बिहे अघिको रात-- कथा


                       “अहिले कस्तो छ तपाईंलाई ?” उनले फेरि सोधेकी थिइन्,,,,
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए । पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्र बीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवले निदाएकोजस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई यसपटक भने हङकङको आकाश पार नगर्दै रिागटा लागेको थियो । रिागटा लागेको केहीबेरमै उनी बान्तासमेत गर्न लागेका थिए । त्यसैबेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइदिएका थिए ।
त्यसो त हवाइपरिचारिकाहरु कामदेवका लागि नयाँ पक्कै थिएनन् । हवाइजहाजको ढोकामा स्वागत गर्नेदेखि हवाइजहाजभित्रको आवागमनमा हरेकपटकको यात्रामा हवाइपरिचारिकासागको सामीप्य थियो उनको तर यसपटक आफूप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहरुको सेवाप्रति कामदेव आहृलादित हुन पुगेका थिए ।
त्रिभुवन विमानस्थलमा हवाइजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पुर्‍याएकी थिइन् ।
“तपाईंको डाक्टरलाई आजै परीक्षण गराउनुहोस् है !” विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन् ।
त्यस्तो खास केही नहोला ! तर पनि म जचाउँनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद….।” कामदेवले परिचारिकाको नाउँ जान्न खोजेका थिए ।
“मेरो नाउँ रति हो ।” उनले भनेकी थिइन् ।
त्यसपछि दुवैले आ-आफ्ना भिजिटिङ कार्ड एक-अर्काबीच साटेका थिए । यसरी भेटघाट हुनु र भिजिटिङ कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैले जनसम्पर्क अत्याधिक थियो र दैनिकजसो नयाँ व्यक्तिसँगको परिचय उनीहरुका लागि कौतूहलको विषय पनि थिएन । जस्तो कि त्यस्ता सबैजसो परिचयहरु तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन, अर्थात् उनीहरुको पहिलो भेट नै अन्तिम भेट हुन सकेन ।
उनीहरुबीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक साँझ रतिको घरको टेलिफोनको घण्टी घन्केको थियो । त्यसबखत फोनमा दुवैबीच सामान्य शिष्टताका संवाद आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सन्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन् ।
कामदेवले फोन गरेर आफ्ना बारे चासो राखेका सन्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठवर्षे आफ्नो हवाइपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरुलाई सेवा पुर्‍याएकी थिइन् । तर यात्रुहरु घर पुगेपछि आफ्नै संसारमा हराउाछन्, रतिले सेवाका बारे फुर्सतमा पनि सम्झनछन् कि सम्झन्नन् जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरुमध्येका एक यात्रुले आफूलाई घरमा पुगेपछि पनि सम्झेको प्रसङ्ग उनका लागि रमाइलो कुरा भएको थियो ।
कामदेवको व्यक्तित्व सामान्य थियो, लुगा कपडामा उनको व्यक्रित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । उनको आवाज अझ प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जोकोहीले उनको व्यक्तित्वको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हजाइजहाजमा भेटेका कामदेवभन्दा पनि टेलिफोनमा गुञ्जेको कामदेवको व्यक्तित्वसँग रति बढी प्रभावित भएकी थिइन् ।
त्यसपछि अर्को टेलिफोन घण्टी कामदेवको घरमा गुञ्जेको थियो । बैङ्ककबाट फर्केको साँझ रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई साँझको चियाका लागि तारे होटलमा निम्तो गरेका थिए ।
रति वास्तवमै सुन्दरी थिइन् । हवाइपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरु भोग्न चाहन्थिन् । अन्तर्राष्ट्रिय उडानमा काम गर्नुका कारण आफ्नै आर्जनले जोरिएको काठमाडौं, भीमसेनगोलाको आफ्नै घरमा रतिको जीवन अघि बढ्दै थियो । आफूले चाहेजस्तो वर पाए उसैको अँगालोमा बाँकी जीवन समर्पित गर्ने रहरले पनि उनलाई पिरोल्न थालेको थियो ।
हवाइ परिचारिकाको जागिरमा बिताएका यी आठ वर्षबीच उनले पनि पुरुषको विविध रुपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आफू उभिँदा आफ्नो समकक्षीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरुका नजिक पुगेर आफ्नो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटक-पटक आहत पारेको थियो । त्यसैले हिजो-आज रति एउटा सामथ्र्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन् ।
