सुत्केरी भए पछीको सेक्स कस्तो हुन्छ ?

आमा बन्नु आफैंमा नारी यौनिकताको एक उत्कृष्ट अभिव्यक्ति हो। त्यसैगरी कसैको पिता हुनु पनि उनको यौनिकताको उत्कृष्ट अभिव्यक्ति हो। यथार्थ के हो भने यौनसम्पर्कको परिणतिको रुपमा अन्त्यमा बच्चा जन्मन्छ। यो वंश परम्पराको लागि आवश्यक अनि प्रकृति निर्देशित कुरा हो। यो एक सृष्टि हो। त्यसैले कुनै पनि समाजमा सन्तानको जन्म विशेष महत्त्वले हेरिन्छ। सन्तान जन्मनु आमाको लागि मात्र होइन, पिता र परिवारको लागि पनि सुखद कुरा हो। 

यौनजीवनको नै यो एक महत्त्वपूर्ण पक्ष भए पनि सन्तान जन्मने क्रममा यौनक्रियाकलापमा संलग्न हुने कुरामा भने केही भिन्नता आउन सक्छ। यौनेच्छा वा जाँगर मात्रै होइन, यौनप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ।

सुमन र अमिताको जस्तो स्थितिबाट प्रत्येकजसो पत्नीव्रता पिता बनेका पुरुषले वा पत्रि्रता आमा बनेका नारीले यौनसम्पर्क कहिलेदेखि राख्ने वा राख्न हुने वा नहुने भन्ने द्विविधाको समस्या भोग्नुपरेको हुन्छ। नियमित रुपमा गरिने यौनसम्पर्कको क्रम यस अवस्थामा टुटेको हुन्छ र यसलाई फेरि कसरी निरन्तरता दिन सकिन्छ भन्ने प्रश्नको ठोस जवाफ पाउन गाह्रो हुने गरेको पाइन्छ। सजिलै यसबारे न त कुराकानी गर्न मिल्छ, न आवश्यक सल्लाह नै पाइन्छ। दुःखको कुरा के भने चिकित्सक वा स्वास्थ्यकर्मीले पनि यसबारे स्पष्टरुपमा राम्ररी बताउने गर्दैनन्।

सुत्केरीपछि यौनजीवनमा असर पार्ने कुरा

कतिपय शारीरिक वा मानसिक कारणले शिशुको जन्मपछि दम्पतीको यौनजीवनमा वा यौनक्रियाकलापमा नकारात्मकरुपमा प्रभाव परिरहेको हुन सक्छ। शारीरिक कारणमा थकान, स्तनको भारीपन, पीडाजस्ता कारण प्रमुख हुन्छन् भने मानसिक वा भावनात्मक कुरामा शरीरको विम्ब, निराशाजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ। शिशुको जन्म आफैंमा सुखद पक्ष भए पनि शिशु जन्मेका सुरुका महिनाहरू तनावमुक्त भने हुँदैन। यस बेला आफैंमा बाझिने किसिमका भावनाहरू आउन सक्छन्।

थकानः प्रस्रवको थकाइपछि आमाले आराम गर्नुको सट्टा शिशुको हेरचाहको जिम्मेवारी लिनुपर्ने प्राकृतिक बाध्यता छ। यो कार्यमा पर्याप्त समय लाग्ने मात्र होइन, प्रशस्तै कार्य गर्नुपर्ने हुन्छ। जसको कारणले स्वाभाविक रुपमा निकै थकाइ लाग्ने हुन्छ। बच्चाको हेरचाहको लागि जुनसुकै बेला तयार रहनुपर्छ र आवश्यकता हुनासाथ काम गरिहाल्नुपर्छ। स्तनपान गराउनुपर्ने होस् वा दिसापिसाबपछि सफा गर्ने कुरा होस्, शिशु स्याहारका यी कामले आमालाई व्यस्त बनाउँछ। अन्य व्यक्तिजस्तो मस्त हुने गरेर रातभरि सुत्न पनि नपाइने हुँदा थकान बढी नै हुन्छ। बच्चाको हेरचाह मात्रैले होइन, सुत्केरी अवस्थामै पनि ँबुहारी’ महिलाले कतिपय घरेलु कार्यमा लाग्नुपर्ने हुन्छ। 

स्तनपानः गर्भावस्था सुरु भएपछि र सुत्केरी अवस्थामा स्तनहरू भारी र केही दुख्ने हुन्छ। यस्तो बेलामा महिलाको स्तनको स्पर्शप्रतिको प्रतिक्रिया पनि यौनको दृष्टिले फरक हुन सक्छ। कतिपय महिलालाई सो यौनउत्तेजक लाग्नुको सट्टा असजिलो लाग्न सक्छ। स्तनपानसँगै सम्बन्धित हर्मोनको मात्रामा भएको परिवर्तनले इस्ट्रोजनको मात्रामा केही कमी ल्याउँदा योनिमा केही सुख्खापन पनि हुन सक्छ।

