एउटा भ्रष्टाचारी जेल जाँदा यादव दुखी हुँदैनन रे।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता मधेसी भएकाले नभई भ्रष्टाचारी भएकाले जेल परेको बताउनु भएको छ ।आनलाइनखबरका लागि अन्तरवार्ता दिँदै यादवले मधेस आन्दोलन नहुँदै गरेको भ्रष्टाचारमा सर्वोच्चले दोषी ठहर गरेको भन्दै यसलाई मधेससँग जोड्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो-’गिरिजाप्रसाद कोइरालासँग भएका बेला गरेको भ्रष्टाचारमा सर्वोच्चले दोषी ठहर गरेको हो । योसँग मधेस आन्दोलनको कुनै साइनो छैन ।’भ्रष्टाचारीको कुनै जात, समुदाय, धर्म नहुने भन्दै उहाँले भ्रष्टाचारीलाई भ्रष्टाचारीकै रुपमा हेर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’भ्रष्टाचारी भ्रष्टाचारी नै हुन् । गुप्ताले मधेस आन्दोलनमा लागेकै कारण दण्डित गरिएको हो भनेका छन् नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’के पूर्व प्रहरी प्रमुख हेमबहादुर गुरुङले म आदिवासी भएकै कारण जेल हालिएको हो भने मिल्छ ?
’गुप्ता जेल जाँदा सबैभन्दा बढी तपाई खुसी हुनु भो रे नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’एउटा भ्रष्टाचारी जेल जाँदा को दुःखी हुन्छ र ? सबैभन्दा खुसी त उनकै गाउँमा मनाइएको छ ।’ भ्रष्टाचारीहरुलाई तपाईले नै पार्टीमा ल्याएर छुनपानी छर्किएर चोख्याएको हैन भन्ने प्रश्नमा उहाँले गुप्ता, विजयकुमार गच्छदार लगायतलाई पार्टीमा भित्र्याउनु आफू र आफ्नो पार्टीको सबैभन्दा ठूला भूल भएको बताउनु भयो । ‘गुप्ता, गच्छदार लगायतलाई पार्टीमा ल्याउनु नै हाम्रो सबैभन्दा ठूलो भूल हो भनेर हामीले स्वीकार गरिसकेका छौं’ उहाँले भन्नुभयो-’त्यसको परिणाम हामीले भोगिसकेका छौं ।’
फोरम नेपालका अध्यक्ष यादवले पार्टीबाट अलग भइसकेपछि मात्र गुप्ता भ्रष्टाचारमा दोषी ठहर हुँदा पार्टी ठूलो संकटबाट बचेको बताउनु भयो । फोरम नेपालका अध्यक्ष यादवसँगको अन्तरवार्ता शनिबार प्रकाशित गरिनेछ ।
0 comments