राजदरबार पत्रकारिता
पत्रकारिताजीवनमा आश्चर्यलाग्दा घटना आई नै रहन्छन् । अझ भनौँ, त्यस्ता घटनाका खोजीमा उनीहरु सक्रिय रहन्छन् । पत्रकारका लागि ती पेसागत अवसर पनि हुन्, जसमार्फत आफ्नो सीप र कर्तव्यलाई सही रुपमा सार्वजनिक गर्न सकिन्छ । तर २०५८ जेठ १९ को राजदरबार हत्याकाण्ड त्यति स्वाभाविक र आश्चर्यको घटना मात्र थिएन, जसमा पत्रकार-चेतना मात्र ब्युँझियोस् र मानवीय संवेदनामा भने गहिरो प्रभाव नपरोस् । त्यो घटनाले नेपाली मनहरु कति दुःखी थिए ? शब्दले व्याख्या गर्न सकिँदैन ।त्यसताका पुष्कर भर्खर नयाँ घर बनाएर सरेका थिए, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ठ्याक्कै पछाडिपट्टी। त्यति बेला घरहरु बाक्लिइसकेका थिएनन् । घरको छत र झ्यालबाट वीरेन्द्र सैनिक अस्पतालपरिसर र चौर स्पष्ट देखिन्थ्यो ।
२०५८ जेठ १९ को त्यो दिन, बेलुकीको खाना खाइसकेर परिवारसहित टिभी हेरेर बसिरहेका थिए उनी । एक्कासि ‘साइरन’को आवाज आउन थाल्यो । अस्पताल भएकाले बिरामीहरु ल्याइरहने हुनाले त्यस्ता ‘साइरन’ अन्य समयमा पनि बजिरहन्थे । त्यसैले स्वाभाविक रुपमा त्यसलाई लिइरहेका थिए । तर ‘साइरन’ लगातार बजेको बज्यै गर्न थाल्यो । त्यसपछि उनको मनमा कता-कता चिसो पस्न थाल्यो । सरकार-माओवादी भिडन्तका समाचार अखबारका पानामा व्यापक छापिन थालिसकेको त्यो समयमा उनले सोचे, ‘सायद कतै त्यस्तै भिडन्त भएछ कि !’ भिडन्तपछि घाइते सेना वा प्रहरीलाई हेलिकोप्टरबाट वीरेन्द्र सैनिक अस्पतालमा ल्याइने गरेको उनले देख्ने गरेका थिए । टाढा वा काठमाडौँ आसपासकै कुनै स्थानमा त्यस्तो भिडन्त भएछ कि भन्ने सोचिरहेका थिए उनी ।रातको साढे १० बजेतिर उनको मोबाइल र घरको फोनमा घण्टीहरु बज्न थाले, ‘दरबारभित्र कुनै ठूलो घटना भएजस्तो छ ।’ त्यस क्रममा ‘दरबारमा माओवादीले आक्रमण गरेको’ भन्नेसम्मका कुरा पनि आए । त्यस्ता शङ्का, हल्ला आउन थालेपछि अब यसरी भएन भन्ने लाग्यो उनलाई । वास्तविकता के हो ? त्यो बुझ्न दरबारनिकट समाचारस्रोतहरुकहाँ फोन गर्न थाले । पहिल्यैदेखि दरबारका मानिसहरू कुरा चपाएर बोल्ने गरेको यथार्थसँग अनभिज्ञ थिएनन् उनी । ‘ए हो र, तपाईंले भनेपछि मात्र थाहा भयो’, उनीहरुले घटनाका बारेमा बेखबर भएको बताए पनि उनीहरुको बोली र शैलीबाट दरबारमा केही न केही भएको स्पष्ट सङ्केत बुझिरहेका थिए उनले ।
त्यसपछि तुरुन्त भीमसेनस्थानस्थित कामना प्रकाशनगृहमा फोन गरे । दरबारवरपर दुई जना संवाददातालाई खटाइदिए । मुख्यपृष्ठको समाचारस्थान खाली राख्न ‘स्टप द प्रेस’ को निर्देशन गरे । उनी त्यति बेलासम्म घरमै थिए ।
वीरेन्द्र सैनिक अस्पताल छाउनीनजिकै आ८नो घर भएकाले र त्यहाँ अस्वाभाविक गतिविधि बढ्दै गएकाले तुलनात्मक रुपमा अन्य सर्वसाधारणभन्दा बढी नै जानकार वा सचेत भइसकेका थिए उनी । यद्यपि अस्पष्टता बाँकी नै थियो । रातको सवा ११ बजेतिर दरबारमा गोली चलेको भन्नेसम्मको सूचना आउन थाल्यो । तर गोली बाहिरबाट चलेको कि भित्रैबाट, कसरी घटनाको यथार्थसम्म पुग्ने ?तत्कालीन युवराज दीपेन्द्रका स्वकीय सचिव सौजन्य सुल्प्या सानै बेलादेखिका पुष्करका गुरु थिए । घटनाका बारेमा बुझ्न उनको घरमा फोन गरे । ‘इमर्जेन्सी परेर राजदरबार जानुभएको एक घण्टाजति भयो’, सुल्प्याका परिवारले बताए । त्यसपछि अझ ‘कन्र्फम’ भयो । राजदरबार घटनाका बारेमा साङ्केतिक स्पष्टता पाएपछि उनको मोबाइलमा घण्टी बजाए । पुष्करको नम्बर देखेर उनले उठाए र आत्तिएको स्वरमा भने रे, ‘यस्तो बेलामा फोन गर्ने हो ?’ झर्किंदै फेरि भने रे, ‘पछि म आफैँ गरौँला ।’
