विपक्षी दलका युवा विद्यार्थी संगठनले बालुवाटार घेराउ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको माग गर्दै सडक आन्दोलन गर्दै आएका विपक्षी दल निकट युवा तथा विद्यार्थीे सङ्गठनहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । बिहान ९ बजे देखि ११ बजेसम्म दुईघण्टा प्रधानमन्त्री निवासको १ नम्बर र ३ नम्बर गेटमा धर्ना दिएर उनीहरले घेराउ गरेका थिए । राष्ट्रिय सहमतिको सरकारको मुख्य बाधक वर्तमान प्रधानमन्त्री भट्टराई भएको भन्दै आन्दोलन जारी राखेका उनीहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रधानमन्त्रीको निवास घेराउ गरेको युवासंघका महासचिव निरज आचार्यले जानकारी दिनुभयो । यसैगरी युवा तथा विद्यार्थीहरुले सरकारको पक्ष र विपक्षमा गरेको मतदानको मतपरिणाम आज राष्ट्रपति डा. रामवरण यादवलाई बुझाउँदैछन् । हिजो साँझ सकिएको मतगणना अनुसार १५ लाख २६ हजार ८ सय मत खसेको र त्यो मध्ये १८ हजार मत प्रधानमन्त्रीको पक्षमा पनि परेको छ ।
युवा विद्यार्थी सङ्गठनले गएको बिहीबार उपत्यकाका विभिन्न स्थानसहित देशभर एक सय १० स्थानमा मतदान केन्द्र खडा गरी मत सङ्कलन गरेका थिए ।
0 comments