"२६ दलले आज काठमाण्डौमा शक्ति प्रदर्शन"
बाबुराम भट्टराइको सरकारलाई सडकबाटै हटाउने उद्घोषसहित कांग्रेस एमालेसहितका २६ दलले आज काठमाण्डौमा शक्ति प्रदर्शन गर्दैछन् ।
भट्टराई सरकारबाट नहटेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका सरकार बाहिरका दलहरुले गाउँ गाउँबाट आफ्ना नेता कार्यकर्ता झिकाई लाखौको संख्यामा उपस्थित गराउने तयारी गरेका छन् ।
माओवादीले संविधानसभा विघटन भएपछि एकलौटी ढंगले संविधानसभाको निर्वाचन घोषणा गरेर सत्ता कव्जा गर्न खोजेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको काँग्रेस र एमालेका नेताहरुले बताएका छन् ।
आमसभाअघि राजधानीका विभिन्न ठाउँबाट र्याली निकालिने भएको छ । काङ्ग्रेस नेतृत्वमा सुन्धारा, एमाले नेतृत्वमा भृकुटीमण्डप, चुरेभावरले पुतलीसडक न्यूप्लाजा, नेकपा मालेले गौशाला, जनता दलले लैनचौर तथा अन्य साना दलहरूले भद्रकालीबाट एकसाथ र्याली निकाल्ने तयारी भएको नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । सभालाई काँग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
जनजाती नेताले बहिष्कार गर्ने
काङ्ग्रेस-एमालेका जनजाती नेताहरुले भने आजका सरकार विरोधी कार्यक्रमको बहिष्कार गर्ने भएका छन् । नयाँ संविधानमा जनजातिको अधिकार सुनिश्चित गर्न नेतृत्व तह उदार नभएको भन्दै असन्तुष्ट जनजाति नेताहरुले विरोधसभा बहिष्कार गर्न लागेका हुन् । नेपाली काङ्ग्रेसका नेता ईन्द्रबहादुर गुरुङ्गले आफ्नो पार्टी आदिवासी जनजातिको मुद्दामा पार्टी सहमत नभएकोले बिरोध गर्नुपरेको बतायनुभयो । यसैगरी नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ्गले सरकारविरुद्धको आन्दोलन एजेण्डाविहीन भएको भन्दै एजेण्डाबिनाको आन्दोलनमा सहभागी नहुने दाबी गर्नुभयो ।
0 comments