त्यसो त रतिलाई कामदेव आफूले खोजेजस्तै पुरुष लागेका थिएनन् तर पनि सामीप्य बढ्दै जाँदा उनी कामदेवप्रति नै आकषिर्त हुन थालेकी थिइन् । कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो । त्यसैगरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि उनी पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीसँग फुर्सतको समय निकै थोरै मात्र हुन्थ्यो तर पनि फुर्सतमा रतिसँग समय बिताउन उनी मन पराउँथे ।
दुवैको फुर्सतका समयमा प्रायःजसो कामदेवले नै रतिलाई कुनै भव्य होटलमा निम्ता गर्थे । साँझको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुङ्गिन्थ्यो । कामदेवसँग मदिरा वा धुम्रपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आफैँले हाँकेको मोटरमा रतिलाई उनको घरसम्म पुर्‍याएर फर्किन्थे ।
उनीहरुको पहिलो भेटपछिको भन्डै एक वर्षको समय पनि नाघिसकेको थियो । उनीहरुबीचको भेटघाट अथवा टेलिफोनका कुराकानीको समय पनि बाक्लिदै गएको थियो । कामदेवको शिष्टताका सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफ्ना हावभाव र कटाक्षद्वारा कामदेवका अघि आफ्नो प्रेमको प्रस्ताव धेरैपटक राखिसकेकेी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौन्दर्यको आराधना गर्दै आफ्नो चस्माभित्रका आाखाले उनको सौन्दर्यको रसपान गर्थे । यसरी नै उनीहरु छुट्टनिे गर्थे ।
रतिको उर्लिदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसै-त्यसै मुर्मुरिने पनि गर्थिन् । तर आफू स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आफूलाई पनि शिष्ट स्वरुपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो । अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बाँध भत्केको थियो । त्यस साँझ अन्नपूर्ण होटलको मैनबत्तीको उज्यालोमा चिया पिउँदै गरेका ती दुवैबीचको मौनता भङ्ग रतिले नै गरेकी थिइन् ।
“म तपाईंसँग विवाह गर्न चाहन्छु ।”
रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए । “के, तपाईं पनि मसँग…..” रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरु देखेकी थिइन् । उनले यतिका समयको उनीहरुको सान्निध्यमा कामदेवको यतिविघ्न अँध्यारो अनुहार देखेकै थिइनन् । आफूले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराधबोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनुमै भलो ठानेकी थिइन् ।
“रति ! तिमी साँच्चै मसँग बिहा गर्न चाहन्छ्यौ ?” धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन् ।“ठिकै छ, मलाई तिम्रो प्रस्ताव मञ्जुर छ, तर विवाह गर्नुअघि मेरो एउटा प्रस्ताव छ ।”रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन् ।
“मसमँग वैवाहिक बन्धनमा बाँधिनुअघि नै तिमीले मसँग एक रात बिताउनुपर्छ । अर्थात तिमीले मसँग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ ।” कामदेवले अथ्र्याएर भनेका थिए । के भन्ने ? के नभन्ने ? को दोसाँधमा उनी पुगेकी थिइन् । उनले कुनै जवाफ दिन सकेकी थिइनन् ।
“के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छ्यौ ?” कामदेवले पुनः प्रश्न तेस्र्याएका थिए ।
“हुन्छ तर नेपालमा भने होइन, पर्सि मेरो उडान सिङ्गापुरका लागि छ, तपाईं पनि सिङ्गापुर जाने भए…..” रतिले केही कामेको स्वरमा भनेकी थिइन् ।
“हुन्छ, म पनि तिम्रै उडानबाट सिङ्गापुर जानेछु, मेरो व्यापारको पनि काम छ त्यहाँ । म भोलि नै फोन गरेर होटेल पनि बुक गराउमँछु । कामदेवको आवाज भने सधैमँ झैँ शान्त र मधुर थियो । त्यसदिन पनि उनीहरु खानपिन सकेर नै छुट्टएिका थिए ।मङ्गलवारको दिन थियो । रति आफ्नो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनका सम्पूर्ण क्रियाकलाप यन्त्रचालितझैँ थिए । उनका आाखा हरेक क्षण कामदेवकै प्रतीक्षामा थिए । त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त, सौम्य र सुमधुर गतिमा ।
आज पनि हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो, हजाइजहाजभरि भरिएको सम्पूर्ण पुरुषमध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन् आजको रात…. कामदेवसँग बिताउने पहिलो रात…….. आाखामा मीठा-मीठा चित्रहरु सजाएर अनुभूतिका काउकुती सँगाल्दैसँगाल्दै उनीहरुको जहाजको सिङ्गापुरको धर्ती  छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरु संवाद भएको थिएन ।
“तिमी मसँगै हिँड, म तिमीलाई होटेलमा पुर्‍याएर आफ्नो काममा जान्छु ।” जहाज रोकिएपछि आफूनजिक आइपुगेकी रतिलाई कामदेवले भनेका थिए । आफ्नो कार्य सम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन् ।
