नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपतिले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलबाट प्रधानमन्त्री तोक्नु पर्ने बताउनु भएको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले नवौं पटकसम्म म्याद दिँदा पनि निकास आउन नसकेपछि अब राष्ट्रपतिले नै विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सुझावको आधारमा प्रधानमन्त्री तोक्नुपर्ने उहाँको भनाई थियो । नेकपा एमाले अछामको सातौं जिल्ला अधिवेशन उद्घाटनको लागि अछाम पुग्नु भएका महासचिव पोखरेलले पे्रस चौतारी अछामले गरेको पत्रकार सम्मेलनमा सहमतीको रटान मात्र लगाउनुभन्दा केही त्यागसमेत गरेर अहिलेको राजनीतिक सङ्कट समाधान गर्नुपर्ने बताउनुभयो । संविधान र कानूनमा भएका अड्चन हटाई ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै उहाँले त्यसका लागि संबैधानिक, राजनीतिक र नैतिक आधार गुमाईसकेको अहिलेको सरकार हटाई सहमतिय सरकार गठन गनुपर्नेमा जोड दिनुभयो । पहिले काङ्ग्रेस सभापति सुशील कोईरालालाई सहमतीय सरकारको नेतृत्व दिन तयार भएको एकीकृत माओवादी अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा गरीरहेकोले यो सत्ता लम्ब्याउने बहाना भएको पोखरेलले टिप्पणी गर्नुभयो ।
आज बिहान धादिङको ज्यामरुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । धादिङको आरुघाटबाट काठमाडौंतर्फ आउंदै गरेको ना २ ख ४९८५ नम्बरको बस आज बिहान धादिङबेसी–आरुघाट सडकखण्डको ज्यामरुङ सात भकारे नजिकै पल्टदा ५ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय धादिङको अनुसार २ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल र एक जनाको थप उपचारको लागि काठमाण्डौ लैजाँँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा धादिङ बुढाथुम ७ सातका २० वर्षिय लक्ष्मण दाहाल र सल्यानटार ८ देविथानका आठ वर्षिय रुपेश श्रेष्ठ रहेका छन् । अरुको पहिचान खुलेको छैन । बस सडकवाट अन्दाजी ५० मिटर तल खसेको छ । चालकले गाडी सहयोगी (खलासी) लाई चलाउन दिएका कारण दुर्घटना भएको त्यही गाडीका यात्रु उमेश कुमालले बताउनुभयो । करिब ५५ जना यात्रु बोकेर वस काठमाडौंका लागि छुटेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ३२ जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ भने सामान्य घाइते भएको १३ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरेहेको छ ।



