सितापाईलामा पनि बर्डफ्लु भेटिएको पुष्टि, प्राविधिक टोली द्धारा कुखुरा मार्ने काम शुरु
काठमाडौंको सितापाइलाका सुर्य मोहन पोखरेलको लेयर फर्ममा बर्ड फ्लुको संक्रमण देखिएको पुष्टी भएको छ । रामकोटको मञ्जुश्री पोल्ट्री फर्ममा बर्ड फ्लु देखिएको दुई दिन पछि सितापाइलाका पोखरेलको लेयर फर्ममा बर्ड फ्लुको संक्रमण देखिएको पुष्टी भएको पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर नारायण घिमिरेले जानकारी दिनुभयो । दुई दिन अघि बर्ड फ्लु भेटिएको रामकोटको मञ्जुश्री पोल्ट्री फर्मसँगै रहेको सितापाइला माडोलका पोखरेलले पालेका कुखुरामा पनि बर्ड फ्लुको संक्रमण हुन सक्ने भन्दै मंगलवार नमूना परीक्षण गरिएको थियो । नमूना परीक्षण गर्दा पोखरेलको कुखुरा फर्ममा पनि बर्ड फ्लु भेटिएको पुष्टी भएको प्रवक्ता घिमिरिले जानकारी दिनुभयो । रामकोट र सितापाइला गाविस फरक भएपनि मञ्जुश्री र पोखरेलको लेयर फर्म वल्लो पल्लो रहेकाले शंकाको घरोमा राखिएको थियो । पोखरेलको लेयर फर्ममा रहेका ३ हजार मध्ये १ हजार कुखुरा मरेपछि नमूना परीक्षण गरिएको हो । बर्ड फ्लु भेटिएको पुष्टी भएकाले अहिलेनै प्राविधिक टोली खटिएर लेयर फर्ममा रहेका कुखुरा मार्ने क्रम शुरु भएको पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर नारायण घिमिरेले जानकारी दिनुभयो ।
0 comments