पुष्करको अनुमान छ, पत्रकार भएकाले केही कुरा सोधिहाल्ला भनेर स्तब्ध अवस्थामा रहेका उनले त्यसो भनेका हुन सक्छन् । करिब रातको सवा १२ बजे उनी आफैँले पुष्करलाई फोन गरे । सानै बेलादेखिको आफ्नो विद्यार्थी, पत्रकार पनि हो, सूचनाको भोको पत्रकारलाई घटनाका बारेमा केही त भन्नैपर्छ भन्ने लागेर गुरुले त्यो मध्यरातमा फोन गरेका होलान्जस्तो लाग्छ पुष्करलाई । ‘किन फोन गरेको अघि ?’ गुरुको पहिलो वाक्य थियो ।
‘दरबारमा ठूलै घटना भएजस्तो छ, त्यसैका बारेमा बुझ्न सकिन्छ कि भनेर ।’
‘के सुनेका छौ तिमीले ?’ उनले प्रतिप्रश्न गरे ।विभिन्न सूचनास्रोतबाट थाहा पाएका अपुष्ट सूचना उनलाई बताए । राजपरिवारभित्रकै सदस्यमा केही अस्पष्टता प्रकट भई गोली चलेको भन्नेसम्म सुनेको बताए । राजपरिवारका सबै सदस्य र नजिकका केही आफन्तसमेतको निधन भइसकेको हल्ला छ भने ।
त्यसपछि पनि सूचना दिनेभन्दा पनि ‘को-को बिते’ भन्ने प्रश्न उनले गरे रे । राजपरिवारका सबै सदस्य र आफन्तहरुको नाम भने पुष्करले । ‘तिमीले सुनेको धेरै हदसम्म सत्य हो’, पुष्करकोे प्रश्नमै उनले उत्तर सुल्झाइदिए, अस्पष्टतालाई स्पष्टता दिए ।
पत्रकारलाई विस्तृत वृत्तान्त आवश्यक पर्छ भन्ने हुँदैन । थोरै शब्दबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ । उनीसँगको टेलिफोन संवादपछि ‘घटना भएको’ निश्चित भयो ।
त्यसपछि घरको छतमै गएर वीरेन्द्र सैनिक अस्पतालपरिसर हेर्न थाले । त्यहाँको चहलपहल असाध्यै तीव्र गतिमा बढिरहेको देखे । पालहरु टाँगिएका थिए र मानिसहरु स्तब्ध र एकसाथ हतारमा रहेको प्रस्ट अनुभव गर्न सकिन्थ्यो । त्यतिकैमा राजदरबार संवाद सचिवालयका तत्कालीन सचिव मोहनबहादुर पाण्डेको फोन आयो । पहिले-पहिलेजस्तै साधारण हिसाबले उनले घटनाका बारेमा कुरा गरे रे, ‘के छ पुष्कर ? के सुनेका छौ ?’ त्यति बेला रातको २ बजेको थियो सायद । भन्छन्, ‘पत्रकारलाई घटनाका बारेमा के-कस्तो जानकारी भयो होला भन्ने हिसाबबाट उनले मलाई फोन गरेका थिए होलान् ।’ आफूलाई थाहा भएका कुरा इमानदारीपूर्वक बताए पुष्करले । घटनाका बारेमा सुनेको र बुझेको कुरा बताएपछि उनले त्यसलाई नकार्न त नकारेनन् रे, तर प्रश्न गरेछन्, ‘भोलि अखबारमा के गर्ने विचार छ त ?’ पुष्करले उनलाई प्रत्युत्तरमा भने रे, ‘त्यो कुरा त आउनुपर्यो नि सचिवज्यू ।’‘नो, नेभर’, राजदरबारका संवादसचिवले भने रे, ‘राजदरबारमा दुर्भाग्यले यस्तो घटना हुन पुग्यो । यो घटनालाई भोलि अखबारले ‘कभर’ गर्यो भने नेपाली जनताले स्वीकार्नै सक्दैनन् । त्यसैले तपाईंले आ८नो व्यवसायलाई न्याय दिने नाममा घटनालाई सम्प्रेषण गर्दा जनतामा गलत ‘रियाक्सन’ उत्पन्न हुन सक्छ र देशमा अस्थिरता उत्पन्न हुन सक्छ ।’
उनले भनेजस्तै परिस्थिति थियो त्यति बेला । रुखबाट खसेको बाँदरजस्तै भइसकेका थिए घटनाका बारेमा केही मात्र थाहा पाएकाहरु पनि । राजपरिवारका सम्पूर्ण सदस्य सखाप भएको खबर भोलिपल्टको अखबारमा आउँदा अवस्था जेसुकै हुन सक्ने सम्भावना थियो । कुरा गर्दागर्दै फोनसम्पर्क टुट्यो । त्यसले उनलाई केही अस्पष्टताको बोध पनि गरायो, केहीबेर । तर उनको मनको ठूलो हिस्साले समाचार सम्प्रेषण गर्नैपर्छ भनिरहेको थियो । एकछिनपछि फेरि सचिव पाण्डेले फोन गरेर सोधे रे, ‘के विचार गर्नुभयो त ?’
