँछु’ भन्ने एउटै सङ्कल्पका साथ राजदरबार हत्याकाण्डको त्यो रातैभरि उनी त्यसैमा लागिरहे ।
त्यसै गरी अर्को एक समयमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निधन भएपछि पनि भोलिपल्टका अखबारहरुमा समाचार आएको थिएन । आएको थियो त ‘नेपाल समाचारपत्र’मा मात्रै । रातको२:४५ बजे मनमोहन अधिकारीको निधन भएको थियो तर बिहान निस्कने ‘नेपाल समाचारपत्र’ले विस्तृत सामग्रीका साथ निधनको त्यो घटनालाई
‘कभर’ गरेको थियो । भन्छन्, ‘त्यो कसरी भयो भने पत्रकारितालाई हामीले अल्छीहरुको व्यवसायका रुपमा लिएनौँ । पत्रकारको धर्म र कर्तव्य भनेको सूचनालाई छिटो सङ्कलन गरेर त्यसलाई छिटोभन्दा छिटो जनतासम्म पुर्याउनु हो । अधिकारीको निधन हुँदा पौने ३ भइसकेको थियो । तर मैले प्रमुख समाचारका लागि आफैँ कम्प्युटर अपरेटर भएर सामग्री तयार गरेको थिएँ ।’ सबै कम्प्युटर अपरेटर घर गइसकेका थिए ।
लामो समयदेखि अधिकारी बिरामी थिए र उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएका थिए । त्यसैले पुरानो नहुने २-३ वटा समाचार उनका बारेमा पहिल्यै बनाइसकिएको थियो । आवश्यक थियो त उनको मृत्युको निश्चित समयको सूचना मात्र । त्यसका लागि दुई जना संवाददातालाई अस्पताल पठाइएको थियो र फोनबाट समाचार पठाउन भनिएको थियो ।
भन्छन्, ‘पछि त कम्प्युटर अपरेटर पनि आइपुगे तर त्यति बेलासम्म ९० प्रतिशत सामग्री मैले टाइप गरिसकेको थिएँ ।’ त्यस्तै माओवादीले पहिलो पटक युद्धविराम गरेको विषयलाई पनि ‘नेपाल समाचारपत्र’ले नै ‘ब्रेक’ गरेको हो । कसरी युद्धविराम भयो भन्ने विषयमा दरबारसँगैको समझदारीमा युद्धविराम भएको भनेर छापिएको त्यो समाचारले एक खालको हङ्गामा नै सिर्जना गरेको थियो ।
भन्छन्, ‘राजदरबार हत्याकाण्डपछि पनि ‘नेपाल समाचारपत्र’ले जुन किसिमले संयमित र ताजा सूचनाहरु सङ्कलन गरेर प्रस्तुत गर्यो, त्यसलाई नेपाली पत्रकारितामा उदाहरणकै रुपमा लिइएका प्रसङ्ग पाउन सकिन्छ । आदित्यमान श्रेष्ठको अङ्ग्रेजी भाषामा लेखिएको दरबार हत्याकाण्डसम्बन्धी पुस्तक ‘द डेडफुल नाइट’ मा ९० प्रतिशत फोटा ‘नेपाल समाचारपत्र’बाट साभार छन् । त्यस्तै अन्य पुस्तक र पत्रिकामा ‘नेपाल समाचारपत्र’लाई उद्धृत गरिएको छ । त्यसबाट के साबित हुन्छ भने हामीले हत्याकाण्डलाई निर्भीक र इमानदारीपूर्वक पस्केका थियौँ । त्यस क्रममा विदेशका थुप्रै पत्रकार मसँग राजदरबार हत्याकाण्डका बारेमा बुझ्न आएका थिए ।’राजदरबार हत्याकाण्डको भोलिपल्टको प्रसङ्गमा पुष्करको निष्कर्ष छ, ‘राजदरबार हत्याकाण्डका बारेमा सञ्चारमाध्यमहरु बेखबर भएर घटनाको भोलिपल्ट बिहान अखबारहरु चुप लागेका होइनन्, उनीहरुले खतरा मोल्न चाहेनन् । तर ‘नेपाल समाचारपत्र’ले जोखिमलाई मोलेर पनि व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्यो ।’ त्यस्तो किन भयो त ? भन्छन्, ‘पैसाको पोको बोकेर लगानी गर्ने प्रकाशक मात्र भइदिएको भए सायद घटनाको समाचार छाप्ने हिम्मत ममा पनि आउँदैनथ्यो होला र पत्रकारिताको धर्म निर्वाह गर्नेभन्दा पहिले आर्थिक र अन्य प्राविधिक विषयका बारेमा सोच्थेँ होला । तर लगानीकर्ता मात्र नभएर मेरो रगत-रगतमा पत्रकारिता बगेको हुनाले मैले लगानीलाई भन्दा पाठकलाई बढी माया गर्न सकेँ । अन्य पत्रिकाले त्यस्तो आँट नगरेकै हुन्जस्तो लाग्छ । अर्कातर्फ पत्रकारका रुपमा जागिरे मात्र भएको भए पनि किन झन्झट लिइरहने भन्ने सोचाइ पनि आउन सक्थ्यो ।’ फाइदाकै कुरा हो, उनी प्रकाशक पनि थिए र सम्पादक पनि ।
राजदरबार हत्याकाण्डको पहिलो बिहान ‘नेपाल समाचारपत्र’ले बिक्रीका हिसाबले पनि उच्चता प्राप्त गर्यो । उनीहरुको सफलता के रहृयो भने अघिल्लो रात घटनाका बारेमा नछाप भनेर निर्देशन दिने दरबारका मान्छेहरुको अखबार निक्लेपछि एक कल टेलिफोन पनि आएन । भन्छन्, ‘त्यसो हुनुमा हामीले कसले किन हत्या गर्यो भनेर लेखेका थिएनौँ तर कलात्मक रुपमा सही समाचारलाई प्रस्तुत गर्यौँ, जसले गर्दा समाचार नछाप भन्नेहरुले पनि पछि केही भन्न सकेनन् ।’
त्यस दिन बिहानदेखि बेलुकीसम्म पुष्कर र समूहले यति धेरै बधाई पाए कि त्यसलाई थेग्नै सकिरहेका थिएनन् उनीहरु । अकल्पनीय घटना भएको थियो, जनता दुःखी थिए, देश पूरै स्तब्ध थियो । भन्छन्, ‘तर पाठकलाई ‘नेपाल समाचारपत्र’ले जसरी समाचार छापेर सेवा गर्यो, त्यसबापत उनीहरुले उच्च मूल्याङ्कन गरे र गुनगान गाए ।’ संवेदनाको समयमा ‘नेपाल समाचारपत्र’ भने बधाईमय भयो । त्यो दिन उनले पत्रकारिताजीवनकै ठूलो उपलब्धि प्राप्त गरे, जुन दिन देशले आफ्ना राजा र राजदरबारका सम्पूर्ण सदस्य गुमाएको थियो । राजाको दुर्भाग्यपूर्ण अन्त्यको दुःखले सारा नेपालीलाई जस्तै उनलाई पनि पीडित बनाएको थियो । तर त्यस दिन पत्रकारिताको ‘करिअर’मा उनले ठूलो आत्मसन्तुष्टि पनि पाइरहेका थिए । पत्रकारले आफूलाई सक्षम साबित गर्नुपर्ने पनि त्यस्तै सङ्कटकै घडीमा हो । त्यसपछि पत्रकारका रुपमा उनको चर्चा अझ चुलियो ।
राजदरबार हत्याकाण्डपछि ज्ञानेन्द्र राजा भए । राजदरबार हत्याकाण्डको प्रसङ्ग वा घाउ सेलाउन नपाउँदै राजाबाट ‘दर्शनभेट’का लागि उनलाई समय दिइयो । यद्यपि राजाबाट दर्शनभेट पाएको पहिलो पत्रकारका रुपमा चर्चा पनि चल्यो तर त्यो सही थिएन । त्यसअघि पनि राजाबाट अन्य केही पत्रकारसँग भेटघाट भइसकेको थियो । तर राजाको सूचना वा आवाज बाहिर ल्याउने किसिमले भएको पहिलो ‘दर्शनभेट’ भने पक्कै थियो त्यो ।
त्यति बेला अवस्था सेलाइसकेको थिएन र राजा ज्ञानेन्द्रप्रति नै विभिन्न शङ्का-उपशङ्का भइरहेको परिस्थितिमा एक जना पत्रकारको हिसाबले त्यस विषयमा घुमाएरै भए पनि केही कुरा गरे उनले । भन्छन्, ‘दर्शनभेटका क्रममा राजाले मसँग खुलेर कुरा गरे । त्यसबाट राजाले एक जना व्यावसायिक र निडर पत्रकारका रुपमा मलाई विश्वास गरेका हुन् भन्ने लाग्यो । यदि यो मान्छेलाई आफ्नो ‘फिलिङ’ भन्यो भने हिम्मतका साथ जस्ताको तस्तै छाप्न सक्छ र जनतासम्म पुर्याउन सक्छ भन्ने लागेर राजाले मलाई बोलाएका हुन सक्छन् । मलाई त्यस्तो लागेको थियो त्यति बेला ।’आफूलाई भन्दा पहिले पत्रकार मनरञ्जन जोशी, पी खरेललगायतलाई राजाबाट दर्शनभेट दिइएको उनले थाहा पाएका थिए । उनले दर्शनभेट गरेपछि त ध्रुवहरि अधिकारी, पुष्प प्रधान, जसुदा प्रधान, हरि लम्साललगायतले पनि दर्शनभेट गरे । भन्छन्, ‘तर मैले राजासँग दर्शनभेट गरेपछि जसरी कुराकानीलाई छापामार्फत सार्वजनिक गरेँ, त्यसपछि अरुले पनि लेखे । मैले लेख्नुअघि कसैले पनि राजासँगको कुराकानीलाई बाहिर ल्याएका थिएनन् । राजदरबार हत्याकाण्डको विवरणलाई जसरी हामीले मर्यादित भएर सम्प्रेषण गर्यौँ, त्यसबाट राजा प्रभावित भएका हुन सक्छन् । त्यही प्रभावस्वरुप आफ्ना कुरा ममार्फत बाहिर ल्याउन राजदरबारमा बोलाइएको हो कि ! राजासँगको दर्शनभेटका क्रममा भएका कुराकानीलाई मैले अखबारमा प्रकाशित गरेँ, त्यति बेलाको त्यो लेखले भनेका कुराहरु कालान्तरमा सत्य साबित हुँदै गए ।’
