हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा सुधार हुँदै

                          हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य क्रमिक रुपमा  सुधार भएको चिकित्सकले बताएका छन् ।
आइतबार बिहान अस्पतालमा चिकित्सकहरुले पत्रकार सम्मेलन गर्दै नेपाल र भारतका चिकितसकहरुले स्वास्थ्यमा सुधार भएको बताएका हुन् । शनिबार पेसमेकर जडान गरी उपचार गरिएका थापाको पेसमेकरले काम गर्न थालेको बताइएको छ ।
डाक्टरहरुले थापालाई ७२ घण्टासम्म आराम गर्न सल्लाह दिएका छन् ।थापाको उपाचारका लागि केही चिकित्सक समेत भारतबाट आइपुगेको छ ।
शनिबार पार्टी बैठकमा बोलिरहेकाबेला हृदयघात भई लडेका थापाको शनिबार दिनभर चेत खुलेको थिएन । उनका सहयोगी किरण गिरीका अनुसार आइतबार भने थापाले इसाराले बोलाउने र मान्छे चिन्ने गरेका छन् ।
८६ वर्षीय थापाको गम्भीर प्रकृतिको मुटुको समस्या देखिएपछि उपचारका लागि भारतीय चिकित्सा टोली आइतबार बिहान नै नर्भिक अस्पताल आएको छ ।
थापाको स्वास्थ्य अवस्था बुझ्न भौतिक योजना मन्त्री हृदयेष त्रिपाठी, पूर्व गृहमन्त्री भीम रावल, जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नर्भिक अस्पताल आएका छन् ।



                      राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य स्थिति अत्यन्त गम्भीर र स्थिर छ । ८६ वर्षीय थापामा शनिबार गम्भीर प्रकृतिको मुटुको समस्या देखिएपछि बिहान १० बजे नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना गरिएको छ ।
अचेत अवस्थामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । थापाको उपचारमा सघाउन भारतका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. आर कासलिवालसहितको ६ सदस्यीय टोली आइतबार बिहान ६ बजे राजधानी आउने भएका छन् ।
सहयोगी तथा पार्टीका सहप्रवक्ता किरण गिरीका अनुसार सानो गौचरनस्थित पार्टी कार्यालयमा बैठकमा बोलिरहँदा उनी अचानक साढे ९ बजे बेहोस भएका थिए । उनी शनिबार बिहान ६ बजे उठेर एक घन्टा मर्निङ वाक गरेपछि ८ बजेसम्म पत्रपत्रिका पढेर कार्यालय पुगेका थिए । यसअघि शुक्रबार कांग्रेस-एमालेलगायतका दलले खुलामञ्चमा गरेको आमसभामा उनी दिउँसो सवा २ देखि ७ बजेसम्म बस्नुका साथै मन्तव्यसमेत दिएका थिए । सोही दिन साढे ७ बजेदेखि करिब डेढ घन्टा राष्ट्रपति रामवरण यादवसँग छलफल तथा डिनर गरी घर पुगेर राति १० बजे सुतेको गिरीले बताए ।
'हामीले तीव्र हृदयाघात ठानेर तुरुन्त नर्भिक ल्यायौं,' गिरीले भने, 'चिकित्सकले तुरुन्त उपचार सुरु गरे । पेसमेकर राखिएको छ । अलि पछि हृदयाघात नभएर मस्तिष्कघात हो कि भन्नेजस्तो आशंका गरिएको छ ।'
गिरीका अनुसार थापालाई हाल मुटु रोग विशेषज्ञ डा. भारत रावतले विशेष निगरानी उपचार प्रणालीमा राखेर उपचार गरिरहेका छन् । चिकित्सहहरूले हाल थापा 'क्रिटिकल्ली स्टेबल' को अवस्थामा रहेको र थप अवस्था बुझ्न २४ घन्टा प्रतीक्षा गर्नुपर्ने जनाएको उनले बताए । २३ वर्षअघि हृदयाघात भएपछि थापाको अमेरिकामा ओपेन हर्ट सर्जरी भएको थियो ।
त्यहाँ भएको उक्त शल्यक्रिया पनि डा. कासलिवालकै टोलीले गरेको गिरी बताउँछन् । थापाले हरेक दुई वर्षमा एकपटक भारत गएर चिकित्सकको सल्लाह लिने गरेका थिए ।
'बिहान उहाँको शरीरमा जीवनको कुनै लक्षण नदेखिएदेखि अहिले ७ बजे साँझसम्म स्थिर रक्तचापको मूल्यांकन गरिरहेका छौं, यो राम्रो स्वास्थ्य लाभ हो,' डा रावतले भने, 'उहाँ अझै भेन्टिलेटरमा हुनुहुन्छ, मुटुको चाल नभएकाले पेसमेकरमा हुनुहुन्छ ।'
थापाको मस्तिष्कको गतिविधिको संकेत रहेकाले आफूहरू आशावादी रहेको उल्लेख गर्दै डा. रावतले भने, 'उहाँ अझै चिकित्सकीय रूपले नाजुक स्थितिमा हुनुहुन्छ, खतरामुक्त हुनुहुन्न ।' थापालाई आकस्मिक कक्षमा पुर्‍याउँदा उनको नाडीको गति, रक्तचाप, श्वासप्रश्वास आदि नभएको अवस्था थियो ।
यस्तै उनको शरीरमा अक्सिजनको मात्रासमेत मापन गर्न सकिने अवस्थामा थिएन । थापालाई तत्कालै कृत्रिम श्वासप्रश्वास विधि, अक्सिजन र आवश्यक इन्ट्राभेनस औषधि प्रयोग गरिएको अस्पतालले जनाएको छ । त्यसपछि समेत उनको स्वास्थ्यमा आशातीत सुधार नदेखिएपछि तत्कालै क्याथल्याब पुर्‍याई उनको मुटुको गति कायम गराउन अस्थायी पेसमेकर जडान गरिएको छ ।
अस्पतालका अनुसार डा. रावत र डा. जेपी जैसवालले थापालाई पेसमेकरको जडान गरेका थिए । पेसमेकर जडानपछि हाल थापालाई कृत्रिम श्वासप्रश्वाससहित मेकानिकल भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार भेन्टिलेटर र पेसमेकर जडानपछि थापाको नाडीको गति ८० विट प्रतिमिनेट हुनुका साथै अन्य महत्त्वपूर्ण संकेतहरूमा नगन्य सुधार देखिएको छ । थापालाई हेर्ने शनिबार एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, पूर्वसभामुख सुवास नेम्वाङ, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, नेता लोकेन्द्रबहादुर चन्दलगायत अस्पताल पुगेका थिए ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको