पत्रकारहरुद्धारा प्रधानमन्त्री घेराउ, दोषिमाथि कारवाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी
पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कानून अनुसार कारवाहीको माग गर्दै पत्रकारहरुले आज पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन । यसक्रममा आज पत्रकारहरुले अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार घेराउसँगै धर्ना दिएका थिए । नेपाल पत्रकार महासंघ काठमाडौको अगुवाईमा भएको धर्ना र घेराउ गर्दै पत्रकारहरुले पत्रकार हत्याका दोषिमाथि कारवाही नभएसम्म आन्दोलनलाई जारी राख्ने घोषणा गरे । धर्नाका क्रममा नेपाल बार एसोसिएसनका महासचिव विजय मिश्रले हत्याका दोषीमाथि कारवाही गराउन नेपाल बार एसोसिसएसनले कानूनी मोर्चा सम्हाल्ने प्रबिद्धता ब्यक्त गर्दै कारवाही गराएर छाड्ने बताउनुभयो । उहाँले दोषीको बयान सुचारु गर्न र पीडितको न्यायका लागि बार एसोसिएसनले पहल कदमी लिइसकेको जानकारी समेत दिनुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिम्सिनाले पत्रकार हत्याका दोषिलाई कारवाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिदै महासंघले भोलि थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । घेराउ कार्यक्रममा पूर्व सभापति हरि लम्साल, दामोदर दवाडी, केन्द्रीय सदस्य दिपक पाण्डे, प्रेस चौतारीबाट रामहरी सिल्वाल र काठमाडौ शाखका सभापति गोविन्द चौलागाईलगायतका वक्ताहरूले दोषीमाथि कारवाही नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
0 comments