एसएसपी बढुवा भागबन्डा मिलाउन नेपाल प्रहरीले पाँच दरबन्दी थप गर्न प्रस्ताव
एसएसपी बढुवा भागबन्डा मिलाउन नेपाल प्रहरीले पाँच दरबन्दी थप गर्न प्रस्ताव गरेको छ । प्रस्तावअनुसार गृह मन्त्रालयले अर्थसँग दरबन्दी थपका लागि बिहीबार सहमति मागेको हो ।प्रहरी प्रधान कार्यालयले पाँच क्षेत्रीय प्रहरी तालिम केन्द्रको कमान्डेन्टमा एसपीको सट्टा एसएसपी राख्ने गरी थप दरबन्दी प्रस्ताव गरेको हो । प्रहरीमा अहिले एसएसपीको पाँच दरबन्दी खाली छ । तर, ती स्थानमा वरिष्ठताका साथै गृहमन्त्री विजयकुमार गच्छदार र प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहको सूचीमा परेकालाई समायोजन गर्न नसकिने भएपछि निकासका लागि यस्तो उपाय निकालिएको हो । कुरा नमिलेकै कारण लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको छ । 'अबचाहिँ गाँठो फुक्ला कि,' स्रोतले भन्यो ।वरिष्ठताको पाँच स्थानमा क्रमशः मिलन बस्नेत, भोगबहादुर थापा, पुष्कर रेग्मी, रमेश खरेल र सर्वेन्द्र खनाल छन् ।
तर, गृहमन्त्री गच्छदार तेह्रौं र पन्ध्रौंमा रहेका सुवास चौधरी र राजेन्द्र श्रेष्ठलाई बढुवा गर्ने खेलकुदमा थिए । दसौं क्रममा रहेका योगेश्वर रोमखामी गृहमन्त्री र आइजिपी दुवैको रोजाइका व्यक्ति हुन् । यस्तै, महानिरीक्षक शाहले आठौं र नवौं क्रमका सुबोध घिमिरे र यादवराज खनालको पनि हुनुपर्ने अडान लिएका छन् । प्रहरीमा अहिले ३७ एसएसपीको दरबन्दी छ ।
यसअघि सुडान घोटालामा निलम्बनमा परेका एसएसपीको पदलाई विशेषमा लगेर दरबन्दी खाली गराउने कसरत भएको थियो । त्यसमा अर्थ मन्त्रालयको असहमति र विशेष अदालतले सुडानमा मुछिएकालाई सफाइ दिएपछि महानिरीक्षक शाह र गृहमन्त्री गच्छदारको योजना सफल हुन पाएन । प्रहरीको पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलमा क्षेत्रीय प्रहरी तालिम केन्द्र छन् ।
मुलुक संघीयतातर्फ गइरहेका बेला तालिम केन्द्रमा एसएसपीको दरबन्दी राख्नु राम्रै भए पनि बिना कुनै अध्ययन र योजना राखिनु गलत भएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताए । उनले प्रहरी संगठनको हितका लागि भन्दा व्यक्तिका लागि यो प्रकारका निर्णयहरू हुने गरेको बताए । 'कोही व्यक्तिका लागि बिना कुनै अध्ययन र कार्ययोजनाबिना वरिष्ठ पद लगेर राख्नु गलत हो,' ती अधिकृतले भने, 'एसएसपीको पद मात्र राखेर कुनै परिवर्तन हुँदैन ।' ती अधिकृतले ४/५ जनाको बढुवाका लागि बिनागृहकार्य दरबन्दी बढाउन गरिएका निर्णय राम्रो नहुने बताए ।
0 comments