केगेल कसरतः प्रस्रव अवस्थामा शिशु बाहिर निस्कन भगक्षेत्रको मांसपेशी -योनि, मूत्रनली र गुदद्वार) लचिलो हुन सक्ने किसिमको हुन्छ। यो मांसपेशी पुरानै अवस्थामा आए पनि यौनक्रियाकलापका लागि सहज भइसकेको हुँदैन। यो मांशपेशी कसरत गरेर बलियो बनाउन सकियो भने सहज हुन्छ। यौना· क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल (Kegel) कसरत भनिन्छ। 

यस्तो कसरत गर्नका लागि महिलाले निम्न कुरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले प्युबोकक्सिजिअस (pubococcygeus) भनिने मांसपेशी समूहलाई पहिचान गर्नुपर्छ। यसको लागि पिसाब फेर्दै गर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्‍याउने, तेहर्‍याउने गरेर सो मांसपेशीको पहिचान गर्नुपर्छ। यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशी नै सो मांसपेशी हो। यसले योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ। यसको कसरत गर्न सुरु गर्नुपर्छ। सुरुमा करिब १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने गर्नुपर्छ। बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ। बिस्तारै यो १० देखि १५ पटकसम्म खुम्च्याउने र छोड्ने गर्नुपर्छ। यो क्रम बढाउँदै दिनभरिमा २० पल्टसम्म पुर्‍याउनुपर्छ। यसरी ६ हप्तासम्म नियमित रुपमा कसरत गरेमा थाहा पाउने गरी केही फरक देखिन्छ। यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कको बेलामा दुवै जनालाई यौनसुख प्राप्त गर्न मद्दत मिल्छ।

दुखाइः प्रस्रव र शिशु जन्मको अनुभव वास्तवमा प्रत्येक महिलाका लागि फरक-फरक हुन सक्छ र अनि पीडाको कुरा पनि। कम-बढी जे भए पनि दुखाइ वा पीडा भने हुन्छ नै। विशेष गरेर शिशु जन्मने बेलामा योनिद्वार ठूलो बनाउने शल्यक्रिया इपिसियोटोमी (episiotomy) वा शिशु निस्कने क्रममा योनि वा भगक्षेत्रमा लागेको चोटपटकले होस् वा शल्यक्रिया वा च्यातिएको सिलाउँदाको टाँका होस्, दुखाइ वा पीडाको कारण हुन सक्छ। केही गरेर शल्यक्रिया सिजेरियन (Caesarean) गरेर बच्चा जन्माइएको स्थितिमा पनि पेट चिरेको स्थानको घाउमा पीडा हुन सक्छ। यी कुराले यौन क्रियाकलापमा वाधा त पर्छ नै। 

फेरि यौनसम्पर्कको बारेमा तनाव बढी लिइएमा वा चिन्ता बढी गरिएमा यौनसम्पर्कको बेला योनिमा बढी पीडाको अनुभव हुन सक्छ। यौनसम्पर्क पीडायुक्त हुँदा यो कार्य सुखमय नहुने कुरा पक्कै हो। 

शरीरको विम्बः गर्भावस्था अनि सुत्केरी अवस्थामा महिलाको शरीरको स्वरुपमा निकै परिवर्तन हुन्छ। अनि शिशुको जन्मपछि गर्भावस्थाभन्दा पहिलेको अवस्थामा नै शरीरको स्वरुप तुरुन्तै फर्कियोस् भन्ने चाहना हुन सक्छ। तर यथार्थमा यसो हुँदैन। यसको लागि केही समय लाग्न सक्छ। यस्तो स्थितिमा आत्मसम्मान र आत्मविश्वासमा नै धक्का लागेको अनुभव हुन सक्छ। आफू आकर्षक नदेखिएको र अरुको प्रिय पात्र हुन नसक्ने जस्ता कुरा मनमा आउन सक्छन्। यस्तो स्थितिमा यौनजीवन र सम्बन्धको न्यानोपनमा असर पर्न सक्छ।

निराशाः सन्तानप्राप्ति आमाको लागि सबैभन्दा सुखको कुरा हुनुपर्ने हो तर पनि कहिलेकाहीँ आमा अनि शिशुको पितामा पनि तनाव र निराशाका भावना आउन सक्छन्। कहिलेकाहीँ त अर्को बच्चालाई पनि हल्का निराशाले छुन सक्छ। निद्रा नपुग्ने, राम्रो भोजनको अभाव अनि थकान सबैले नै मनस्थितिमा परिवर्तन, तनाव र निराशालाई बढाउन सक्छ। यस्तो कुराले यौनसम्पर्कमा नकारात्मक प्रभाव पर्ने हुन्छ।