‘पुष्करलाल श्रेष्ठ राजावादी भएकाले उनलाई ‘दर्शनभेट’का लागि बोलाइएको र राजाबाट आफ्ना कुरा सार्वजनिक गरिएको’ भन्नेसम्मका हल्ला र आरोप छन् । त्यो सन्दर्भ उप्काउँदै पुष्कर भन्छन्, ‘राजाका कुरालाई निडर भएर व्यावसायिक रुपमा सम्प्रेषण गर्यो भन्नेतिर नगएर धेरैले यो सोचे कि राजाको नजिक भएकाले सबैभन्दा पहिले यसलाई राजाले भेटेर आफ्नो कुरा बाहिर ल्याए । यो सरासर गलत हो । जबकि २०६१ माघ १९ मा राजाबाट कार्यकारी अधिकार आफ्नो हातमा लिइएको घोषणापछि ‘नेपाल समाचारपत्र’ नै एउटा यस्तो पहिलो अखबार हो, जसले विशेष सम्पादकीय लेखेर राजालाई सचेत गराएको थियो । पछिल्लो समयमा राजाको सशक्त विरोध गर्ने पत्रिकाहरु त्यति बेला चुप लागेर बसेका थिए । उनीहरु नतमस्तक थिए अथवा भनौँ स्तब्ध थिए । के गर्ने ? के लेख्ने ? भन्ने कुरामै अन्योल अनुभव गर्दै थिए । त्यस्तो अवस्थामा जनताको अधिकार जनतालाई नफर्काए त्यसको परिणामले राजालाई राम्रो गर्दैन भनेर सचेत गराउने पत्रिका ‘नेपाल समाचारपत्र’ नै हो । माघ २० गते त्यस्तो लेख्ने अरु कुन पत्रिका छ ? अखबार भनेको त जीवित दस्तावेज हो अनि कसरी राजाको मान्छे हुन्छ पुष्करलाल ?’
राजा ज्ञानेन्द्रसँग उनको त्यो पहिलो ‘दर्शनभेट’ थियो । भन्छन्, ‘त्यस क्रममा राजनीतिक पार्टीका क्रियाकलापप्रति राजाबाट वितृष्णा व्यक्त भयो । राजनीतिक पार्टीले जे गरे पनि मूकदर्शक भएर बस्नुपर्ने अवस्था रहेको तर ‘आफू दाजुजस्तो मूकदर्शक भएर नबस्ने’ कुरा राजाबाट व्यक्त भयो ।’ छापिएपछि त्यो कुराले असाध्यैचर्चा पनि पायो ।
सचिवस्तरसम्म राजासँग हुने कुरा नलेख्ने सर्तमा उनी दर्शनभेटका लागि गएका थिए । तर दर्शनभेटका क्रममा राजाबाट आएका ‘बोल्ड’ कुरा सुनिसकेपछि उनीभित्र ‘पत्रकारिता’ जाग्यो । ‘म यो कुरालाई सुनेर दिमागमा मात्र राख्न सक्दिनँ, यस्तो गरेँ भने विस्फोट हुन्छ’, यस्तै सोच्दै थिए त्यति बेला । अनि राजासँग कुराकानी भइरहँदा कूटनीतिक हिसाबले राजाले बोल्दाबोल्दै उनले सोधे रे, ‘सरकारले बोलिबक्सने अनि मैले मात्र सुनेर केही अर्थ हुँदैनजस्तो लाग्यो । सरकारको ‘फिलिङ’ जनतासम्म पुर्याउँदा राम्रो सन्देश जान्छ कि ?’ राजाले त्यसमा सहमति दिए रे ! त्यसपछि पनि घुमाउरो पाराले प्रश्न गरे उनले । पछिल्लो पटक राजाबाट स्पष्टता आयो रे, ‘लेख्नकै लागि त भनेको नि, मलाई थाहा छैन ? म कोसँग कुरा गरिरहेको छु भनेर ?’
राजाको त्यस्तो कुरा सुनेपछि आत्मविश्वास जाग्यो उनमा, ‘म लेख्न सक्छु । राजदरबारका सचिवहरुले नलेख भने पनि म लेख्छु ।’ सूचना लुकाउने संस्कार राजदरबारभित्र पहिलेदेखि नै थियो । त्यसैको पछिल्लो व्यवहार उनीप्रति पनि भयो । दर्शनभेटपछि पनि उनीहरुबाट नलेख्न निर्देशन थियो । राजदरबारबाट फर्केर आउँदै गर्दा मनमा नानाथरी कुरा खेले, ‘दरबार हत्याकाण्डको कुरा सेलाइसकेको छैन, मैले लेखेका कुराले सारा जनता दरबारतिर खनिन पनि सक्छन्, राजनीतिक दलहरु खनिन सक्छन् । राजाबाट ‘बोल्ड’ कुरा आएको छ । त्यो कुरालाई नरम बनाउँदा राजाको भावना सम्प्रेषित नहुन सक्छ । जस्ताको तस्तै लेखूँ, भोलि परिणाम कस्तो होला ?’
भोक, निद्रा सबै हराउन थाल्यो । श्रीमती राजेश्वरीले सोध्थिन् रे ‘निद्रा परेन ? ‘सुगर’ बढ्यो कि ? ‘प्रेसर’ ठीक छैन ? अफिसको चिन्ता भयो कि ?’ उनलाई पुष्करले केही भनेनन् । दर्शनभेटको २-३ दिनपछि लेख्नैपर्छ भन्ने निर्णय गरे र रातको २ बजे ओछ्यानबाट उठेर घरको छतमा गए ।
राजासँगको दर्शनभेटका क्रममा राजाबाट गरिएको व्यवहारले उनीभित्र एकखालको आत्मविश्वास जन्मेको थियो कि भोलि दरबार प्रशासनले आफूमाथि कारबाही गर्ने भयो भने पनि राजाबाटै बचावट हुन्छ, यद्यपि सधैँ सीधै राजासँग उनको भेट सम्भव थिएन । मार्फत त दरबार प्रशासन नै थियो । भर्याङ उक्लँदै गर्दा उनमा त्यस्तो सोचाइ आइरहृयो ।छतमा पुगेपछि १५ मिनेटजति स्वयम्भू चैत्यतिर फर्केर दुईटै हात टाउकोमा राखेर सोचे, ‘दरबार हत्याकाण्डको समाचार त रोकिनँ भने राजासँगको दर्शनभेटमा भएका कुराकानीलाई पनि बाहिर ल्याउँछु । त्यसो गर्दा राजा, दरबार, राजनीतिक दल र जनता जसबाट प्रहार भए नि खप्छु ।’ उनको दिमागमा अर्को कुरा पनि खेलिरहेको थियो, ‘प्रजातन्त्रका नाममा राजनीतिक दलहरुले खेलबाड त गरेकै छन्, त्यसैको सेरोफेरोमा माओवादी समस्या बढेकै हो, जुन राजालाई मन परिरहेको छैन र प्रजातन्त्र पुनःस्थापना गर्न २०४६ मा मैले पनि केही भूमिका निर्वाह गरेको छु । यस्तै भयो भने प्रजातन्त्र जान सक्छ र त्यो मेरा लागि पनि दुर्भाग्य हो । त्यसैले राजाको कुरालाई बाहिर ल्याइदिने हो भने त्यसले राजनीतिक दलहरुलाई पनि सचेत गराउँछ । दाजु वीरेन्द्र जस्तो नभएर राजाले केही कदम चाल्न सक्ने सङ्केत दिँदा त्यो राजनीतिक दलहरुका लागि पनि चेतना जगाउन सक्ने राम्रो काम हुन सक्छ । दलहरु सचेत भए भने त्यो देशकै लागि योगदान पनि हो । त्यसैले पनि मैले लेख्नैपर्छ । मेरो नियत खराब होइन, राजाको वकालत गर्न लागेको पनि होइन ।’ प्रजातन्त्रको हितकै लागि पनि राजासँग भएका कुराकानीलाई बाहिर ल्याउनुपर्छ भन्ने चेतना बोल्यो, १५ मिनेटको सोचपछि ।काठमाडौँ सुतिरहेका बेला स्वयम्भू, भगवानपाउनजिकैको घरको अग्लो छतमा बसेर ‘दर्शनभेट’का क्रममा राजाबाट व्यक्त ‘बोल्ड’ भनाइहरुलाई जस्ताकोे तस्तै लेखे उनले । अखबारमा त्यो छापिनेबित्तिकै नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई भेट्न बोलाए । तत्कालीन एमाले महासचिव माधव नेपाल र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बोलाए । उनीहरुले पुष्करलाई बोलाउनु उनको लेखको सार्थकता थियो । कम्तीमा मुलुकका शीर्ष नेताहरुमा जिज्ञासा अनि तरङ्ग त उत्पन्न गरायो । उनीहरु त्यस दिन संवेदनशील भएका थिए रे । तर व्यवहारमा त्यो संवेदनशीलता उनीहरुले देखाउन सकेनन् । पहिलेका राजाजस्तो चुप लागेर बस्दैनन् भन्ने बुझेर राजाप्रति सशङ्कित भएर व्यावसायिक रुपमा प्रजातन्त्रलाई उपभोग गरेको भए उनीहरु सत्ताबाट सडकमा आउनुपर्दैनथ्यो कि ? भन्छन्, ‘लेखमार्फत मैले त बेलैमा सचेत गराएकै हुँ ।’ यस लेखलाई देशभरका सयौं प्रमुख पत्रिकाहरुले पछि साभार गरेर प्रकाशित गरेका थिए ।///////////
अशोक सिलवाल
by onlinekhabar.com
“अहिले कस्तो छ तपाईंलाई ?” उनले फेरि सोधेकी थिइन्,,,,
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए । पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्र बीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवले निदाएकोजस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई यसपटक भने हङकङको आकाश पार नगर्दै रिागटा लागेको थियो । रिागटा लागेको केहीबेरमै उनी बान्तासमेत गर्न लागेका थिए । त्यसैबेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइदिएका थिए ।
त्यसो त हवाइपरिचारिकाहरु कामदेवका लागि नयाँ पक्कै थिएनन् । हवाइजहाजको ढोकामा स्वागत गर्नेदेखि हवाइजहाजभित्रको आवागमनमा हरेकपटकको यात्रामा हवाइपरिचारिकासागको सामीप्य थियो उनको तर यसपटक आफूप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहरुको सेवाप्रति कामदेव आहृलादित हुन पुगेका थिए ।
त्रिभुवन विमानस्थलमा हवाइजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पुर्याएकी थिइन् ।
“तपाईंको डाक्टरलाई आजै परीक्षण गराउनुहोस् है !” विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन् ।
त्यस्तो खास केही नहोला ! तर पनि म जचाउँनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद….।” कामदेवले परिचारिकाको नाउँ जान्न खोजेका थिए ।
“मेरो नाउँ रति हो ।” उनले भनेकी थिइन् ।
त्यसपछि दुवैले आ-आफ्ना भिजिटिङ कार्ड एक-अर्काबीच साटेका थिए । यसरी भेटघाट हुनु र भिजिटिङ कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैले जनसम्पर्क अत्याधिक थियो र दैनिकजसो नयाँ व्यक्तिसँगको परिचय उनीहरुका लागि कौतूहलको विषय पनि थिएन । जस्तो कि त्यस्ता सबैजसो परिचयहरु तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन, अर्थात् उनीहरुको पहिलो भेट नै अन्तिम भेट हुन सकेन ।
उनीहरुबीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक साँझ रतिको घरको टेलिफोनको घण्टी घन्केको थियो । त्यसबखत फोनमा दुवैबीच सामान्य शिष्टताका संवाद आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सन्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन् ।
कामदेवले फोन गरेर आफ्ना बारे चासो राखेका सन्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठवर्षे आफ्नो हवाइपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरुलाई सेवा पुर्याएकी थिइन् । तर यात्रुहरु घर पुगेपछि आफ्नै संसारमा हराउाछन्, रतिले सेवाका बारे फुर्सतमा पनि सम्झनछन् कि सम्झन्नन् जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरुमध्येका एक यात्रुले आफूलाई घरमा पुगेपछि पनि सम्झेको प्रसङ्ग उनका लागि रमाइलो कुरा भएको थियो ।
कामदेवको व्यक्तित्व सामान्य थियो, लुगा कपडामा उनको व्यक्रित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । उनको आवाज अझ प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जोकोहीले उनको व्यक्तित्वको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हजाइजहाजमा भेटेका कामदेवभन्दा पनि टेलिफोनमा गुञ्जेको कामदेवको व्यक्तित्वसँग रति बढी प्रभावित भएकी थिइन् ।
त्यसपछि अर्को टेलिफोन घण्टी कामदेवको घरमा गुञ्जेको थियो । बैङ्ककबाट फर्केको साँझ रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई साँझको चियाका लागि तारे होटलमा निम्तो गरेका थिए ।
रति वास्तवमै सुन्दरी थिइन् । हवाइपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरु भोग्न चाहन्थिन् । अन्तर्राष्ट्रिय उडानमा काम गर्नुका कारण आफ्नै आर्जनले जोरिएको काठमाडौं, भीमसेनगोलाको आफ्नै घरमा रतिको जीवन अघि बढ्दै थियो । आफूले चाहेजस्तो वर पाए उसैको अँगालोमा बाँकी जीवन समर्पित गर्ने रहरले पनि उनलाई पिरोल्न थालेको थियो ।
हवाइ परिचारिकाको जागिरमा बिताएका यी आठ वर्षबीच उनले पनि पुरुषको विविध रुपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आफू उभिँदा आफ्नो समकक्षीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरुका नजिक पुगेर आफ्नो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटक-पटक आहत पारेको थियो । त्यसैले हिजो-आज रति एउटा सामथ्र्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन् ।
त्यसो त रतिलाई कामदेव आफूले खोजेजस्तै पुरुष लागेका थिएनन् तर पनि सामीप्य बढ्दै जाँदा उनी कामदेवप्रति नै आकषिर्त हुन थालेकी थिइन् । कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो । त्यसैगरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि उनी पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीसँग फुर्सतको समय निकै थोरै मात्र हुन्थ्यो तर पनि फुर्सतमा रतिसँग समय बिताउन उनी मन पराउँथे ।
दुवैको फुर्सतका समयमा प्रायःजसो कामदेवले नै रतिलाई कुनै भव्य होटलमा निम्ता गर्थे । साँझको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुङ्गिन्थ्यो । कामदेवसँग मदिरा वा धुम्रपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आफैँले हाँकेको मोटरमा रतिलाई उनको घरसम्म पुर्याएर फर्किन्थे ।
उनीहरुको पहिलो भेटपछिको भन्डै एक वर्षको समय पनि नाघिसकेको थियो । उनीहरुबीचको भेटघाट अथवा टेलिफोनका कुराकानीको समय पनि बाक्लिदै गएको थियो । कामदेवको शिष्टताका सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफ्ना हावभाव र कटाक्षद्वारा कामदेवका अघि आफ्नो प्रेमको प्रस्ताव धेरैपटक राखिसकेकेी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौन्दर्यको आराधना गर्दै आफ्नो चस्माभित्रका आाखाले उनको सौन्दर्यको रसपान गर्थे । यसरी नै उनीहरु छुट्टनिे गर्थे ।
रतिको उर्लिदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसै-त्यसै मुर्मुरिने पनि गर्थिन् । तर आफू स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आफूलाई पनि शिष्ट स्वरुपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो । अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बाँध भत्केको थियो । त्यस साँझ अन्नपूर्ण होटलको मैनबत्तीको उज्यालोमा चिया पिउँदै गरेका ती दुवैबीचको मौनता भङ्ग रतिले नै गरेकी थिइन् ।
“म तपाईंसँग विवाह गर्न चाहन्छु ।”
रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए । “के, तपाईं पनि मसँग…..” रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरु देखेकी थिइन् । उनले यतिका समयको उनीहरुको सान्निध्यमा कामदेवको यतिविघ्न अँध्यारो अनुहार देखेकै थिइनन् । आफूले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराधबोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनुमै भलो ठानेकी थिइन् ।
“रति ! तिमी साँच्चै मसँग बिहा गर्न चाहन्छ्यौ ?” धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन् ।“ठिकै छ, मलाई तिम्रो प्रस्ताव मञ्जुर छ, तर विवाह गर्नुअघि मेरो एउटा प्रस्ताव छ ।”रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन् ।
“मसमँग वैवाहिक बन्धनमा बाँधिनुअघि नै तिमीले मसँग एक रात बिताउनुपर्छ । अर्थात तिमीले मसँग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ ।” कामदेवले अथ्र्याएर भनेका थिए । के भन्ने ? के नभन्ने ? को दोसाँधमा उनी पुगेकी थिइन् । उनले कुनै जवाफ दिन सकेकी थिइनन् ।
“के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छ्यौ ?” कामदेवले पुनः प्रश्न तेस्र्याएका थिए ।
“हुन्छ तर नेपालमा भने होइन, पर्सि मेरो उडान सिङ्गापुरका लागि छ, तपाईं पनि सिङ्गापुर जाने भए…..” रतिले केही कामेको स्वरमा भनेकी थिइन् ।
“हुन्छ, म पनि तिम्रै उडानबाट सिङ्गापुर जानेछु, मेरो व्यापारको पनि काम छ त्यहाँ । म भोलि नै फोन गरेर होटेल पनि बुक गराउमँछु । कामदेवको आवाज भने सधैमँ झैँ शान्त र मधुर थियो । त्यसदिन पनि उनीहरु खानपिन सकेर नै छुट्टएिका थिए ।मङ्गलवारको दिन थियो । रति आफ्नो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनका सम्पूर्ण क्रियाकलाप यन्त्रचालितझैँ थिए । उनका आाखा हरेक क्षण कामदेवकै प्रतीक्षामा थिए । त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त, सौम्य र सुमधुर गतिमा ।
आज पनि हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो, हजाइजहाजभरि भरिएको सम्पूर्ण पुरुषमध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन् आजको रात…. कामदेवसँग बिताउने पहिलो रात…….. आाखामा मीठा-मीठा चित्रहरु सजाएर अनुभूतिका काउकुती सँगाल्दैसँगाल्दै उनीहरुको जहाजको सिङ्गापुरको धर्ती छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरु संवाद भएको थिएन ।
“तिमी मसँगै हिँड, म तिमीलाई होटेलमा पुर्याएर आफ्नो काममा जान्छु ।” जहाज रोकिएपछि आफूनजिक आइपुगेकी रतिलाई कामदेवले भनेका थिए । आफ्नो कार्य सम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन् ।
त्यसो त सिङ्गापुर रतिका लागि नौलो ठाउँ थिएन । यसअघि पनि केही पटक रतिले सिङ्गापुरका होटेलमा रात बिताइसकेकी थिइन् । तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्णको भएको थियो ।
“एक रात बिताइसकेपछि कामदेवले मसँग बिहे गर्न आने काने पो गर्ने हुन् कि ? अरु पुरुष र कामदेवबीच के फरक होला ?” कामदेवका साथ मोटरमा होटेलतर्फ गुगिरहँदा रतिको मनमा प्रश्न-प्रतिप्रश्न उब्जिरहेको थिए ।
कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि फरक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सङ्केत रतिले पहिल्याउन सकेकी थिइनन् ।
“तिमी फ्रेस भएर आराम गर्दै गर, म साँझसम्ममा आइपुग्छु ।” होटेलको कोठामा दुवैका सामान थन्क्याउदै कामदेवले भनेका थिए । त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए ।
कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन् । आफ्नो अङ्ग-अङ्गको सुन्दरताले उनी आफैँ मोहित भएकी थिइन् ।कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैँलाई कता-कता अपराधबोध पनि हुन खोज्यो उनलाई तर झट्टै कामदेवको सौम्यता, शिष्टता र भव्यताका प्रतिरुपले उनको रुपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यसबेला छटपटिँदै कामदेवको प्रतीक्षा गर्नु नै रतिलाई सही लागेको थियो । त्यसपछि कामदेवसँग आजको रात बिताउँदा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझै उर्लेको थियो ।
साँच्चै साँझ पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरु डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरुको खानपीन सकिएको थियो । रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधैँभन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरु शयनकक्षमा प्रवेश गरेका थिए ।
कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए । कोठामा भएको सोफामा राम्ररी अडेस लागेर कामदेव बसेका थिए । अर्को सोफामा केहीबेर बसेपछि रति भने उठेर बाथरुमतिर लागेकी थिइन् । बाथरुमबाट केहीबेरमै निस्किएकी रतिको शरीरलाई सुन्दर तर पारदर्शी टाइट गाउनले झनै सुन्दर पारेको थियो ।कामदेवको अघिल्तिरको सोफामा बसेपछि रतिले केही लजाएर कामदेवतिर हेरेकी थिइन् ।
“तपाईं बाथरुम जाने होइन ?”
