प्रेसकै ज्याकेटमा पत्रकार कुटिनु निन्दनीय भएको महासङ्घ अध्यक्ष गाउँलेको भनाइ
नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष शिव गाउँलेले प्रेसको ज्याकेट लगाएर समाचार सङ्कलन गर्न गएका पत्रकार कुटिनु निन्दनीय भएको बताउनुभएको छ । उहाँले देशको नेतृत्व सम्हालिरहनुभएका प्रधानमन्त्रीको उपस्थितिमा घटना भएकाले एकीकृत नेकपा माओवादीले सार्वजिक रुपमा आममाफी माग्नुपर्ने पनि बताउनुभएको छ । एकीकृत नेकपा माओवादीका शीर्ष नेता सहभागी काभ्रे जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको समाचार सङ्कलन गर्न अस्ति बनेपा पुगेका जिल्लाका पत्रकारहरुमाथि वाइसीएलका कार्यकर्ताहरुले कुटपिट गर्दै प्रेसको ज्याकेट समेत च्यातेको घटनापछि अवस्था बुझ्न आज काभ्रे आइपुग्नु भएका अध्यक्ष गाउँलेले यस्तो बताउनुभएको हो । महासङ्घका अध्यक्ष गाउँले, केन्द्रिय सदस्यहरु बालकृष्ण बस्नेत, दिलिप थापा मगर र प्रेस चौतारीका उपाध्यक्ष राजेन्द्र अर्याल सम्मिलित टोलीले वाइसीएलको आक्रमणबाट घाइते र ज्यान मार्ने धम्की आएका पत्रकारहरुसँग छुट्टाछुट्टै भेट गरेको थियो । महासंघको टोलीले जिल्लामा क्रियाशील मानवअधिकारकर्मी, नागरिक समाजका अगुवाहरुसँग पनि घटनाको बारे जानकारी लिएको छ । टोलीले आक्रमण र धम्कीपछि काभ्रेका पत्रकारहरु त्रसित मानसिकतामा रहेको भन्दै सुरक्षाको प्रत्यभूति दिलाउन प्रशासनसँग माग गरेको छ । वाईसीएलको आक्रमणबाट ६ जना पत्रकार घाइते भएका थिए । गम्भीर घाइते ग्रेस एफएमका कृष्ण न्यौपानेको अझै पनि धुलिखेल अस्पालमा उपचार भइरहेको छ । यसैबीच जिल्लामा रहेका विभिन्न ११ वटा सामाजिक सङ्घसंस्थाहरुले आज प्रेस विज्ञप्ति निकालेर प्रशासनकै अगाडि पत्रकारमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
0 comments