पर्साको मिर्जापुर गाविसमा गएराति गाँजा तस्कर समूह र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त भएको छ। गाँजा लिएर भारततर्फ जाँदै गरेको तस्कर र सशस्त्र प्रहरीको टोलीबीच राति करिब १ बजेतिर भिडन्त भएको हो। गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी तस्कर समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक वासु खड्काले जानकारी दिए।
सो क्रममा प्रहरीले १३ राउण्ड हवाइ फायर गरेको र तस्कर समूहले नौ राउण्ड फायर गरेको पनि उनले जानकारी दिए। सो भिडन्तमा मानवीय क्षति नभएपनि सशस्त्र प्रहरीले एक क्विन्टल ५० किलोग्राम गाँजा बरामद् गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले जानकारी दिएको छ।
यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयअन्तर्गतको भिस्वाको टोलीले गएराति नै भिस्वा-३ का स्थानीय मडल मियाँलाई तीन किलो चरेशसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी विषालु सर्पको टोकाइबाट बाराको अमृतगन्ज-३ खजानीमा गएराति स्थानीय ३५ वर्षीय विनोद मुखियाको मृत्यु भएको छ।
सर्पको टोकाइबाट सिकिस्त बिरामी परेका मुखियाको प्रारम्भिक उपचार कलैया अस्पतालमा भएको थियो। त्यसपछि थप उपचारको लागि अस्पताल ल्याउने बित्तिकै आज बिहान उनको मृत्यु भएको नारायणी अस्पताल वीरगन्जले जनाएको छ। रासस