आज ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा
आज नेपालभर हिन्दू धर्मावलम्बीहरू ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाउँदैछन् । जनै लगाउनेले आज ऋषिहरूको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो, गोबार, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन् ।
जनैमा प्रयोग भएका ९६ धागा, ९ गुना, ३ डोरा र ५ ग्रन्थीमध्ये ९६ धागाले चार, वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश भएपछि ब्रतवन्ध गरिने भएको हुँदा बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँछ । ९ गुनाले शरीरमा विद्यमान ९ इन्द्रीय, ६ डोराले शरीरका पन्च ज्ञानेन्द्रीय र अन्तर इन्द्रिय समेत ६ इन्द्रिय तथा ज्ञानको प्रतीकका रूपमा सरस्वतीको षट्कोणलाई समेत सङ्केत गर्दछ ।
यस अवसरमा आफ्नो सुरक्षाका खातिर नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । तराईमा आ–आफना दाजुभाइलाई दिदीबहिनीहरूले आजै राखी बाँध्ने चलन छ । मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको रक्षाबन्धन पर्व धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइन्छ ।
पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट दपेटिएको देवशक्तिलाई देवराज इन्द्रका गुरु वृहस्पतिद्वारा रक्षा विधान तयार गरी जोगाइएको तथा वामनावतार विष्णुद्वारा दैत्यराज बलीलाई वचनवद्ध गराई तीनै लोक लिएको स्मृतिसँग जोडएको छ । आज बाँधिएको डोरो गाईतिहारको दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनधारणा छ ।
कृषिप्रधान हाम्रो मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा पुनः ऊर्जा ल्याउन नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने गरिन्छ ।
जनै पूर्णिमाका अवसरमा शिवजीलाई कालकुट विषको डाहाबाट शीतलता प्रदान गर्न आजै उत्पत्ति भएको मानिने रसुवाको गोसाईकुण्ड र सोही कुण्डबाट जल आएको मानिने ललितपुरको कुम्भेश्वरमा ठूलो लागेको छ
जनैपूर्णिमाको अवसरमा आज काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, बुडोल नजिकै रहेको गोसाइँस्थान, धनेश्वर, लड्केश्वर, पनौतीको त्रिवेणीघाटलगायतका शिव मन्दिरहरुमा रक्षाबन्धन बध्ने हिन्दु धर्मावलम्बीहरुको बिहानैदेखि घुइँचो लागिरहेको छ । त्यस्तै तिमाल क्षेत्रको पोखरी नारायणस्थान गाविसमा निर्माण गरिएको स्वयम्बु र बौद्धनाथको चैत्यमा काभ्रेका तामाङ समुदायले जनैपूर्णिमा मनाइरहेका छन् । चैत्यको दर्शन र पितृहरुको सम्झनामा बत्ती बाल्न आउने भक्तजनहरुको बिहानैदेखि घुईचो लागिरहेको छ । यसैबीच सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने भोताङ गाविसको वडा नम्बर–१ मा रहेको पाँचपोखरीमा एकादशीदेखि सुरु भएको मेला आज सकिदैँछ । मेलामा छिमेकी गाविसका साथै विभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु पाँचपोखरीको पानीले स्नान गर्न, धामी झाँक्रीहरु ढ्याङग्रो ठटाउँदै मेला भर्न जाने क्रम एकादशीदेखि चलिरहेको स्थानिबासिन्दा मिमा वाइबाले जानकारी दिनुभयो । आजको दिन सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्डले चिनिने पाँचपोखरीमा रहेको शिव मन्दिरको दर्शन गर्ने, रक्षाबन्धन बाध्ने, जनैफेर्ने प्रचलने छ । सदरमुकाम चौताराबाट २ दिनको पैदल यात्रापछि पुग्न सकिने पाँचपोखरी मेलामा तामाङ, थामी, जिरेललगायतका जनजाति समुदायले आफ्नो पहिचान झल्कने झाँकी प्रर्दशन समेत गर्ने भएका छन् । पाँचखोरीको पानीले स्नान गरे पाप पखालिने, पितृको स्वर्गमा बास हुने, खटिरा जस्ता चर्मा रोक निको हुनुका साथै मनले चिताएको पुरा हुने धार्मिक विश्वास रहदै आएको छ ।
0 comments