छालाको हेरचाहः
onlinekhabar
चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।
जाडोमा घाममा बस्ने तथा आगो या हिटर ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमा पानी लगायतका झोलिलो कुरा बढी सेवन गर्नुपर्छ । तर चिसो होइन, तातोमा जोड दिनुपर्छ । पानी पनि तताएर पिउनुपर्छ । खानेकुरा पनि तातो नै खानुपर्छ । तातो झोल र प्रोटिनयुक्त खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
योबेला चुरोट, बिडी, चिया कफी र मदिरा बढी सेवन गर्ने चलन छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यसले क्षणिक रुपमा तातो भएको जस्तो लागे पनि त्यस्तो हुँदैन । स्वास्थ्यलाई नकारात्मक असर गर्छ । चिया र कफीको मात्रा कम हुनु राम्रो हुन्छ । जाँडरक्सी र चुरोटबिडी त सेवन नै गर्न हुँदैन ।
आगो र हिटरको प्रयोग कमः
जाडोमा आगो ताप्नु राम्रो भए पनि हिटरले नकारात्मक असर पुर्याउन सक्छ । झ्यालढोका थुनेर हिटर बाल्न हुँदैन । एकछिन कोठा तताएर निभाउनुपर्छ । नत्र कार्बन मोनोअक्साईड ग्यासले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै मान्छेको ज्यानै जाने सम्भावना समेत हुन्छ । आगो पनि धेरै ताप्न हुँदैन । घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ ।
चिसो र तातोको सन्तुलनः
चिसोबाट एकैपटक धेरै तातो पार्दा शरीरलाई बेफाइदा हुन्छ । त्यसैले धेरै चिसो भएको छ भने एकैपटक आगोको छेउमा जान हुँदैन । शरीरलाई बिस्तारै तातो बनाउनुपर्छ । तातोपानीले नुहाउनु राम्रो भए पनि पानीलाई शरीरले सहनसक्ने मात्र बनाउँदा राम्रो हुन्छ । अर्थात मन तातोभन्दा पनि कम तातो भएको पानी उपयुक्त हुन्छ ।
रुघाखोकीलाई औषधि हैनः
सामान्य रुघाखोकीका लागि औषधिभन्दा घरेलु उपचार नै राम्रो हुन्छ । तातोपानी, पानीको बाफ र झोल खानेकुराले रुघाखोकी निको पार्छ । रुघाखोकी लाग्दा सकभर बाहिर ननिस्कँदा राम्रो । निस्कनै परे रुमालले नाकमुख छोप्नुपर्छ । स्वस्थ मान्छेले रुघाखोकी लागेको मान्छेबाट टाढा बस्नुपर्छ । ज्वरो नै आयो भने स्वास्थ्य संस्थामा जाँच गर्न जानुपर्छ । रुघाखोकीका लागि मात्रै चाहिँ घरेलु उपचार नै उपयुक्त हुन्छ । तर, एकहप्ताभन्दा बढीरुघाखोकी लागिरहृयो भनेचाहिँ जाँच गराउन जानुपर्छ ।
चीनले विश्वकै सबैभन्दा लामो तिव्र गतिको रेलमार्ग औपचारिक रुपमा सन्चालनमा ल्याएको छ ।
राजधानी बेईजिङ्गबाट दक्षिण ब्यापारिक केन्द्र ग्वान्झाउ जोड्ने रेलमार्गमा वुधवार बिहान औपचारिक रुपमा पहिलो बुलेट रेल सन्चालन गरिएको छ । ३ सय किलोमिटर प्रतिघण्टाको दरले गुड्ने रेलमा २ हजार २ सय ९८ किलोमिटर लामो मार्ग ८ घण्टामै पुगिने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् । यसअघि राजधानी बेईजिङ्ग देखि ग्वान्झाउ सम्मको दूरी पार गर्न २२ घण्टा लाग्ने गरेको थियो । विश्वकै सबैभन्दा लामो भनिएको रेल मार्गमा मुख्य शहरहरु वुहान र साङ्गसा समेत गरी ३५ वटा स्टप तोकिएका छन् । चिनियाँ अधिकारीले यो रेलमार्गलाई विश्वकै सर्वाधिक उच्च प्रविधीयुक्त भनेका छन् । चीनमा तिव्र गतिको रेल सेवा सन्जाल सन् २००७ मा शुरु भएकोमा सन् २०१० को अन्त्य सम्म ८ हजार ३ सय ८५ किलोमिटर क्षेत्र यो सन्जालमा जोडिएको छ । सन् २०२० सम्म यो क्षेत्र दोब्बर बनाउने अपेक्षा गरिएको छ । तिव्र गतिको रेल सेवा दिने नाममा सुरक्षामा ध्यान नदिएको भन्दै चिनले आन्तरिक आलोचना खेप्दै आएको छ ।
भारतको मुम्बई उच्च अदालतले सूर्यास्तपछि र सूर्योदय अघि कुनै पनि महिलालाई गिरफ्तार नगर्न या हिरासतमा नराख्न प्रहरीलाई आदेश दिएको छ । सूर्यास्त पछि गैरकानूनी ढंगले गिरफ्तार गरी हिरासतमा राखिएको भन्दै एक महिलाले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । अदालतले आदेश तत्काल कार्यान्वयनका लागि महाराष्ट्रका सबै प्रहरी चौकीमा निर्देशन दिन र एक हप्ता भित्र यससम्बन्धी आचार संहिता तयार गरी गर्न पनि आदेश दिएको छ ।
अदालतले आपराधिक गतिविधी संबन्धी ऐन अनिवार्य रुपमा पालन गर्न प्रहरीलाई आदेश दिएको छ, जस अनुसार कुनै पनि अपराधका लागि आरोपीत महिलालाई अत्यावश्यक मानिएको अवस्थामा बाहेक सूर्यास्त पछि या सूर्योदय अघि गिरफ्तार गर्न पाईदैन । त्यसरी गिरफ्तार गर्नुपर्नेमा न्यायिक अधिकारीको अनुमति लिनुपर्ने व्यवस्था छ ।
चितवन निकुञ्ज आसपासमा आतंक मच्चाउँदै आएको धु्रवे नामको जंगली हात्ती फेला नपरेपछि बर्दियाको प्राविधिक टोली वुधवार फर्किएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापा सहितको टोली फर्किएको हो । हात्ती नियन्त्रणमा झण्डै दुई दशक अनुभव प्राप्त थापा सहितको टोली पनि परिचालन हुँदा समेत धु्रवे फेला परेको छैन । जिपीएस जडित रेडियो कलरले पाँच सय मिटरसम्म मात्र थाहा पाउन सकिने भएपनि खराब मौसमले सिग्नल नआउने, फेला परिहालेपनि धु्रवे भाग्ने र निकुञ्जको बाक्लो झाडीका कारण धु्रबे मार्ने अभियान सफल हुन नसकेको थापाले जानकारी दिनुभयो । ध्रुवे मार्नका लागि अहिले ट्यापिङ्ग र सुटर सहित झण्डै १ सय ५० जना परिचालन गरिएको छ भने १५ वटा हात्तीको सहयोग लिइएको छ । अहिले पनि निकुञ्जको चुरे क्षेत्र, वनकट्टा, सुकेभार र टाईगर टप्स क्षेत्रमा ध्रुवे रहेको आशंका गरिएको छ
अत्याधिक चिसो र हिमपातका कारण मनाङमा हवाई उडान सेवा बन्द भएको छ । हरेक बुधबार र विहीवार नेपाल बायु सेवा निगमले उडान भर्दै आएकोमा चिसो र हिमपातका कारण फागुन १ गतेसम्मका लागि उडान बन्द गरिएको मनाङको हुम्डेस्थित नेपाल बायुसेवा निगमको कार्यालयले जनाएको छ । गत बर्षायाममा हवाई उडान बन्द भएपछि कार्तिक दोश्रोसातादेखिमात्रै मनाङमा हवाई उडान सञ्चालन भएको थियो । उडान सञ्चालन भएको २ महिनामै हवाई सेवा पुनः बन्द भएपछि अन्नपूर्ण चक्रीय पदमार्गमा जाने पर्यटक, कर्मचारी साथै ब्यवसायी र स्थानीयवासिन्दा समस्यामा परेकाछन् ।