त्यसो त सिङ्गापुर रतिका लागि नौलो ठाउँ थिएन । यसअघि पनि केही पटक रतिले सिङ्गापुरका होटेलमा रात बिताइसकेकी थिइन् । तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्णको भएको थियो ।
“एक रात बिताइसकेपछि कामदेवले मसँग बिहे गर्न आने काने पो गर्ने हुन् कि ? अरु पुरुष र कामदेवबीच के फरक होला ?” कामदेवका साथ मोटरमा होटेलतर्फ गुगिरहँदा रतिको मनमा प्रश्न-प्रतिप्रश्न उब्जिरहेको थिए ।
कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि फरक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सङ्केत रतिले पहिल्याउन सकेकी थिइनन् ।
“तिमी फ्रेस भएर आराम गर्दै गर, म साँझसम्ममा आइपुग्छु ।” होटेलको कोठामा दुवैका सामान थन्क्याउदै कामदेवले भनेका थिए । त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए ।
कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन् । आफ्नो अङ्ग-अङ्गको सुन्दरताले उनी आफैँ मोहित भएकी थिइन् ।कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैँलाई कता-कता अपराधबोध पनि हुन खोज्यो उनलाई तर झट्टै कामदेवको सौम्यता, शिष्टता र भव्यताका प्रतिरुपले उनको रुपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यसबेला छटपटिँदै कामदेवको प्रतीक्षा गर्नु नै रतिलाई सही लागेको थियो । त्यसपछि कामदेवसँग आजको रात बिताउँदा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझै उर्लेको थियो ।
साँच्चै साँझ पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरु डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरुको खानपीन सकिएको थियो । रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधैँभन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरु शयनकक्षमा प्रवेश गरेका थिए ।
कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए । कोठामा भएको सोफामा राम्ररी अडेस लागेर कामदेव बसेका थिए । अर्को सोफामा केहीबेर बसेपछि रति भने उठेर बाथरुमतिर लागेकी थिइन् । बाथरुमबाट केहीबेरमै निस्किएकी रतिको शरीरलाई सुन्दर तर पारदर्शी टाइट गाउनले झनै सुन्दर पारेको थियो ।कामदेवको अघिल्तिरको सोफामा बसेपछि रतिले केही लजाएर कामदेवतिर हेरेकी थिइन् ।
“तपाईं बाथरुम जाने होइन ?”
टेलिभिजन हेर्दै गरेका कामदेवले एकपटक रतिलाई राम्ररी हेरेका थिए । “आ !” त्यसपछि कामदेव पनि बाथरुम प्रवेश गरेका थिए । निकैबेरपछि बाथरुमबाट बाहिर निस्केका कामदेवले आफ्ना कपडा फेरेका थिएनन् । नाइट सुटमा बाहिर आउने कल्पनामा बसेकी रतिलाई पूर्वकपडामै कामदेवलाई देख्ता अचम्मै लागेको थियो ।
त्यसपछि कामदेव बिछ्यौनामा गएर बसेका थिए ।
“रति यहाँ आऊ त !” आवाज सुनेर पुलकित हुँदै रति कामदेवको नजिकै पुगेकी थिइन् । “मलाई केही सहयोग गर न है ।” कामदेवले रतिको अनुहारमा हेर्दै केही हाँसेर भनेका थिए । “यी दात त्यो मगको पानीमा चोपलेर राखिदेऊ न !” आफ्ना मुखबाट दाँत झिकेर रतिलाई दिँदै आफैले केहीबेरअघि बाथरुमबाट ल्याएको मागतर्फ कामदेवले देखाएका थिए । केही अचम्मित हुँदै रतिले कामदेवको निर्देशन पूरा गरेकी थिइन् ।
“रति, यो आाखा पनि त्यो ब्रिफकेसमा यसको बट्टा छ, त्यसैमा हालेर त्यो टेबुलमा राखिदेऊ !” कामदेवले चस्मा खोलेर आफ्नो एउटा आाखा झिकेर रतिका हातमा हालिदिएका थिए ।
आफ्ना हातमा आाखा थापेर रतिले पुनः कामदेवको निर्देशनको पालना गरिन् । आफ्ना हातमा दाँत समात्दाभन्दा पनि, आाखा समात्दा उनलाई आफ्नो शरीरभरि काँडा उम्रेको अनुभूति भएको थियो ।
“रति, मेरो यो खुट्टा पनि त्यहाँ भित्तामा राम्ररी राखिदेऊ न है !” कामदेवले आफ्नो दाहिने खुट्टा पनि झिकेर रतिका हातमा राखिदिएका थिए ।यन्त्रवत् रति कमदेवको निर्देशन पालन गर्दै थिइन् ।
“अब यो हात पनि टेबुलमा राखिदेऊ ल !” कामदेवले आफ्नो देब्रे हात पनि रतिका हातमा राखिदिएका थिए । त्यसपछि भर्खरै मात्र बाहिरी पोशाक खोलेका कामदेवलाई भित्री गन्जी र कटुटुमा मात्रै रतिले देखेकी थिइन् ।
रतिलाई आफ्नो शरीरभरि पसिनाको खोलो बगेझैँ भएको थियो । उनको सम्पुर्ण शरीर चिसिएको थियो । एउटा नराम्रो सपना देखिरहेको अनुभूति गरिहेकी थिइन् ।
“माफ गर्नोस्, म यो कोठामा सुत्न सक्तिना ।” रतिले भनिन् । त्यसैबेला कामदेवले होटलको रिसेप्सनमा फोन गरेर उनले नेपालबाटै बुक गरेको अर्को कोठाको साँचो मगाइदिएका थिए ।

इन्दिरा प्रसाई

0 comments

Post a Comment

Blog Archive

Sports

RSS

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको