मैनका मान्छेहरु
काममा कतै गइरहेको बेला गाडी दुर्घटना भएर अचानक पतिको आँखा गुम्यो । पत्नीले आवश्यक सेवा सुश्रुवा गरी । पति तङ्गि्रएपछि कमाइका लागि आफैँ काममा जान थाली । ढिलो हुँदा कहिलेकाहीँ कुनै अर्को पुरुषले उसलाई मोटरसाइकलमा राखेर घरसम्म ल्याइदिन थाल्यो । पतिको मनमा शंकाको आगो सल्कियो । सोध्दा पत्नी र्झकन थाली । दिउँसो एकालापमा बस्ने पतिलाई शंकाले जलाउँदै गएपछि उसले बदला लिने अठोट गर्यो । बेलुका पत्नीले आफूलाई बनाएर दिएको चियामा विष मिसाएर उसैलाई खान बाध्य बनायो । बेहोस भएपछि मटि्टतेल खन्याएर आगो लगायो । मरिसकी भन्ने भएपछि छिमेकीहरु हारगुहार गर्यो । अस्पताल पुर्याइएकी ऊ भोलिपल्टै मर्छे । तर मर्नुअघि उसले डाक्टरलाई भनेर पतिका लागि आँखा दान दिएकी हुन्छे । त्यो कुरा उसले आँखा देख्ने भएपछि मात्र थाहा पाउँछ । त्यसपछि उसको मनोदशा कस्तो होला ? सम्झँदा पनि आङ जिरिङ भएर आउँछ ।हो, कथाकार हरिमाया भेटवालको कथासङ्ग्रह ‘मैनका मान्छेहरू’ भित्र यस्तै मर्मस्पर्शी कथाहरु छन् । पढ्दापढ्दै गला भरिएला जस्तो हुन्छ । आँखा रसाउन थाल्छन् । मन कटक्क हुन्छ । सङ्ग्रह भित्रका १८ मध्ये सबै त नभनौं तर सुरुमै शारांश उल्लेख गरिएको ‘आँखाहरु मरेका छैनन्’ कथा साँच्चै स्तरीय छ । नेपाली समाजका पुरुषहरुको आडम्बर र नारीहरुको प्रेमलाई मिहिनपारामा प्रस्तुत गरिएको यो कथामा आर्ट फिल्म बनाउने हो भने साँच्चै ऐतिहासिक काम हुनेछ ।
नाटक लेखनमा खडेरी पर्दै गएको नारी उपस्थितिलाई मलजल गर्दै आएका हरिमायाका कतिपय नाटकले प्रर्दशनको रेकर्ड नै बनाएका छन् । २०६३ मा ‘दोस्रो दर्जा’ शीर्षकको कथासङ्ग्रह प्रकाशित उनको पछिल्लो संग्रहमा भने समाजका विपन्न एवम् सिमान्तकृत वर्गका पीडा र भोगाइ समेटिएका छन् । उनी कथामा आफू हावी हुन चाहँदिनन् । बरु बोली नभएकाहरुको बोली बोल्न मन पराउँछिन् ।‘हत्कडी’ बेश्याको आरोप लगाएर बेलाबखत प्रहरीले पक्राउ गर्ने सहरिया यौनकर्मीहरुको कथा हो । कथामा कुन बाध्यताले महिलालाई यौनको पसलसम्म डोर्याउँछ भन्ने मात्रै होइन, ती यौनकर्मीहरुलाई हत्कडी लगाएर उनीहरुसँगै सुत्नेहरुलाई स्यालुट हान्ने प्रहरीको कार्यशैलीको भण्डाफोर नै गरिएको छ । पुलिसले पक्रेर वेश्याका रुपमा अघि सारिएका विवश महिलाहरुको फोटो खिचेर आफ्नो सन्चारमाध्यममा स्कुप मार्नेहरुलाई यो कथाले कठोर ब्यङ्ग्य गरेको छ । यो कथा पढ्ने हो भने वेश्याहरु बारेको समाचार लेखनको वर्तमान शैली नै बदलिन सक्छ ।
‘यात्रा’ आफ्नै कमाइले जहाज चढेको अनुभव सँगाल्न हिँडेकी एउटी बृद्धामाथिको कथा हो । आफ्ना बृद्ध बाबुआमाको इच्छाको वेवास्ता गर्ने छोराछोरीलाई यो कथाले कठोर कटाक्ष गरेको छ । ‘विवाह’ समलिंगी बिहे गर्नेहरुका बारेमा छ । जे होस् हरिमायाको विषय छनोटशैली साँच्चै आरिसलाग्दो छ ।सडकमा बसेर मकै बेच्दै गुजारा चलाउने महिलामाथि लेखिएको ‘फोटोफ्रेम’ अर्को मार्मिक कथा हो । देशमा भएका परिवर्तन र क्रान्तिले निम्नवर्गलाई समेट्न नसकेको तीतो यथार्थलाई कलात्मक बान्की दिइएको यो कथामा सहिदलाई कसरी बिर्सिइन्छ भन्ने पनि देखाइएको छ । रातभरि उडुसले टोकेर सुत्न नसकेकी ती बृद्धा मकै बेचेर आएको कमाइबाट जव उडुस मार्ने औषधि किन्न जान्छिन्, पसले भन्छ- लोग्नेमान्छे लिएर आउनोस् तपाईँलाई दिन मिल्दैन । लाग्छ, यो कथा पढ्दा कुन पाठकको मन कटक्क हुँदैन ?साझा प्रकाशनले पछिल्लो समय निकालेर केही किताबको छनोटस्तर, मूल्य र सजावट हेरर निराश भएको पंक्तिकारलाई यो सङ्ग्रह भित्रका विषयले केही राह्रत दिएको छ । तर संवादहरुलाई कमा भित्र नछुट्याइ व्याख्यान जसरी प्रस्तुत गरिनु तथा कतिपय कथामा सन्दर्भ परिवर्तन हुँदा समेत अनुच्छेदहरु नछुट्याइनुले साझा प्रकाशनका कर्मचारी लापर्वाही गर्न थालेको आरोपलाई पुष्टि गर्छन् । झूर सजावट गरिएको कूल १२० पृष्ठको यो सङ्ग्रहको मूल्य १७६ पनि अचाक्ली लाग्छ ।
यद्यपि विषय छनोटका दृष्टिले हरिमायाको शैली उत्कृष्ट छ । विषय एकसे एक लागे पनि कतिपय कथामा बुनाई-शैली परम्परागत ढर्राबाट गुजि्रएका छन् । विम्बहरु दोहोरिएका छन् । विषय छनोटसँगै प्रस्तुतिमा पनि नयाँ बान्की दिने हो भने हरिमायाले पाठकमा आफ्नो अलग छाप बनाउने निश्चित छ । उनका लागि यो कुरा असम्भव पनि छैन ।
0 comments