'दबंग-२'
चलचित्र 'दबंग' को सफलताले सलमान खानको करियरको ग्राफलाई शिखरमा पुर्याएको थियो। 'दबंग' पछि सलमानले अभिनय गरेका प्रायः सबै चलचित्रले राम्रो व्यापार गरे। उनका प्रशंसकहरूलाई उनले अभिनय गर्ने चलचित्रको कथा, पटकथा, अभिनयसँग कुनै सरोकार हुँदैन। उनीहरू केवल सलमानलाई हेर्नका लागि मात्र सिनेमा हलसम्म पुग्छन्। 'दबंग-२' मा करिब-करिब 'दबंग' कै कलाकार तथा प्राविधिकहरू छन्। नयाँ चलचित्रमा दुई महत्वपूर्ण परिवर्तन गरिएका छन्, खलनायकका रूपमा यो चलचित्रमा प्रकाश राज देखिएका छन्। प्रकाशराजले यसअघि 'वान्टेड' तथा 'सिंघम' जस्ता चलचित्रमार्फत दर्शकको मन जितिसकेका छन्। यसपटक चलचित्रको निर्देशनको जिम्मा अरबाज खानले लिएका छन्। 'दबंग' को निर्देशन अभिनव कश्यपले गरेका थिए तर दबंग-२ मा उनको खान दाजुभाइसँग केही मनमुटाव भएपछि निर्देशनको जिम्मा अरबाजले लिएका हुन्। 'दबंग-२' मा पुनः एकपटक चुलबुल पाण्डेका (सलमान खान) चुलबुले क्रियाकलाप देख्न पाइनेछ। यो चलचित्रको कथालाई त्यहीँबाट अघि बढाइएको छ जहाँ 'दबंग' समाप्त भएको थियो। चुलबुल पुनः एकपटक चलचित्रको मुख्य भूमिकामा दे खिएका छन्। यसपटक उनी गाउँमा होइन, एउटा भव्य सहरमा देखिनेछन् किनभने यसपटक चुलबुलको सरुवा सहरमा भएको छ। स्थान परिवर्तन भए पनि चुलबुलको स्वभावमा परिवर्तन आएको छैन। यसपटक चुलबुलको टक्कर सहरका खतरनाक खलनायकहरूसँग हेर्न पाइनेछ। चलचित्रमा सोनु सूद, विनोद खन्ना, दीपक डोब्रियल आदि कलाकारले पनि अभिनय गरेका छन्।
0 comments