सञ्चारउद्यमी सन्तोषकुमार गुप्ताको हत्या

            वीरगन्जका सञ्चारउद्यमी सन्तोषकुमार गुप्ताको भारतको बिहारमा हत्या भएको छ ।
गुप्ता, वीरगन्ज–१० पानीटंकीस्थित बिन्दास एफएमका प्रबन्ध निर्देशक थिए । बिहारको पश्चिम चम्पारणस्थित मोतीहारी प्रखण्डको ढाकामा शुक्रबार राति अपरिचित समूहले गुप्ताको हत्या गरेको हो ।
उनको घाँटी थिचेर हत्या गरिएको मोतीहारी प्रहरीले बताएको छ । मोतीहारीका डिएसपी जेएन चौधरीका अनुसार, गुप्ताको शव मोतीहारी चिरैया सडकखण्डस्थित पेट्रोलपम्पअगाडिको सडकमा फेला परेको हो । उनको गोजीबाट बिन्दास एफएमको प्रबन्ध निर्देशक लेखिएको परिचयपत्र फेला परेको डिएसपी चौधरीले बताए ।
भारतको रक्सौल बैंकरोडका स्थानीय बासिन्दा रहेका ३६ वर्षीय गुप्ताले ०६३ सालमा जन्मका अधारमा बारा जिल्लाबाट अंगीकृत नागरिकता लिएका थिए । मोतीहारी प्रहरीले गुप्ताका हत्यामा संलग्न रहेको आशंकामा स्थानीय पिन्टु राय, माधव सिंहलगायत चारलाई नियन्त्रणमा लिएको छ ।
मोतीहारीका एसपी गणेशकुमारले गुप्ताको हत्या नै भएको बताए । घाँटी थिचेर हत्या गरेपछि हत्याराले गुप्ताको शव पेट्रोलपम्पअगाडिको सडकमा ल्याएर फ्याँकेको उनले बताए । गुप्ताको शनिबार नै मोतीहारी अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट पाँच दिनपछि मात्र आउने डिएसपी चौधरीले जानकारी दिए । गुप्ताको रक्सौलमा फोटो स्टुडियो छ । गुप्ता सुनको कारोबारी पनि थिए । उनले नेपाल र भारतमा सुनको पैठारी गर्दै आएको प्रहरीले बताएको छ । सुनको अवैध कारोबारकै विषयमा उनका साझेदारहरूले मोतीहारीमा बोलाएर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

भारतीय प्रहरीले गुप्ताको हत्या भएको बताए पनि एफएमका अध्यक्ष आरसी यादवले हत्या नभई सडक दुर्घटनामा गुप्ताको ज्यान गएको दाबी गरेका छन् । घटनास्थल पुगेका अध्यक्ष यादवले बस चढ्न खोज्दा घिसारिएका गुप्तालाई अर्को बसले ठक्कर दिँदा उनको ज्यान गएको बताए । अध्यक्ष यादवका अनुसार गुप्ताको खुट्टा र गर्दनमा गम्भीर चोट लागेको छ ।
गुप्ताको शव अन्तिम दाहसंस्कारका लागि शनिबार साँझ रक्सौलस्थित निवासमा ल्याइएको एफएमका कर्मचारी जगदीश गुप्ताले बताए । कर्मचारी जगदीश गुप्ताका अनुसार प्रबन्ध निर्देशक गुप्ता रेडियोको विज्ञापनका लागि शुक्रबार दिउँसो मोतीहारी गएका थिए । ‘मोतीहारीबाट फर्किने क्रममा सवारी दुर्घटनामा परेर उनको मृत्यु भएको हो,’ गुप्ताले  भने । गुप्ताको निधनको शोकमा शनिबार बिहानदेखि बिन्दास एफएमको प्रसारण बन्द गरिएको छ ।
रक्सौल निवासी गुप्ता, रौतहटका यादव र पर्सा सिसियाडी बैरियाका पन्नालाल साह तेलीसँग मिलेर तीन महिना अघिदेखि बिन्दास एफएम सञ्चालनमा संलग्न थिए । तीनजना लगानीकर्तामध्ये यादव एफएमका अध्यक्ष, गुप्ता प्रबन्ध निर्देशक र साह निर्देशक हुन् ।
          आजको सौर्य दैनिकले छापेको छ |

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको