राष्ट्रपतिबाट अध्यादेश फिर्ता अनुचित कदम रहेको प्रचण्डको भनाई
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनु अनुचित रहेको बताउनु भएको छ । प्रचण्डले राष्ट्रपतिबाट अध्यादेश फिर्ता हुँदै गए राम्रो नहुने चेतावनी पनि दिनुभयो । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा आज बिहान क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारले राष्ट्रपति समक्ष पठाएका अध्यादेश रोक्ने प्रबृतिले राम्रो संकेत नगरेको बताउनुभयो । प्रचण्डले राजनीतिक सहमति बिना प्रधानमन्त्री बाबुराम भट्टराई सरकार छाडेर हिडे मुलुकमा राष्ट्रपति सक्रिय हुने दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले एकीकृत माओवादी देशलाई सरकार विहीन बनाउने पक्षमा नरहेको र राजनीतिक सहमति नभएसम्म बाबुराम भट्टराईले कुर्सी नछाड्ने बताउनुभयो । सहमति नगरि प्रधानमन्त्रीले कुर्सी छाड्दा राष्ट्रपतिले आफूलाई मन परेको व्यक्ति प्रधानमन्त्री चयन गर्ने, ६÷६ महिनामा नेतृत्व फेरिरहने अवस्था बन्न सक्छ टिप्पणी गर्नुभयो । एकीकृत माओवादी नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्छ भन्ने पक्षमा रहेको तर त्यसका लागि संविधानका विवादित विषय टुङ्ग्याएर केही समयका लागि संविधानसभा पुनःस्थापना गर्नेमा सहमति बन्नु पर्ने प्रचण्डको भनाई छ । पत्रकार सम्मेलनमा विपक्षी काँग्रेस र एमालेप्रति आक्रोशित हुनु भएका अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेता माधवकुमार नेपालको कारण संविधान सभाबाट संविधान आउन नसकेको आरोप लगाउनु भयोे । माओवादी नेतृत्वमा बनेको मोर्चाप्रति काँग्रेस–एमालेले आपत्ति जनाउनु अर्थ नरहेको भन्दै प्रचण्डले मोर्चा गठन गर्दैमा आकाश नखस्ने बताउनुभयो । अरुहरुलाई पनि मोर्चा बनाउन सुझाव दिंदै उहाँले मोर्चा गठनबाट सहमति निर्माण गर्न सजिलो हुने तर्क गर्नु भयो । राजनीतिक दलहरुबीच सहमति बन्नुको बिकल्प नभएको बताउँदै मोहन बैद्य किरणको नेतृत्वमा रहेको नेकपा–माओवादी पनि आफूहरुको मोर्चामा आउनसक्ने बताउनुभयो । किरणहरुले नाङ्ले पसल थापेकोले आफूप्रति गलत कुराहरु फैलाइरहेको पनि उल्लेख गर्नुभयो ।
0 comments