विस्थापित हुदै छन् कुखुरापालनबाट किसानहरु
मागको तुलनामा आपूर्ति बढेपछि पोल्ट्री व्यवसायमा लगानी गरेका देशभरका करिब ८ हजार कुखुरा पालक किसान पलायन भएका छन् । देशभरका कुखुरा पालक किसानहरूको संगठन राष्ट्रिय कुखुरा पालक किसान संघका अनुसार ७ देखि ८ हजार किसान यस पेसाबाट पलायन भएका छन् । 'देशभर १५ हजार हाराहारी किसान संघका सदस्य थिए,' संघका अध्यक्ष हेमचन्द्र शाहले भने, 'तर एक वर्षयता ७/८ हजार सदस्य अन्य पेसातर्फ लागेका छन् ।'संघका अनुसार बजार मागको दाँजोमा कुखुरा उत्पादन बढ्नु, बढ्दो लोडसेडिङ, फैलँदो बर्डफ्लु, ह्याचरी/पोल्ट्री उद्यमीहरूको एकाधिकार र जो पनि बिनाअध्ययन कुखुरापालनमै लागेका कारण यस पेसाबाट पलायन हुने बढेका हुन् । कुखुरा पालनबाट पलायन हुनेहरू तरकारी खेती, च्याउ खेती, व्यापार, पशुपालन, वैदेशिक रोजगारलगायत क्षेत्रमा सरेको संघको अनुमान छ ।'लगानी थोपरियो, सहरी क्षेत्रमा मासुको आपूर्ति बढ्यो तर बजारको आकार बढेन अनि धेरै किसान घाटामा गए फार्म बन्द गरी पलायन हुनुको विकल्प नै भएन,' ९ वर्षदेखि राजधानीको काभ्रेस्थलीमा हिमाल पोल्ट्री फार्म सञ्चालन गरिरहेका अध्यक्ष शाहले भने । पोल्ट्री क्षेत्रमा घाटा बढेपछि उनी अघिका संघका अध्यक्ष गोकर्ण घिमिरे पनि यस बेला नेपालबाटै पलायन भइसकेका छन् । 'गोकर्णजी जितफुरफेदीको फार्म बन्द गरी २ वर्षअघि नै नेपाल छाडेर न्युजिल्यान्डतिर लाग्नु भो,' शाहले भने ।संघले केही महिनाअघि सार्वजनिक गरेको अनुमानित तथ्यांकअनुसार देशभर पोल्ट्री क्षेत्रमा मात्रै ३५ अर्बभन्दा बढी लगानी छ । संघमा आबद्ध सक्रिय सदस्यहरू घट्दै गएपछि किसानले राजधानीको बालाजुमा राखेको केन्द्रीय कार्यालय ८ महिनायता बन्द गरेका छन् । '३ हजार रुपैयाँ बहालमा केन्द्रीय कार्यालय थियो, उनले भने ।धेरै साथीहरू पलायन भएपछि कार्यालय नै हटाइदियौं,' पलायन हुने क्रम नरोकिएको मूलपानीका अर्का किसान मीनबहादुर विश्वकर्माले बताए । 'दाना उद्योगी, डिलर, कोल्ड स्टोर र ह्याचरीहरूको मनोमानी छ, किसानले त प्रतिचल्लामा ४० रुपैयाँसम्म घाटा बेहोर्नुपरेको छ,' महिना दिनअघि आन्दोलनमा समेत उत्रिएका विश्वकर्माले भने, 'जसरी जग्गा कारोबार डुब्यो त्यसरी नै यो व्यवसायमा पनि संकट आएको छ, सरकारले हस्तक्षेप नगरे हजारौं किसानको लगानी डुब्ने छ त्यो सबै बैकको ऋण हो। किसानको लगानी डुबाउनमा कुखुरा ओसार्ने सवारीसाधन, खरिद गर्ने डिलर, कोल्ड स्टोर, चल्ला दिन ह्याचरी र कमसल भिटामिन बिक्री गर्ने एग्रोभेटको पनि भूमिका रहेको शाहले बताए । किसानका अनुसार डिलरले फार्ममै गई कुखुरा राति तौलिने, ओसार्ने ड्राइभर सहचालकले बीचबाटैमा कुखुरा गायब गर्ने, फिड उद्योगीले कमसल र बिग्रेको दाना बिक्री गर्ने, एग्रोभेटले विदेशी ब्रान्डमा नेपालमै तयार पारिएका कमसल औषधि र भिटामिन बिक्री गर्ने समस्या देखिएका छन् ।बजार नपाएपछि किसानहरू चल्लाको संख्या पनि घटाउँदै छन् । 'डेढ लाखसम्म चल्ला पाल्ने किसानले अहिले ६/७ हजार चल्ला हालेको सुनिरहेको छु,' उनले भने । कृषि विकास मन्त्रालयका अनुसार राजधानीमा सबैभन्दा धेरै कुखुरा पालन हुने क्षेत्र जितपुरफेदी, धर्मस्थली र काभ्रेस्थली हुन् । तर यी क्षेत्रमा हाल किसानका फारम घट्दै गइरहेका छन् ।
0 comments