जयमाया
नेपाली साहित्यमा सम्भवतः सबैभन्दा धेरै स्रष्टाका कलमबाट डोर्याइएकी पात्र हुन् जयमाया । उनी सर्वप्रथम इन्द्रबहादुर राईको कलमबाट जन्मिएकी हुन् । बर्माबाट लखेटिएका नेपालीहरुको कारुणिक अवस्थाको वर्णन गरिएको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथाबाट यिनको जन्म भयो । त्यही जयमायालाई जयबहादुरसँग पुर्नमिलन गराउँदै अनि शिवकुमार राईको ‘डाकबंगला’, गोविन्दराज भट्टराईको ‘मुगलान’ र लीलबहादुर क्षेत्रीको ‘बसाई’ लगायतका उपन्यासका पात्रहरुलाई भेलापार्दै कृष्ण धरावासीले ‘शरणार्थी’ लेखे । त्यही शरणार्थी उपन्यासका पात्रहरुलाई पनि विभिन्न कथाकारले आआफ्नो कलम मार्फत् डोर्याउँदै रहे । ती कथाकारहरुद्धारा लेखिएका कथाहरुको संकलन नै ‘जयमाया’ कथोपन्यास हो । यसको सम्पादन गरेका छन् आख्यानकार तथा पत्रकार कृष्ण अविरलले।
धरावासीको उपन्यासको अन्तिम अंशबाट सुरु भएको जयमायामा कृष्ण बराल, दुर्गा विनय, विश्वप्रकाश शर्मा, विनोद खनाल, विवशबलिभद्र कोइराला, लीला अनमोल, सुबिन भट्टराई, उमा सुवेदी, अविरल स्वयम्का गरी १२ वटा कथा छन् । भिन्नभिन्न कथाकारद्धारा भिन्नभिन्न परिवेशमा बुनिएका ती कथाले भुटानी शरणार्थीहरुको समस्याका विभिन्न पाटा र बाटाहरुलाई मिहीन ढंगले उजागर गरेका छन् । मान्छेले भोग्नु परेको जीवनका कटुसत्यहरु बोकेका छन् । केही जयमायाहरु देशको खोजीमा तेस्रो मुलुकमा भौंतारिएका छन् भने केहीले भुटान र्फकन विद्रोहको बाटो रोजेका छन् । त्यससँगै भुटानी राजनीतिक दलहरु भित्रको विकृति, पूर्वी नेपालका नेपालीले भूटानी शरणार्थी गर्ने गरेका हेपाहा व्यवहार र शोषणसँगै समय र कालको पनि राम्रो चित्रण भएको छ ।प्रस्तुत कथोपन्यासमा जयमाया एक छिन् । तर भुटानी शरणार्थीका अनेक समस्या छन् । जस्तो कथाकार दुर्गा विनयले शरणार्थीको पात्र कान्तालाई दोजिया बनाएर एकाएक बेपत्ता भएको चन्द्रप्रकाशलाई दार्जिलिङमा पश्चातापमा जलिरहेको अवस्थामा फेला पारेका छन् भने विनोद खनालले जयबहादुर र जयमायालाई खुदुनावारी शरणार्थी शिविरबाट बगरै बगर हिँडाएर तल कतै पुर्याई जयबहादुरलाई मृत्यु गराएका छन् । विवश बलिभद्र कोइरालाले बिरिङको बगरमा हिँडेको र पानीले प्याकप्याक भएर मरेको कुरालाई सपना देखेको बनाइदिएका छन् । कृष्ण बरालले उनीहरुलाई पथरीमा होटेल चलाउँदै गरेको अवस्थामा फेला पार्छन् भने विश्वप्रकाश शर्माले जयमायालाई नातिनी शान्तासँगै अमेरिकामा भेटेका छन् । त्यसैगरी उमा सुवेदीले भुटानी सेनाबाट बलात्कृत पात्र कान्ताको मनोदशाको चिरफार गरेकी छिन् भने सुविन भट्टराईले अमेरिका पुगेपछिको उसको मनोभाव केलाएका छन् । अनि अविरलले चाहिँ सेनाको बलात्कारपछि शान्ताबाट जन्मिएको पात्रलाई विद्रोही लडाकु बनाएर भुटानी भुमिमा लड्न पठाएका छन् । जयमाया भित्रका कथा मार्फत् भुटानी शरणार्थीहरुका सोचाइ र भोगाइ, जीवनका उतारचढावहरुको समग्र तस्वीर थाहा पाउन सकिन्छ।
जयमाया भित्रका सबै कथाकारले आआफ्नो दृष्टिबाट जीवन र जगतको मूल्य खोजेको भए पनि जीवन हाँसो र रोदन अनि दुःख र सुखको संगम हो भन्ने भाव बोकेका छैनन् । सबै कथाकारले पात्रपात्रसँगै आँसुको तलाउ मात्र निर्माण गरेका छन् । कथा पढिसक्दा सिंगो उपन्यास पढेको स्वाद मिले पनि जयमाया र जयबहादुर दुःख, पीडा र रोदनको प्रतीक मात्र हुन् ! भन्ने प्रश्न पाठकमा उत्पन्न हुन सक्छ । यद्यपि ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथा र ‘शरणार्थी’ उपन्यासको जगमा यसको निर्माण गरिएकोले पनि यस्तो कथानक निर्माण भएको हुनसक्छ ।
0 comments