हामी गर्मीमा पातलो कपडा लगाउँछौँ‚ जाडोमा न्यानो कपडा लगाउँछौँ । रातमा सुत्दछौँ भने दिनमा जागा रहन्छौँ । बिहान उठेर ट्वाइलेट जान्छौँ‚ स्नान गर्छौँ‚ दाँत माझ्छौँ । पानी परेको बेलामा छाता ऒढ्छौँ । सही मौसममा रोपेको बीजबाट नै समय आएपछि पूर्ण अवस्थामा आउनसक्छ । धान रोप्ने मौसममा धान नै रोप्नु पर्दछ‚ आलु रोप्ने मौसममा आलु नै रोप्नु पर्दछ‚ गहुँ छर्ने समयमा गहुँ नै अनि मकै छर्ने समयमा मकै छर्नु पर्दछ ।
सही समयमा छरिएको बीजले नै अपेक्षाकृत उत्पादन दिन सक्दछ । अनि जस्तो बीज रोप्यो त्यही अनुसार फल्ने हो‚ आँप रोपेर बयर फल्दैन‚ बीष रोपेर अमृत फल्दैन ।कुनै कार्यका लागि कुनै समय उपयुक्त शुभ रहन्छ भने अर्को कार्यकालागि अर्कै समय उपयुक्त रहन्छ । सही समयमा सही कार्य गर्नाले नै त्यसको नतीजा राम्रो अउने हो । जस्तो नतीजाको अपेक्षा आफूलाई छ त्यस्तै समयमा कार्य शुभारम्भ गर्नाले सफलतामा सन्देह रहँदैन । ब्रम्हाण्डमा रहेका ग्रह‚ नक्षत्रहरु कस्तो रुपमा छन् त्यसको प्रभाव मानवमा मात्र होइन सम्पूर्ण जगत्मा पर्दछ । कुनै समयमा कुनै ग्रहहरु बलबान् रहन्छन् भने कुनै समयमा कुनै । यसैको अधारमा पनि हाम्रा पूर्वजहरुले ग्रहहरुको प्रभावको आधारमा बारहरुको नामाकरण गरिदिएका छन्‚ विभिन्न चाडपर्वहरुको तिथि तोकिदिएका छन् । विवाह‚ व्रतवन्ध‚ पूजा–पाठ–यज्ञादि गर्दा‚ घर सर्दा‚ कुनै नयाँ कार्यको थालनी गर्दा‚ लामो यात्रामा निस्कदाँ आदि विभिन्न कार्यहरु गर्दा विभन्न ज्योतिषीहरुसँग शुभ साइत हेराउने चलन यद्यपि हाम्रो समाजमा चलेकै छ ।