उनले सीधै भनिदिए रे, ‘यो घटनाका बारेमा त हामीले लेख्नैपर्छ । मैले ‘स्टप द प्रेस’ गरेको छु र घटनाका बारेमा समाचार भोलिको अखबारमा छापिन्छ ।’ पाण्डेले फेरि पनि सम्झाउने प्रयास गरे रे, ‘मैले अघि पनि तपाईंलाई भनेकै हो, त्यसैले यो समाचार भोलि दिने काम छैन ।’
तर पुष्कर त्यस्तो घटनालाई कसरी छोप्न सक्थे ? त्यो व्यावसायिक पत्रकारिताभन्दा परको कुरा थियो । पुष्करले उनको आग्रहलाई ठाडै अस्वीकार गरे र कडाइका साथ भने रे, ‘म यो घटनाको समाचार त दिन्छु नै । तर जनताको भावनाको विरुद्धमा नगई, उनीहरु उत्तेजित नहुने किसिमले मर्यादित रुपमा समाचार छाप्ने विचार गरेको छु सचिवज्यू ।’ पुष्करको अडानसँग सायद उनले हार खाए र रिसाएर फोन राखे रे !
त्यसपछि ‘नेपाल समाचारपत्र’का सम्पादक कपिल का८लेलाई उनले फोन गरेछन् । काफ्लेको घर चोभारमा थियो । एकछिनपछि काफ्लेले उनलाई फोन गरेर भने रे, ‘सचिवज्यूसँग कुरा भएको रहेछ, सरले समाचार छाप्ने वा नछाप्नेबारेमा के सोच्नुभएको छ ?’ उनीहरुबीच कुराकानी भइरहँदा सीएनएन, बीबीसीलगायत विदेशी टेलिभिजनमा नेपालको राजदरबार हत्याकाण्डका बारेमा समाचार आउन थालिसकेका थिए । पूरै यथार्थ विवरण थाहा नभए पनि राजदरबारभित्रको घटनाको परिणाम थाहा भइसकेको थियो ।‘देशमा त्यति ठूलो घटना हुँदा दुई अक्षर लेखेर भए पनि पाठकलाई सूचना नदिने हो भने पत्रकारिता छाडेर जीरा-मरिचको पसल थापे भइहाल्यो नि, किन पत्रकारिता गर्ने ?’, उनले काफ्लेलाई त्यसो भने रे । घटनाको गम्भीरता बुझ्न र त्यहीअनुरुप गर्नका लागि आफ्नो प्रधानसम्पादकलाई दबाब वा आग्रहका लागि संवाद सचिवालयका सचिवले राति फोन गरेर का८लेलाई भनेका रहेछन् । उनको लवजबाट पुष्करले अन्दाज लगाए ।
पुष्करले काफ्लेलाई भने रे, ‘तपाईं चोभारमा हुनुहुन्छ, त्यति परबाट प्रकाशनगृह आउन पनि सजिलो छैन । कतिखेर के हुने हो, थाहा छैन, अवस्था गम्भीर हुँदै गइरहेको छ । त्यसैले तपाईं आउनु पर्दैन, म अफिस जान्छु र समाचार छाप्छु ।’ त्यति बेला पुष्करको घरवरपर सुरक्षासंयन्त्र सक्रिय भइसकेको थियो । सैनिक क्षेत्र भएकाले पनि छाउनी र आसपासका क्षेत्रमा सुरक्षासक्रियता बढी नै भएको होला ।
त्यसपछि रातको करिब ३ बजे हातमा सानो टर्चलाइट लिएर छाउनी ब्यारेकको ठीक पछाडि रहेको घरबाट उनी अफिसतिर लागे । विस्तारै गल्लीगल्ली हिँडेर भीमसेनस्थानमा रहेको कामना प्रकाशनगृह पुगे । जानुअघि घरका सदस्यहरुले नजान भन्दै थिए । चारैतिर सेना तैनाथ भइसकेको देखेका परिवारका सदस्यहरु अत्तालिएर उनलाई रोक्न खोज्दै थिए ।
सेना बन्दुक लिएर हिँड्छ भने पत्रकार कलम लिएर । यस्तै सोच्दै उनी प्रकाशनगृहतिर लागे । धन्न बाटामा केही भएन, उनी अफिस पुगे । ‘स्टप द प्रेस’लाई पूर्णता दिनु थियो ।घटनाको चरित्र र प्रवृत्ति रातको भयावह अन्धकारजस्तै डरलाग्दो थियो । त्यो घटनालाई छाप्नु थियो तर जनतालाई नियन्त्रणबाहिरको अवस्थामा पुर्याउन पनि नहुने हिसाबले समाचारशिल्प प्रस्तुत गर्नुपर्ने चुनौती थियो । भन्छन्, ‘निधन भइसकेका राजपरिवारका सबै सदस्यको फोटो छाप्ने तर मृत्यु भयो कतै पनि नभन्ने । त्यति बेला नाइट डेस्क इन्चार्ज राजेश वज्राचार्यसहित हामीले त्यो रणनीति लियौँ ।’ सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने शैलीबाट समाचारको अन्तिम तयारी भयो ।
राजदरबारभित्र ठूलो क्षति भएको स्पष्ट शब्दमा भन्ने निधो त भयो तर त्यतिले मात्र घटनाको स्पष्टता प्रस्तुत गर्न सक्दैनथ्यो । त्यसैले नेपालको संविधानमा राजाको मृत्युपछि उत्तराधिकारी छान्ने प्रावधान के
छ ? त्यसलाई बक्स बनाएर छाप्ने निर्णय भयो । भन्छन्, ‘त्यसबाट राजाको मृत्यु भएको स्पष्ट हुने र कानुनी हिसाबबाट पनि हामीलाई कारबाही गर्न नसकिने शैलीबाट घटनालाई ‘कभर’ गर्यौँ । त्यसका लागि प्रकाशनगृहका सहकर्मी सबै मिलेर ३-४ पटकसम्म शब्दहरुसँग खेल्यौँ ।’ सकेसम्म नरम भाषाको प्रयोग तर राजदरबारमा ठूलै घटना भएको अनुभव हुने किसिमले समाचार तयार भयो । पत्रिका प्रकाशित भयो ।२०५८ जेठ १९ रातिको त्रासद घटनाको भोलिपल्ट ‘नेपाल समाचारपत्र’ (पुष्करका अनुसार) काठमाडौँमा मात्र डेढ लाख प्रति बिक्री भयो भने विराटनगरमा ५० हजार प्रति । उनी त्यो दिन सम्झन्छन्, ‘अघिल्लो दिन कागज सीमित भएकाले हामीले त्यत्तिकैमा चित्त बुझाउनुपर्यो । नत्र त्यो दिन १० लाख प्रति पत्रिका पनि बिक्री हुन सक्थ्यो किनभने त्यो दिन विहान अरु पत्रिकाले घटनालाई समाचार नै बनाएनन् । स्पेसटाइम दैनिकले छापिएकामध्ये पनि केही प्रतिमा मात्र सानो स्थान राजदरबारको घटनाका बारेमा दिएको थियो । ‘कान्तिपुर’ दैनिकले साँझमा निकालेर यसबारे लेखेपनि त्यसबाहेक अन्य पत्रिका मौन थिए ।’त्यो दिन काठमाडौँका प्रत्येक मान्छेको हातमा ‘नेपाल समाचारपत्र’ थियो । सीएनएन, बीबीसीलगायत अन्तर्राष्ट्रिय च्यानलले प्रसारण गरेका दृश्यमा सडकमा उभिएका मानिसहरुका हातमा ‘नेपाल समाचारपत्र’ नै देखिन्थ्यो । टाइम, न्युजविकजस्ता अन्तर्राष्ट्रिय पत्रिकाहरुले छापेका राजदरबारसम्बन्धी समाचारसँगैका तस्वीरमा ‘नेपाल समाचारपत्र’ पढिरहेका पाठक देखिन्थे ।
राजदरबारभित्रको त्यो त्रासद हत्याकाण्डपछि त्यतिबेला ‘नेपाल समाचारपत्र’ले जुन रुपमा समाचार सम्प्रेषण गर्यो, त्यसले उनलाई गौरवबोध गराउँछ । घटनाको भयावह वातावरणकै बीचमा समाचार नछाप्न धम्की वा दबाब आउँदाआउँदै पनि जनताको सुसूचित हुने अधिकारलाई उनले उपेक्षा गरेनन् । भन्छन्, ‘भोलि जे पनि हुन सक्छ भन्ने भयावह सम्भावनाबीच पनि व्यावसायिक पत्रकारिता गर्न पछि परिनँ । त्यो आफैँमा मेरो जीवनको खतरनाक तर लोभलाग्दो निर्णय थियो ।’
पुष्करका अनुसार राजदरबार हत्याकाण्डका बारेमा समाचार छाप्नु असाध्यै डरलाग्दो काम थियो, त्यो रात । तर उनले त्यस्तो सोचेका भए अँध्यारो रातमा टर्चलाइट बोकेर सुनसान साँघुरा गल्ली छिचोल्दै उनी अफिस पुग्न सक्ने नै थिएनन् । बीचैबाट उनका पाइला फर्किन सक्थे । भन्छन्, ‘मैले समाचार नछाप्नेतिर सोच्दै सोचिनँ । बरु अफिस पुगेर एकपटक फेरि आफ्ना समाचारस्रोतहरुकहाँ फोन गर्छु र समाचारलाई अझ पूर्णता दिन्छु भन्नेतिर मात्र लागेँ ।’ ‘दिमागमा भएको र खल्तीमा रहेको सूचनालाई पाएसम्म अझ पूर्ण बनाउँछु, नभए त्यसैलाई मिलाएर छाप्छु’ भन्ने सोच्दै उनी अफिसतिर गएका थिए, एक्लै । तर ‘डेडलाइन’ त सकिइसकेको थियो । उनी पागलजस्तै अफिसतिर दौडिरहेका थिए, कतिखेर पुगेर समाचार ‘फाइनल’ गरेर छाप्न पठाउँला भन्ने मात्र उनको सोचाइ रहृयो । ‘देशमा ठूलो घटना भएको छ र जनतालाई कुनै न कुनै रुपमा सुसूचित गराउँछु’ भन्ने एउटै सङ्कल्पका साथ राजदरबार हत्याकाण्डको त्यो रातैभरि उनी त्यसैमा लागिरहे ।
त्यसै गरी अर्को एक समयमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निधन भएपछि पनि भोलिपल्टका अखबारहरुमा समाचार आएको थिएन । आएको थियो त ‘नेपाल समाचारपत्र’मा मात्रै । रातको२:४५ बजे मनमोहन अधिकारीको निधन भएको थियो तर बिहान निस्कने ‘नेपाल समाचारपत्र’ले विस्तृत सामग्रीका साथ निधनको त्यो घटनालाई
‘कभर’ गरेको थियो । भन्छन्, ‘त्यो कसरी भयो भने पत्रकारितालाई हामीले अल्छीहरुको व्यवसायका रुपमा लिएनौँ । पत्रकारको धर्म र कर्तव्य भनेको सूचनालाई छिटो सङ्कलन गरेर त्यसलाई छिटोभन्दा छिटो जनतासम्म पुर्याउनु हो । अधिकारीको निधन हुँदा पौने ३ भइसकेको थियो । तर मैले प्रमुख समाचारका लागि आफैँ कम्प्युटर अपरेटर भएर सामग्री तयार गरेको थिएँ ।’ सबै कम्प्युटर अपरेटर घर गइसकेका थिए ।
लामो समयदेखि अधिकारी बिरामी थिए र उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएका थिए । त्यसैले पुरानो नहुने २-३ वटा समाचार उनका बारेमा पहिल्यै बनाइसकिएको थियो । आवश्यक थियो त उनको मृत्युको निश्चित समयको सूचना मात्र । त्यसका लागि दुई जना संवाददातालाई अस्पताल पठाइएको थियो र फोनबाट समाचार पठाउन भनिएको थियो ।
भन्छन्, ‘पछि त कम्प्युटर अपरेटर पनि आइपुगे तर त्यति बेलासम्म ९० प्रतिशत सामग्री मैले टाइप गरिसकेको थिएँ ।’ त्यस्तै माओवादीले पहिलो पटक युद्धविराम गरेको विषयलाई पनि ‘नेपाल समाचारपत्र’ले नै ‘ब्रेक’ गरेको हो । कसरी युद्धविराम भयो भन्ने विषयमा दरबारसँगैको समझदारीमा युद्धविराम भएको भनेर छापिएको त्यो समाचारले एक खालको हङ्गामा नै सिर्जना गरेको थियो ।
भन्छन्, ‘राजदरबार हत्याकाण्डपछि पनि ‘नेपाल समाचारपत्र’ले जुन किसिमले संयमित र ताजा सूचनाहरु सङ्कलन गरेर प्रस्तुत गर्यो, त्यसलाई नेपाली पत्रकारितामा उदाहरणकै रुपमा लिइएका प्रसङ्ग पाउन सकिन्छ । आदित्यमान श्रेष्ठको अङ्ग्रेजी भाषामा लेखिएको दरबार हत्याकाण्डसम्बन्धी पुस्तक ‘द डेडफुल नाइट’ मा ९० प्रतिशत फोटा ‘नेपाल समाचारपत्र’बाट साभार छन् । त्यस्तै अन्य पुस्तक र पत्रिकामा ‘नेपाल समाचारपत्र’लाई उद्धृत गरिएको छ । त्यसबाट के साबित हुन्छ भने हामीले हत्याकाण्डलाई निर्भीक र इमानदारीपूर्वक पस्केका थियौँ । त्यस क्रममा विदेशका थुप्रै पत्रकार मसँग राजदरबार हत्याकाण्डका बारेमा बुझ्न आएका थिए ।’राजदरबार हत्याकाण्डको भोलिपल्टको प्रसङ्गमा पुष्करको निष्कर्ष छ, ‘राजदरबार हत्याकाण्डका बारेमा सञ्चारमाध्यमहरु बेखबर भएर घटनाको भोलिपल्ट बिहान अखबारहरु चुप लागेका होइनन्, उनीहरुले खतरा मोल्न चाहेनन् । तर ‘नेपाल समाचारपत्र’ले जोखिमलाई मोलेर पनि व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्यो ।’ त्यस्तो किन भयो त ? भन्छन्, ‘पैसाको पोको बोकेर लगानी गर्ने प्रकाशक मात्र भइदिएको भए सायद घटनाको समाचार छाप्ने हिम्मत ममा पनि आउँदैनथ्यो होला र पत्रकारिताको धर्म निर्वाह गर्नेभन्दा पहिले आर्थिक र अन्य प्राविधिक विषयका बारेमा सोच्थेँ होला । तर लगानीकर्ता मात्र नभएर मेरो रगत-रगतमा पत्रकारिता बगेको हुनाले मैले लगानीलाई भन्दा पाठकलाई बढी माया गर्न सकेँ । अन्य पत्रिकाले त्यस्तो आँट नगरेकै हुन्जस्तो लाग्छ । अर्कातर्फ पत्रकारका रुपमा जागिरे मात्र भएको भए पनि किन झन्झट लिइरहने भन्ने सोचाइ पनि आउन सक्थ्यो ।’ फाइदाकै कुरा हो, उनी प्रकाशक पनि थिए र सम्पादक पनि ।