यौनसुखमा बाधा पुर्‍याउने अन्य कुरा 

माथ उल्लिखितबाहेक अन्य कतिपय कुराले पनि दम्पतीको यौनजीवनमा नकारात्मक असर पारिरहेको हुन्छ। बच्चा बिउँझेला भनेर होस् वा अर्को बच्चाको निद्रा खलबलिएला भनेर होस्, यौनक्रियाकलापमा नकारात्मक असर पर्न सक्छ। कतिपय पश्चिमी मुलुकमा जस्तो बच्चालाई अर्को कोठामा सुताउने कुराले यसमा सहयोग पुर्‍याए पनि केही सीमित परिवारबाहेक नेपालमा धेरै परिवारमा यसो गर्न गाह्रै छ। 

पहिले सबैभन्दा बढी लोग्नेको हेरचाह गर्ने भए पनि अब सन्तान प्राप्तिपछि पत्नीको ध्यान बच्चाको हेरचाहमा मात्र जाँदा पतिले आफूलाई बेवास्ता गरेको ठान्न सक्छ। त्यसले गर्दा पति-पत्नीको सम्बन्धमा नै नकारात्मक असर पर्न सक्छ, सम्बन्धमा चिसोपन आउन सक्छ। यस्तो स्थितिमा पक्कै यौनसुख प्राप्त गर्न सकिने हुँदैन। अन्य कतिपय देशमा जस्तै नेपालमा पनि लोग्ने मान्छेलाई बच्चाको हेरचाहमा संलग्न गराउने चलन छैन। यस्तो कुराले बच्चाको हेरचाह गर्ने कुरामा सहयोग पुर्‍याउने कुरा कता हो कता, नवजात शिशुको हेरचाह कति कठिन हुँदोरहेछ भनेर समेत थाहा हुँदैन। यौनसम्बन्धबाट आफू वञ्चित भएको अनुभव गरेर कतिपय व्यक्तिले यही अवधिमा वैकल्पिक उपाय खोज्ने क्रममा अर्को व्यक्तिसँग यौनको दृष्टिले नजिकिन पुग्छन्। यस्तो बेलामा पारिवारिक सम्बन्धमा नै दीर्घकालीन नकारात्मक असर पर्न सक्छ।

गर्भ रहला कि भन्ने भय अर्को महत्त्वपूर्ण पक्ष हो। कतिपय व्यक्तिलाई एक शिशुको जन्म भइसकेपछि फेरि गर्भ रहन कति समय लाग्छ वा यसबाट बच्न सकिन्छ भन्ने कुरा थाहा हुँदैन। त्यसैले कतै अर्को गर्भ रहन्छ कि भन्ने भयले पनि महिला वा उनको पतिलाई यौनक्रियामा राम्ररी संलग्न हुन हिचकिचाहट हुन सक्छ। 

ध्यान दिनुपर्ने कुरा

धेरै दम्पतीको मनमा प्रश्न हुने गर्छ- कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्न हुन्छ - सबैको लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रुपमा भन्नुपर्दा दुवैले उपयुक्त ठानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय ठानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा राखेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित ठानेको भेटिन्छ।

विभिन्न तर्कहरू भए पनि सर्वप्रथम सुत्केरी अवस्था रहेकी आमा शारीरिक तथा मानसिक दुवै रुपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रुपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाएमा वा दबाब दिएमा के गर्ने भन्ने भय कतिपय नेपाली महिलाहरूमा हुन सक्छ र यो एक निकै असजिलो परिस्थिति हो। 

त्यसैले आफ्ना मनमा भएका दुःख अनि अप्ठयारालाई पतिको सामु खुलस्त राख्नुपर्छ र कुराकानी गर्नुपर्छ। बच्चालाई मात्रै ध्यान दिँदा पतिले आफूलाई परित्याग गरेको अनुभव हुन सक्छ। उसले आफ्नी पत्नीले किन यौनसम्पर्क राख्न तयार वा उत्सुक नभएको भन्ने कुरा बुझेको हुँदैन। यो कुरा राम्ररी बुझाउन जरुरी छ। आफूलाई लागेको चिन्ता वा शारीरिक वा अन्य असजिलोको बारेमा पनि राम्ररी भनिदिनुपर्छ। अर्कोतिर बच्चाको हेरचाहमा सक्दो संलग्न गराई सहयोगी बनाउन सकिएमा यी सम्बन्धमा चिसोपन आउने कुरालाई रोक्ने मात्र होइन, आमा र पिताको मात्रै नभई शिशुको माया पनि बढ्न सक्छ। 

यौनक्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा यसको लागि दुवैले केही समय निकाल्नुपर्छ। कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौनक्रियाकलाप अघि बढाउन सहयोगी हुने गर्छन्। तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भइहाल्नुपर्छ भन्ने केही छैन।

यौनक्रियाकलाप; सहज बनाउने उपाय

प्रस्रवका सुरुका केही दिनहरूमा हुने योनिश्राव बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापनको महसुस गर्न सक्छन्। योनि सुख्खा भएको अनुभव छ भने K-Y jelly वा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न सकिन्छ। केगेल कसरत एकदम लाभदायक हुन्छ। यसले योनि तथा भगक्षेत्रको मांसपेशीलाई बलियो बनाउन सहयोग गर्छ। यौनउत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रुपमा सक्रिय किसिमको यौनसम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन। कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयष्कर हुन्छ। स्पर्श, अंकमाल अनि बिस्तारै यौना·को स्पर्श, सहजता हेरी अघि बढ्ने र सजिलो आसनको प्रयोग गर्नुपर्छ। असजिलो भएमा बन्द गर्ने, राति नै बेस्सरी थाकेको बेलामा यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन। 

थकान पक्कै यौनक्रियाकलापमा संलग्न हुन बाधक हुन सक्छ। यसमा राम्रो कुरा के भने बच्चाहरु प्रशस्तै सुत्ने गर्छन्। थाक्नुभन्दा पहिले नै यसो बच्चा सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ। बच्चा सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ। हल्का र थोरै तर पटक-पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ। बच्चा हेरिदिने कोही भएमा त्यसको उपयोग आरामको लागि गर्ने गरेमा पनि सहयोग पुग्छ। पोषणमा विशेष ध्यान दिनुपर्छ। पर्याप्त रुपमा झोल पदार्थ पिउनुमा लाभदायक हुन्छ। सक्दो आराम गर्ने बानी बसाल्नुपर्छ भनिए पनि कतिपय ँबुहारी’ आमाका लागि विभिन्न कारणले यो गर्न सजिलो कुरा होइन।

दुखाइको कारणले यदि असजिलो भइरहेको छ भने हतार गर्नु राम्रो होइन। कम पीडा हुने आसनको प्रयोगमा विशेष ध्यान दिनुपर्छ। अन्य कुनै चिप्लो पदार्थ अनि अन्य यौनक्रियाकलापमा संलग्न हुनु राम्रो विकल्प हुन सक्छ। चुम्बन, अंकमाल, शरीरको घर्षणजस्ता यौनक्रियाकलाप यौनसुखलाई निरन्तरता दिने विकल्प हुन सक्छन्। आफ्नो यौनेच्छा शान्त पार्न सुत्केरी पत्नीलाई यौनसम्पर्कको लागि दबाब दिनुको सट्टा हस्तमैथुन राम्रो विकल्प हुन सक्छ। 

शरीरको विम्बप्रति चिन्ता छ र विकर्ष लागेको छ भने त्यसलाई पहिले नै राम्ररी छलफल गरिनुपर्छ। के-कस्ता परिवर्तन दीर्घकालीन होलान् र के कुरा पहिलेकै जस्तो अवस्थामा फर्किन्छ भन्ने कुरा स्वास्थ्यकर्मी वा चिकित्सकसँग सोधेर अनावश्यक चिन्ता हटाउन जरुरी छ। यस्तो अवस्थामा सहयोग र आश्वासन वा ढाडस बढाउनु आवश्यक पर्ने देखिन्छ। कमैलाई मात्र हुने भए पनि केही महिलालाई चिकित्सकको सहयोग चाहिने गरी पोस्ट न्याटल डिप्रेसन (Post-natal depression) हुन सक्छ।

गर्भको भयको कारणले यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना गइसक्यो। गर्भावस्थादेखि नै आफ्ना परिवारको योजना गर्न सकिएमा सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ। बच्चालाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ भने प्रोजेस्टेरोन मात्रै भएका चक्की वा सुई -डिपो) प्रयोग गर्न सकिन्छ। कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने हुन्छ।

भर्खरै जन्मेको शिशुको हेरचाह गर्नुमा आमाको संलग्नता बाध्यता भए पनि केही जिम्मेवारी पिताले पनि लिएमा यौनसुखका साथै पारिवारिक सम्बन्ध बलियो बनाउन मद्दत पुग्छ। पति-पत्नी र शिशुको सम्बन्ध गहिरो र प्रेममय बनाउने कुरामा झनै सहयोग पुग्छ। यौनसम्पर्कको बेलामा पीडा हुन बन्द नभएमा वा अस्वाभाविक योनिश्राव वा रक्तश्राव भएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिइहाल्नुपर्छ।






by;google.com

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको