'राष्ट्रियता र प्रजातन्त्र जोखिममा;;"पूर्व राजा ज्ञानेन्द्र"
भविश्य महापुराणको उद्घाटन गर्न बिराटनगर आएका पूर्व राजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मुलुक, राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको बताउनु भयो । ‘मैले सुरुदेखि नै यी तीन कुरामा जोड दिँदै आएको थिए, आज आए तीनै जोखिममा परे’ रत्ना होटलमा करिव ३ मिनेट सञ्चारकर्मीहरुसँग एकोहोरो सम्वाद गर्नु भएका पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो-’मुलुक नै नरहे हामी नेपाली कसरी रहने ?’

कार्यक्रमका बक्ताहरुले भने पूर्वराजालाई सक्रिय हुन आग्रह गरिरहेका थिए । आफूलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेको सुनिरहेका पूर्वराजा ज्ञानेन्द्र मात्र मुस्कुराई रहनुभयो । राजावादी नेता प्रेमप्रसाद भट्टराईले राजाले देश बताउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’राजनीतिक दलका नेताले देशलाई बर्बाद बनाइसके, अब सारा नेपालीको एकमात्र चाहना पूर्वराजाले देश बचाउनु पर्यो ।’आयोजक समितिका अध्यक्ष कमल निरौलाले ज्ञानेन्द्रलाई ज्ञापन पत्र चढाउँदै जनतामाझ आउन आग्रह गर्नुभयो । ज्ञापन पत्रमा भनिएको छ-’समयको माग हो । राजा, अब तपाई जनतामाझ आइदिनुपर्यो, तपाईको राजगद्धी कुनै पनि बेला पुनस्र्थापना हुनेछ ।’
पूर्व क्षेत्रका पुराना कम्युनिष्ट नेता मानिने निरौलाले हालै कम्युनिष्ट पार्टी परित्याग गरि राजावादी भएको घोषणा गर्नुभएको थियो । पूवराजालाई सिंहासनजस्तो देखिने बिशेष आसनमा राखेका आयोजक भने मञ्चको भुईंमा वसेका थिए ।
पूर्वराजा विराटनगरबाट सुनसरीको झुम्का जाँदा र र्फकदाँ समर्थकहरुले राजा र राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए । ‘राजा आउ, देश बचाउ’ हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका उनीहरुले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए । सुनसरीको दुहवी र इटहरीमा राजावादी र राप्रपा नेपालका कार्यकर्ताले ज्ञानेन्द्रको भव्य स्वागत गरेका थिए । इटहरीमा गाडीको सिसा खोलेर सर्वसाधारणको कुरा सुनेका ज्ञानेन्द्रले ‘हुन्छ-हुन्छ’ भन्दै मुन्टो मात्र हल्लाउनु भएको थियो ।
0 comments