राजदरबार हत्याकाण्डको पहिलो बिहान ‘नेपाल समाचारपत्र’ले बिक्रीका हिसाबले पनि उच्चता प्राप्त गर्यो । उनीहरुको सफलता के रहृयो भने अघिल्लो रात घटनाका बारेमा नछाप भनेर निर्देशन दिने दरबारका मान्छेहरुको अखबार निक्लेपछि एक कल टेलिफोन पनि आएन । भन्छन्, ‘त्यसो हुनुमा हामीले कसले किन हत्या गर्यो भनेर लेखेका थिएनौँ तर कलात्मक रुपमा सही समाचारलाई प्रस्तुत गर्यौँ, जसले गर्दा समाचार नछाप भन्नेहरुले पनि पछि केही भन्न सकेनन् ।’
त्यस दिन बिहानदेखि बेलुकीसम्म पुष्कर र समूहले यति धेरै बधाई पाए कि त्यसलाई थेग्नै सकिरहेका थिएनन् उनीहरु । अकल्पनीय घटना भएको थियो, जनता दुःखी थिए, देश पूरै स्तब्ध थियो । भन्छन्, ‘तर पाठकलाई ‘नेपाल समाचारपत्र’ले जसरी समाचार छापेर सेवा गर्यो, त्यसबापत उनीहरुले उच्च मूल्याङ्कन गरे र गुनगान गाए ।’ संवेदनाको समयमा ‘नेपाल समाचारपत्र’ भने बधाईमय भयो । त्यो दिन उनले पत्रकारिताजीवनकै ठूलो उपलब्धि प्राप्त गरे, जुन दिन देशले आफ्ना राजा र राजदरबारका सम्पूर्ण सदस्य गुमाएको थियो । राजाको दुर्भाग्यपूर्ण अन्त्यको दुःखले सारा नेपालीलाई जस्तै उनलाई पनि पीडित बनाएको थियो । तर त्यस दिन पत्रकारिताको ‘करिअर’मा उनले ठूलो आत्मसन्तुष्टि पनि पाइरहेका थिए । पत्रकारले आफूलाई सक्षम साबित गर्नुपर्ने पनि त्यस्तै सङ्कटकै घडीमा हो । त्यसपछि पत्रकारका रुपमा उनको चर्चा अझ चुलियो ।
राजदरबार हत्याकाण्डपछि ज्ञानेन्द्र राजा भए । राजदरबार हत्याकाण्डको प्रसङ्ग वा घाउ सेलाउन नपाउँदै राजाबाट ‘दर्शनभेट’का लागि उनलाई समय दिइयो । यद्यपि राजाबाट दर्शनभेट पाएको पहिलो पत्रकारका रुपमा चर्चा पनि चल्यो तर त्यो सही थिएन । त्यसअघि पनि राजाबाट अन्य केही पत्रकारसँग भेटघाट भइसकेको थियो । तर राजाको सूचना वा आवाज बाहिर ल्याउने किसिमले भएको पहिलो ‘दर्शनभेट’ भने पक्कै थियो त्यो ।
त्यति बेला अवस्था सेलाइसकेको थिएन र राजा ज्ञानेन्द्रप्रति नै विभिन्न शङ्का-उपशङ्का भइरहेको परिस्थितिमा एक जना पत्रकारको हिसाबले त्यस विषयमा घुमाएरै भए पनि केही कुरा गरे उनले । भन्छन्, ‘दर्शनभेटका क्रममा राजाले मसँग खुलेर कुरा गरे । त्यसबाट राजाले एक जना व्यावसायिक र निडर पत्रकारका रुपमा मलाई विश्वास गरेका हुन् भन्ने लाग्यो । यदि यो मान्छेलाई आफ्नो ‘फिलिङ’ भन्यो भने हिम्मतका साथ जस्ताको तस्तै छाप्न सक्छ र जनतासम्म पुर्याउन सक्छ भन्ने लागेर राजाले मलाई बोलाएका हुन सक्छन् । मलाई त्यस्तो लागेको थियो त्यति बेला ।’आफूलाई भन्दा पहिले पत्रकार मनरञ्जन जोशी, पी खरेललगायतलाई राजाबाट दर्शनभेट दिइएको उनले थाहा पाएका थिए । उनले दर्शनभेट गरेपछि त ध्रुवहरि अधिकारी, पुष्प प्रधान, जसुदा प्रधान, हरि लम्साललगायतले पनि दर्शनभेट गरे । भन्छन्, ‘तर मैले राजासँग दर्शनभेट गरेपछि जसरी कुराकानीलाई छापामार्फत सार्वजनिक गरेँ, त्यसपछि अरुले पनि लेखे । मैले लेख्नुअघि कसैले पनि राजासँगको कुराकानीलाई बाहिर ल्याएका थिएनन् । राजदरबार हत्याकाण्डको विवरणलाई जसरी हामीले मर्यादित भएर सम्प्रेषण गर्यौँ, त्यसबाट राजा प्रभावित भएका हुन सक्छन् । त्यही प्रभावस्वरुप आफ्ना कुरा ममार्फत बाहिर ल्याउन राजदरबारमा बोलाइएको हो कि ! राजासँगको दर्शनभेटका क्रममा भएका कुराकानीलाई मैले अखबारमा प्रकाशित गरेँ, त्यति बेलाको त्यो लेखले भनेका कुराहरु कालान्तरमा सत्य साबित हुँदै गए ।’
‘पुष्करलाल श्रेष्ठ राजावादी भएकाले उनलाई ‘दर्शनभेट’का लागि बोलाइएको र राजाबाट आफ्ना कुरा सार्वजनिक गरिएको’ भन्नेसम्मका हल्ला र आरोप छन् । त्यो सन्दर्भ उप्काउँदै पुष्कर भन्छन्, ‘राजाका कुरालाई निडर भएर व्यावसायिक रुपमा सम्प्रेषण गर्यो भन्नेतिर नगएर धेरैले यो सोचे कि राजाको नजिक भएकाले सबैभन्दा पहिले यसलाई राजाले भेटेर आफ्नो कुरा बाहिर ल्याए । यो सरासर गलत हो । जबकि २०६१ माघ १९ मा राजाबाट कार्यकारी अधिकार आफ्नो हातमा लिइएको घोषणापछि ‘नेपाल समाचारपत्र’ नै एउटा यस्तो पहिलो अखबार हो, जसले विशेष सम्पादकीय लेखेर राजालाई सचेत गराएको थियो । पछिल्लो समयमा राजाको सशक्त विरोध गर्ने पत्रिकाहरु त्यति बेला चुप लागेर बसेका थिए । उनीहरु नतमस्तक थिए अथवा भनौँ स्तब्ध थिए । के गर्ने ? के लेख्ने ? भन्ने कुरामै अन्योल अनुभव गर्दै थिए । त्यस्तो अवस्थामा जनताको अधिकार जनतालाई नफर्काए त्यसको परिणामले राजालाई राम्रो गर्दैन भनेर सचेत गराउने पत्रिका ‘नेपाल समाचारपत्र’ नै हो । माघ २० गते त्यस्तो लेख्ने अरु कुन पत्रिका छ ? अखबार भनेको त जीवित दस्तावेज हो अनि कसरी राजाको मान्छे हुन्छ पुष्करलाल ?’
राजा ज्ञानेन्द्रसँग उनको त्यो पहिलो ‘दर्शनभेट’ थियो । भन्छन्, ‘त्यस क्रममा राजनीतिक पार्टीका क्रियाकलापप्रति राजाबाट वितृष्णा व्यक्त भयो । राजनीतिक पार्टीले जे गरे पनि मूकदर्शक भएर बस्नुपर्ने अवस्था रहेको तर ‘आफू दाजुजस्तो मूकदर्शक भएर नबस्ने’ कुरा राजाबाट व्यक्त भयो ।’ छापिएपछि त्यो कुराले असाध्यैचर्चा पनि पायो ।
सचिवस्तरसम्म राजासँग हुने कुरा नलेख्ने सर्तमा उनी दर्शनभेटका लागि गएका थिए । तर दर्शनभेटका क्रममा राजाबाट आएका ‘बोल्ड’ कुरा सुनिसकेपछि उनीभित्र ‘पत्रकारिता’ जाग्यो । ‘म यो कुरालाई सुनेर दिमागमा मात्र राख्न सक्दिनँ, यस्तो गरेँ भने विस्फोट हुन्छ’, यस्तै सोच्दै थिए त्यति बेला । अनि राजासँग कुराकानी भइरहँदा कूटनीतिक हिसाबले राजाले बोल्दाबोल्दै उनले सोधे रे, ‘सरकारले बोलिबक्सने अनि मैले मात्र सुनेर केही अर्थ हुँदैनजस्तो लाग्यो । सरकारको ‘फिलिङ’ जनतासम्म पुर्याउँदा राम्रो सन्देश जान्छ कि ?’ राजाले त्यसमा सहमति दिए रे ! त्यसपछि पनि घुमाउरो पाराले प्रश्न गरे उनले । पछिल्लो पटक राजाबाट स्पष्टता आयो रे, ‘लेख्नकै लागि त भनेको नि, मलाई थाहा छैन ? म कोसँग कुरा गरिरहेको छु भनेर ?’
राजाको त्यस्तो कुरा सुनेपछि आत्मविश्वास जाग्यो उनमा, ‘म लेख्न सक्छु । राजदरबारका सचिवहरुले नलेख भने पनि म लेख्छु ।’ सूचना लुकाउने संस्कार राजदरबारभित्र पहिलेदेखि नै थियो । त्यसैको पछिल्लो व्यवहार उनीप्रति पनि भयो । दर्शनभेटपछि पनि उनीहरुबाट नलेख्न निर्देशन थियो । राजदरबारबाट फर्केर आउँदै गर्दा मनमा नानाथरी कुरा खेले, ‘दरबार हत्याकाण्डको कुरा सेलाइसकेको छैन, मैले लेखेका कुराले सारा जनता दरबारतिर खनिन पनि सक्छन्, राजनीतिक दलहरु खनिन सक्छन् । राजाबाट ‘बोल्ड’ कुरा आएको छ । त्यो कुरालाई नरम बनाउँदा राजाको भावना सम्प्रेषित नहुन सक्छ । जस्ताको तस्तै लेखूँ, भोलि परिणाम कस्तो होला ?’
भोक, निद्रा सबै हराउन थाल्यो । श्रीमती राजेश्वरीले सोध्थिन् रे ‘निद्रा परेन ? ‘सुगर’ बढ्यो कि ? ‘प्रेसर’ ठीक छैन ? अफिसको चिन्ता भयो कि ?’ उनलाई पुष्करले केही भनेनन् । दर्शनभेटको २-३ दिनपछि लेख्नैपर्छ भन्ने निर्णय गरे र रातको २ बजे ओछ्यानबाट उठेर घरको छतमा गए ।
राजासँगको दर्शनभेटका क्रममा राजाबाट गरिएको व्यवहारले उनीभित्र एकखालको आत्मविश्वास जन्मेको थियो कि भोलि दरबार प्रशासनले आफूमाथि कारबाही गर्ने भयो भने पनि राजाबाटै बचावट हुन्छ, यद्यपि सधैँ सीधै राजासँग उनको भेट सम्भव थिएन । मार्फत त दरबार प्रशासन नै थियो । भर्याङ उक्लँदै गर्दा उनमा त्यस्तो सोचाइ आइरहृयो ।छतमा पुगेपछि १५ मिनेटजति स्वयम्भू चैत्यतिर फर्केर दुईटै हात टाउकोमा राखेर सोचे, ‘दरबार हत्याकाण्डको समाचार त रोकिनँ भने राजासँगको दर्शनभेटमा भएका कुराकानीलाई पनि बाहिर ल्याउँछु । त्यसो गर्दा राजा, दरबार, राजनीतिक दल र जनता जसबाट प्रहार भए नि खप्छु ।’ उनको दिमागमा अर्को कुरा पनि खेलिरहेको थियो, ‘प्रजातन्त्रका नाममा राजनीतिक दलहरुले खेलबाड त गरेकै छन्, त्यसैको सेरोफेरोमा माओवादी समस्या बढेकै हो, जुन राजालाई मन परिरहेको छैन र प्रजातन्त्र पुनःस्थापना गर्न २०४६ मा मैले पनि केही भूमिका निर्वाह गरेको छु । यस्तै भयो भने प्रजातन्त्र जान सक्छ र त्यो मेरा लागि पनि दुर्भाग्य हो । त्यसैले राजाको कुरालाई बाहिर ल्याइदिने हो भने त्यसले राजनीतिक दलहरुलाई पनि सचेत गराउँछ । दाजु वीरेन्द्र जस्तो नभएर राजाले केही कदम चाल्न सक्ने सङ्केत दिँदा त्यो राजनीतिक दलहरुका लागि पनि चेतना जगाउन सक्ने राम्रो काम हुन सक्छ । दलहरु सचेत भए भने त्यो देशकै लागि योगदान पनि हो । त्यसैले पनि मैले लेख्नैपर्छ । मेरो नियत खराब होइन, राजाको वकालत गर्न लागेको पनि होइन ।’ प्रजातन्त्रको हितकै लागि पनि राजासँग भएका कुराकानीलाई बाहिर ल्याउनुपर्छ भन्ने चेतना बोल्यो, १५ मिनेटको सोचपछि ।काठमाडौँ सुतिरहेका बेला स्वयम्भू, भगवानपाउनजिकैको घरको अग्लो छतमा बसेर ‘दर्शनभेट’का क्रममा राजाबाट व्यक्त ‘बोल्ड’ भनाइहरुलाई जस्ताकोे तस्तै लेखे उनले । अखबारमा त्यो छापिनेबित्तिकै नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई भेट्न बोलाए । तत्कालीन एमाले महासचिव माधव नेपाल र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बोलाए । उनीहरुले पुष्करलाई बोलाउनु उनको लेखको सार्थकता थियो । कम्तीमा मुलुकका शीर्ष नेताहरुमा जिज्ञासा अनि तरङ्ग त उत्पन्न गरायो । उनीहरु त्यस दिन संवेदनशील भएका थिए रे । तर व्यवहारमा त्यो संवेदनशीलता उनीहरुले देखाउन सकेनन् । पहिलेका राजाजस्तो चुप लागेर बस्दैनन् भन्ने बुझेर राजाप्रति सशङ्कित भएर व्यावसायिक रुपमा प्रजातन्त्रलाई उपभोग गरेको भए उनीहरु सत्ताबाट सडकमा आउनुपर्दैनथ्यो कि ? भन्छन्, ‘लेखमार्फत मैले त बेलैमा सचेत गराएकै हुँ ।’ यस लेखलाई देशभरका सयौं प्रमुख पत्रिकाहरुले पछि साभार गरेर प्रकाशित गरेका थिए ।///////////
अशोक सिलवाल
by onlinekhabar.com
0 comments