टेलिभिजन हेर्दै गरेका कामदेवले एकपटक रतिलाई राम्ररी हेरेका थिए । “आ !” त्यसपछि कामदेव पनि बाथरुम प्रवेश गरेका थिए । निकैबेरपछि बाथरुमबाट बाहिर निस्केका कामदेवले आफ्ना कपडा फेरेका थिएनन् । नाइट सुटमा बाहिर आउने कल्पनामा बसेकी रतिलाई पूर्वकपडामै कामदेवलाई देख्ता अचम्मै लागेको थियो ।
त्यसपछि कामदेव बिछ्यौनामा गएर बसेका थिए ।
“रति यहाँ आऊ त !” आवाज सुनेर पुलकित हुँदै रति कामदेवको नजिकै पुगेकी थिइन् । “मलाई केही सहयोग गर न है ।” कामदेवले रतिको अनुहारमा हेर्दै केही हाँसेर भनेका थिए । “यी दात त्यो मगको पानीमा चोपलेर राखिदेऊ न !” आफ्ना मुखबाट दाँत झिकेर रतिलाई दिँदै आफैले केहीबेरअघि बाथरुमबाट ल्याएको मागतर्फ कामदेवले देखाएका थिए । केही अचम्मित हुँदै रतिले कामदेवको निर्देशन पूरा गरेकी थिइन् ।
“रति, यो आाखा पनि त्यो ब्रिफकेसमा यसको बट्टा छ, त्यसैमा हालेर त्यो टेबुलमा राखिदेऊ !” कामदेवले चस्मा खोलेर आफ्नो एउटा आाखा झिकेर रतिका हातमा हालिदिएका थिए ।
आफ्ना हातमा आाखा थापेर रतिले पुनः कामदेवको निर्देशनको पालना गरिन् । आफ्ना हातमा दाँत समात्दाभन्दा पनि, आाखा समात्दा उनलाई आफ्नो शरीरभरि काँडा उम्रेको अनुभूति भएको थियो ।
“रति, मेरो यो खुट्टा पनि त्यहाँ भित्तामा राम्ररी राखिदेऊ न है !” कामदेवले आफ्नो दाहिने खुट्टा पनि झिकेर रतिका हातमा राखिदिएका थिए ।यन्त्रवत् रति कमदेवको निर्देशन पालन गर्दै थिइन् ।
“अब यो हात पनि टेबुलमा राखिदेऊ ल !” कामदेवले आफ्नो देब्रे हात पनि रतिका हातमा राखिदिएका थिए । त्यसपछि भर्खरै मात्र बाहिरी पोशाक खोलेका कामदेवलाई भित्री गन्जी र कटुटुमा मात्रै रतिले देखेकी थिइन् ।
रतिलाई आफ्नो शरीरभरि पसिनाको खोलो बगेझैँ भएको थियो । उनको सम्पुर्ण शरीर चिसिएको थियो । एउटा नराम्रो सपना देखिरहेको अनुभूति गरिहेकी थिइन् ।
“माफ गर्नोस्, म यो कोठामा सुत्न सक्तिना ।” रतिले भनिन् । त्यसैबेला कामदेवले होटलको रिसेप्सनमा फोन गरेर उनले नेपालबाटै बुक गरेको अर्को कोठाको साँचो मगाइदिएका थिए ।
इन्दिरा प्रसाई
काममा कतै गइरहेको बेला गाडी दुर्घटना भएर अचानक पतिको आँखा गुम्यो । पत्नीले आवश्यक सेवा सुश्रुवा गरी । पति तङ्गि्रएपछि कमाइका लागि आफैँ काममा जान थाली । ढिलो हुँदा कहिलेकाहीँ कुनै अर्को पुरुषले उसलाई मोटरसाइकलमा राखेर घरसम्म ल्याइदिन थाल्यो । पतिको मनमा शंकाको आगो सल्कियो । सोध्दा पत्नी र्झकन थाली । दिउँसो एकालापमा बस्ने पतिलाई शंकाले जलाउँदै गएपछि उसले बदला लिने अठोट गर्यो । बेलुका पत्नीले आफूलाई बनाएर दिएको चियामा विष मिसाएर उसैलाई खान बाध्य बनायो । बेहोस भएपछि मटि्टतेल खन्याएर आगो लगायो । मरिसकी भन्ने भएपछि छिमेकीहरु हारगुहार गर्यो । अस्पताल पुर्याइएकी ऊ भोलिपल्टै मर्छे । तर मर्नुअघि उसले डाक्टरलाई भनेर पतिका लागि आँखा दान दिएकी हुन्छे । त्यो कुरा उसले आँखा देख्ने भएपछि मात्र थाहा पाउँछ । त्यसपछि उसको मनोदशा कस्तो होला ? सम्झँदा पनि आङ जिरिङ भएर आउँछ ।हो, कथाकार हरिमाया भेटवालको कथासङ्ग्रह ‘मैनका मान्छेहरू’ भित्र यस्तै मर्मस्पर्शी कथाहरु छन् । पढ्दापढ्दै गला भरिएला जस्तो हुन्छ । आँखा रसाउन थाल्छन् । मन कटक्क हुन्छ । सङ्ग्रह भित्रका १८ मध्ये सबै त नभनौं तर सुरुमै शारांश उल्लेख गरिएको ‘आँखाहरु मरेका छैनन्’ कथा साँच्चै स्तरीय छ । नेपाली समाजका पुरुषहरुको आडम्बर र नारीहरुको प्रेमलाई मिहिनपारामा प्रस्तुत गरिएको यो कथामा आर्ट फिल्म बनाउने हो भने साँच्चै ऐतिहासिक काम हुनेछ ।
नाटक लेखनमा खडेरी पर्दै गएको नारी उपस्थितिलाई मलजल गर्दै आएका हरिमायाका कतिपय नाटकले प्रर्दशनको रेकर्ड नै बनाएका छन् । २०६३ मा ‘दोस्रो दर्जा’ शीर्षकको कथासङ्ग्रह प्रकाशित उनको पछिल्लो संग्रहमा भने समाजका विपन्न एवम् सिमान्तकृत वर्गका पीडा र भोगाइ समेटिएका छन् । उनी कथामा आफू हावी हुन चाहँदिनन् । बरु बोली नभएकाहरुको बोली बोल्न मन पराउँछिन् ।‘हत्कडी’ बेश्याको आरोप लगाएर बेलाबखत प्रहरीले पक्राउ गर्ने सहरिया यौनकर्मीहरुको कथा हो । कथामा कुन बाध्यताले महिलालाई यौनको पसलसम्म डोर्याउँछ भन्ने मात्रै होइन, ती यौनकर्मीहरुलाई हत्कडी लगाएर उनीहरुसँगै सुत्नेहरुलाई स्यालुट हान्ने प्रहरीको कार्यशैलीको भण्डाफोर नै गरिएको छ । पुलिसले पक्रेर वेश्याका रुपमा अघि सारिएका विवश महिलाहरुको फोटो खिचेर आफ्नो सन्चारमाध्यममा स्कुप मार्नेहरुलाई यो कथाले कठोर ब्यङ्ग्य गरेको छ । यो कथा पढ्ने हो भने वेश्याहरु बारेको समाचार लेखनको वर्तमान शैली नै बदलिन सक्छ ।
‘यात्रा’ आफ्नै कमाइले जहाज चढेको अनुभव सँगाल्न हिँडेकी एउटी बृद्धामाथिको कथा हो । आफ्ना बृद्ध बाबुआमाको इच्छाको वेवास्ता गर्ने छोराछोरीलाई यो कथाले कठोर कटाक्ष गरेको छ । ‘विवाह’ समलिंगी बिहे गर्नेहरुका बारेमा छ । जे होस् हरिमायाको विषय छनोटशैली साँच्चै आरिसलाग्दो छ ।सडकमा बसेर मकै बेच्दै गुजारा चलाउने महिलामाथि लेखिएको ‘फोटोफ्रेम’ अर्को मार्मिक कथा हो । देशमा भएका परिवर्तन र क्रान्तिले निम्नवर्गलाई समेट्न नसकेको तीतो यथार्थलाई कलात्मक बान्की दिइएको यो कथामा सहिदलाई कसरी बिर्सिइन्छ भन्ने पनि देखाइएको छ । रातभरि उडुसले टोकेर सुत्न नसकेकी ती बृद्धा मकै बेचेर आएको कमाइबाट जव उडुस मार्ने औषधि किन्न जान्छिन्, पसले भन्छ- लोग्नेमान्छे लिएर आउनोस् तपाईँलाई दिन मिल्दैन । लाग्छ, यो कथा पढ्दा कुन पाठकको मन कटक्क हुँदैन ?साझा प्रकाशनले पछिल्लो समय निकालेर केही किताबको छनोटस्तर, मूल्य र सजावट हेरर निराश भएको पंक्तिकारलाई यो सङ्ग्रह भित्रका विषयले केही राह्रत दिएको छ । तर संवादहरुलाई कमा भित्र नछुट्याइ व्याख्यान जसरी प्रस्तुत गरिनु तथा कतिपय कथामा सन्दर्भ परिवर्तन हुँदा समेत अनुच्छेदहरु नछुट्याइनुले साझा प्रकाशनका कर्मचारी लापर्वाही गर्न थालेको आरोपलाई पुष्टि गर्छन् । झूर सजावट गरिएको कूल १२० पृष्ठको यो सङ्ग्रहको मूल्य १७६ पनि अचाक्ली लाग्छ ।
यद्यपि विषय छनोटका दृष्टिले हरिमायाको शैली उत्कृष्ट छ । विषय एकसे एक लागे पनि कतिपय कथामा बुनाई-शैली परम्परागत ढर्राबाट गुजि्रएका छन् । विम्बहरु दोहोरिएका छन् । विषय छनोटसँगै प्रस्तुतिमा पनि नयाँ बान्की दिने हो भने हरिमायाले पाठकमा आफ्नो अलग छाप बनाउने निश्चित छ । उनका लागि यो कुरा असम्भव पनि छैन ।