राप्रपा नेपालको रथयात्रा देशका विभिन्न भागको परिक्रमा गरि आज काठमाण्डु आइपुगेको छ । पुस २ गते जनकपुरबाट सुरु भएको रथयात्रा मकवानपुर, चितवन, लुम्बिनी, पोखरा हुँदै आज राजधानी आइपुगेको छ । अहिले राजधानीका विभिन्न ठाउँमा परिक्रमा गरिरहेको रथयात्रा औपचारिक रूपमा सकिने राप्रपा नेपालले जनाएको छ । आज राजधानीको खुलामन्चदेखि पशुपतिको वनकालीसम्म कलशयात्रा गरिने कार्यक्रम पनि रहेको छ । नेपाललाई हिन्दूराज्य घोषणा गर्नुपर्ने माग गर्दै राप्रपा नेपालले रथयात्रा सुरु गरेको हो । नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेकोप्रति राप्रपा नेपालले सुरु देखि नै आपत्ति जनाउँदै आएको छ ।
काठमाडौंको सितापाइलाका सुर्य मोहन पोखरेलको लेयर फर्ममा बर्ड फ्लुको संक्रमण देखिएको पुष्टी भएको छ । रामकोटको मञ्जुश्री पोल्ट्री फर्ममा बर्ड फ्लु देखिएको दुई दिन पछि सितापाइलाका पोखरेलको लेयर फर्ममा बर्ड फ्लुको संक्रमण देखिएको पुष्टी भएको पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर नारायण घिमिरेले जानकारी दिनुभयो । दुई दिन अघि बर्ड फ्लु भेटिएको रामकोटको मञ्जुश्री पोल्ट्री फर्मसँगै रहेको सितापाइला माडोलका पोखरेलले पालेका कुखुरामा पनि बर्ड फ्लुको संक्रमण हुन सक्ने भन्दै मंगलवार नमूना परीक्षण गरिएको थियो । नमूना परीक्षण गर्दा पोखरेलको कुखुरा फर्ममा पनि बर्ड फ्लु भेटिएको पुष्टी भएको प्रवक्ता घिमिरिले जानकारी दिनुभयो । रामकोट र सितापाइला गाविस फरक भएपनि मञ्जुश्री र पोखरेलको लेयर फर्म वल्लो पल्लो रहेकाले शंकाको घरोमा राखिएको थियो । पोखरेलको लेयर फर्ममा रहेका ३ हजार मध्ये १ हजार कुखुरा मरेपछि नमूना परीक्षण गरिएको हो । बर्ड फ्लु भेटिएको पुष्टी भएकाले अहिलेनै प्राविधिक टोली खटिएर लेयर फर्ममा रहेका कुखुरा मार्ने क्रम शुरु भएको पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर नारायण घिमिरेले जानकारी दिनुभयो ।
भारतको पाँच दिने भ्रमणमा रहेका राष्ट्रपति डा रामबरण यादवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । भारतका राष्ट्रपतिको निवासमा भएको दुई मुलुकका राष्ट्रपति विचको भेटवार्ताको क्रममा राष्ट्रपति यादवले मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएको नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले जानकारी दिनुभयो । जवाफमा भारतीय राष्ट्रपतिलेसमय मिलाएर आफू नेपाल आउने जानकारी दिदै नेपाल भ्रमणमा आउन आफू उत्सुक भएको बताउनु भएको थियो । भेटवार्तामा भारतीय राष्ट्रपतिले नेपालको राजनीतिक गतिरोध लम्बिनुको कारण, सहमतिको अवस्था, निर्वाचन, नेपालको शान्ति र स्थायित्वको विषयमा जिज्ञासा राख्नुभएको थियो । उहाँले भारत शान्त र स्थीर नेपालको पक्षमा रहेको भन्दै सहमतिमा निर्वाचन हुनु पर्नेमा जोड दिनुभयो । जवाफमा राष्ट्रपति यादवले दलहरु सहमतिको नजिक रहेको निर्वाचनको विषयमा एक मत रहेको भन्दै छिट्टै सहमति बन्ने विश्वास ब्यक्त गर्नुभएको थियो । राष्ट्रपति यादवसँग वुधवार नै भारतीय काग्रेस आईका महामन्त्री जनार्दन द्विबेद्वीले समेत भेटवार्ता गरेर नेपालको राजनीतिक अवस्था, सहमति, निर्वाचन लगायतका विषयमा चासो राख्नुभएको छ ।