माडीका स्र्थानीयबासीले गराएको माडीको यातायात बन्द खुलेको छ । बस्तीमा प्रवेश गर्ने जंगली हात्ती नियन्त्रणका लागि माथिल्लो निकायसम्म दबाब दिने आश्वासन पाएपछि यातायात खुलाउन स्थानीयबासिन्दा सहमत भएका हुन् । शनिबार राति कल्याणपुर गाविसमा जंगली हात्तीले ५ वटा घर भत्काएपछि कल्याणपुर गाविसका ३ वटा वडाका बासिन्दा फेरी विरोधमा उत्रिएका हुन् । उनीहरुले हात्ती आतंकको विरोधमा आज भरतपुर–माडी–ठोरी सडकखण्डमा सवारी चल्न दिएका थिएनन् । आतंक मच्चाउने ध्रु्रवे हात्ती नियन्त्रणमा लिनुपर्ने, भत्किएको घरको क्षतिपुर्ती पाउनुपर्नेलगायतका माग राखेर उनीहरुले यातायात बन्द गरेका थिए । यसैबीच जंगली हात्ती धु्रवेको खोजी कार्य भईरहेपनि अझै फेला पार्न सकिएको छैन । निकुञ्जका प्राविधिक, पशु चिकित्सक, निकुञ्जका सेना र प्रकृति संरक्षण कोषका कर्मचारी दिनरात खटेपनि कुनै उपलब्धि हात पार्न सकेका छैनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आतंंक मच्चाइरहेको जंगली हात्ती धु्रवेको नियन्त्रणमै केन्द्रित बन्न चितवन निकुञ्जलाई निर्देशन दिएको छ ।
राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिका लागि ६ बुदे लिखित धारणा सार्वजनिक गर्नु भएको छ । बिहान आफ्नै निवासमा सर्वदलीय बैठक मार्फत राष्ट्रपति यादवले सहमतिका लागि आफ्नो लिखित धारणा सार्वजनिक गर्नु भएको हो । बैठकमा आफ्नो लिखित धारणा सार्वजनिक गर्दै राष्ट्रपति यादवले आफु भारतभ्रमणबाट फर्कनु अघि सहमति गर्न आग्रह गर्नु भएको छ । पाँचौ पटक आफूले दिएको पाँच दिनको समयसीमा यही पुस ७ गते सकिए पनि दलहरुबीच राष्ट्रिय सरकार गठन बारे कुरा मिल्न नसकेपछि राष्ट्रपतिले छैठौ पटकको समय दिनुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिले आज दिएको पाँच दिने समयसीमा यही पुस १४ गते सकिनेछ । राष्ट्रपति यादवले बिहान विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई बोलाएर राजनीतिक र संवैधानिक जटिलता लम्बिदै गएको भन्दै दलहरुले सहमति गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
६ बुदे लिखित धारणामा राष्ट्रपति यादवले मुलुकको राजनीतिक अवस्था दलहरुबीचको सहमतिको समिक्षा पनि गर्नु भएको थियो । ६ बुदे धारणामा राष्ट्रपतिले २०७० साल वैशाखभित्र नयाँ निर्वाचन गर्न आग्रह गरिएको छ । अदालतमा मुद्दा बढ्दै गएको र न्यायाधीश रित्तिदै गएको तथा निर्वाचन आयोग खाली हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले सबै समस्या समाधानका लागि सहमति आबश्यक भएको बताउनु भएको राप्रपाका अध्यक्ष पशुपति शमसेर राणाले बताउनुभयो । समस्या झन बढ्दै गएको छिटो सहमति गर्नु प¥यो राष्ट्रपतिको गम्भीर आग्रह थियो बैठक पछि नेताहरुले भनेका छन् सम्वोधनका क्रममा राष्ट्रपतिले धारा ३८(१) अनुसार सहमतीय सरकार र्निमाणको आह्वान जारी नै रहने पनि बताउनु भएको थियो । बैठकमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, सबै दलका शीर्ष नेताहरुको सहभागिता थियो ।
राष्ट्रपतिसँगको छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको विकल्प नभएको र देश सहमतिमा जाने बताउनुभयो । उहाँले राष्ट्रपति भारत भ्रमणनबाट फर्किनुअघि सहमति हुने पनि दावी गर्नुभयो । बाबुराम भट्टराईले पनि यो मुलुकको ठेक्का लिन नसक्ने भएकाले सहमति गर्नुको विकल्प छैन एमाले अध्यक्ष खनालले भन्नुभयो । काङ्ग्रेसका सभापति सुशील कोइरालले सहमतिका लागि प्रयास रहेको र सहमति हुनेमा आशावादी रहेको बताउनुभयो । उहाँले सहमति नभए काङ्ग्रेस शान्ति पूर्ण आन्दोलनमा जाने पनि बताउनुभयो । काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुक अनिश्चयमा फस्दै गएको बताउनुभयो । चारबर्ष सम्म संविधान दिन सकेनौ, लामो समय सम्म सहमति हुन सकेन अहिले राष्ट्रपतिले पनि प्रधानमन्त्री दिन सक्नु भएको छैन पौडेलले भन्नुभयो ।