आज माघ २ गते, राष्ट्रिय भुकम्प सुरक्षा दिवस देशभर मनाईदैछ । विक्रम सम्बत १९९० साल माघ २ गते नेपालमा महाभुकम्प गएर जनधनको ठूलो विनास भएको संझना गर्दै हरेक बर्ष भुकम्प सम्बन्धी जनचेतना पैmेलाउन यो दिवस मनाईन्छ ।
यस अबसरमा नेपाल सरकार र विभिन्न संघसंस्थाहरुले आज दिउंसो राष्ट्रब्यापी भुकम्पीय पुर्वाभ्यासमा सहभागी हुन सर्वसाधारणलाई आब्हान गरेका छन् । भुकम्प आएमा के गर्ने भन्ने सिकाउन यो पुर्वाभ्यास गराउन लागिएको हो । नेपाल भुकम्पको उच्च जोखिममा रहेको देश भएकाले ठूला भुकम्प गएमा धेरै धनजनको क्षति हुने विज्ञहरुले बताएका छन् ।
१२ वर्षपहिले भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालले गरेको एक अध्ययनले पनि ९० सालकै तीव्रताको भूकम्प आएमा राजधानीमा कम्तीमा ४० हजार मानिसको मृत्यु हुने देखाएको थियो । उपत्यकामा एक लाखभन्दा बढी घाइते हुने र सात लाख घरबारविहीन बन्ने अध्ययनले देखाएको थियो । समाजका अनुसार उपत्यकाका ६० प्रतिशत घर नष्ट हुनेछन्, विद्युत आपूर्ति पूरै अवरुद्ध हुनेछ, सडक कंक्रिटले ढाकिने छन्, उद्धारमा चरम कठिनाइ आउने छ ।
यो अध्ययन सार्वजनिक हुँदा काठमाडौं उपत्यकाको जनसंख्या करिव १५ लाखको हाराहारीमा थियो । तर, अहिले त्यो संख्या बढेर २५ लाख १७ हजार २३ पुगेको छ । काठमाडौं महानगरपालिका सहरी विकास विभागका अनुसार, महानगरभित्र वाषिर्क ४ हजार घर बनिरहेका छन् । यसरी बनेकामध्ये ६० प्रतिशतभन्दा बढी घर भूकम्पीय जोखिम धान्न सक्ने क्षमतायुक्त छैनन् ।
भूकम्पीय जोखिम प्रविधिको क्षेत्रमा काम गररिरहेका प्राविधिकहरु, राजधानीका ८५ प्रतिशत घर जोखिममा रहेको बताउँछन् । राजधानीमा बनेका आधुनिक घरसमेत ५० प्रतिशत जोखिममै छन् । धनाढ्यका घरहरु पनि भूकम्पीय जोखिमबाट हेर्दा ५० प्रतिशत मात्र सुरक्षित रहेको पाइएको छ । भवनको डिजाइन तथा निर्माणमा भवनसंहिता नमानिएकाले यस्तो जोखिम देखिएको हो ।