यसरी किन मुछिएका होलान बलिउड स्टारहरु
एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा बलिउड अभिनेता सैफ अली खानमाथि मुद्धा परेपछि विवादमा नफस्ने बलिउड हस्ती भेट्टाउनै गाह्रो पर्ने भएको छ ।बलिउडका एक से एक हस्तीहरु बेलाबेलामा विभिन्न काण्डमा फसिरहन्छन् र कानुनको फन्दामा पर्छन् ।वास्तवमा सबै मान्छेले जिवनमा कुनै न कुनै गल्ती गरेकै हुन्छ र विवादमा तानिन्छ । सामान्य मान्छे जतिधेरै विवादमा परेपछि खासै चर्चा हुन्न तर सेलिबे्रेटीहरु सामाजिक मान्छे भएकाले उनीहरुका साना गल्ती पनि पर्दाफास हुन्छन् ।
कतिपय अवस्थामा सेलिब्रेटीहरुले गरेको गल्ती फ्यानहरुले नतमस्तक भएर सहिदिन्छन् जसका कारण सेलिब्रेटीहरुले आफ्नो स्टाटसको फाइदा उठाउन पाउँछन् । तर कहिलेकाहीँ सेलिब्रेटीहरुका लागि उनीहरुको ओहोदा घाँटीमा अडि्कएको हाड बन्छ र सानो गल्तीका कारण पनि ठूलो बेइज्जती वा दुस्प्रचार भोग्नुपर्छ ।
बलिउडमा यस्तै विवादमा तानिएका केही कलाकारहरुको चिनारी यहाँ प्रस्तुत छ :
सलमान खान : सलमान खान बलिउडमा प्राय विवादमै आइरहने हिरो हुन् । उनीमाथि लोपोन्मुख जनावर कृष्णसारको सिकार गरेको मुद्धा अहिले पनि अदालतमै चलिरहेको छ । १४ वर्षअघि उनीविरुद्ध हालिएको मुद्धाको अन्तिम फैसला अझै भएको छैन र उनले यहीँ अभियोगका कारण सन् २००६ मा केहीदिन जेलमा समेत बस्नुपरेको थियो । सलमानमाथि व्यक्तिहत्याको समेत अभियोग लागेको थियो । मदिरा सेवन गरी उनले चलाएको कारले ठक्कर दिँदा एक जनाको ज्यान गएको र ३ जना पैदलयात्री घाइते भएको घटनामा उनीविरुद्ध व्यक्तिहत्याको मुद्धा हालिएपनि अन्ततः उनले सफाइ पाए ।
संजय दत्त : अवैध रुपमा हतियार राखेको आरोपमा पक्राउ परी सन् १९९३ मा उनीविरुद्ध मुद्धा परेको थियो । आतंककारी तथा विध्वंसात्मक कानुन अन्तरगत उनीमाथि चलिरहेको मुद्धाको अझै फैसला भैसकेको छैन । उनले यसबीचमा २२ महिना जेलमा समेत बिताएका छन् । सन् २००७ मा उनी धरौटीमा रिहा भएका थिए ।
जोन अब्राहम : मोटरसाइकलले ठक्कर दिएर दुइ जनालाई घाइते बनाएको अभियोगमा जोनविरुद्ध लागेको मुद्धा पनि अहिलेसम्म विचाराधिन नै छ । उनले निकै तिब्र गतिमा चलाएको मोटरसाइकलले ठक्कर दिँदा सन् २००६ मा २ जना युवक घाइते भएका थिए ।
फरदीन खान : अवैध लागुऔषध राखेको अभियोगमा पक्राउ परेका खानविरुद्ध सन् २००१ मा मुद्धा परेको थियो । खान सहित अरु २ जना ९ ग्राम कोकिन सहित पक्राउ परेका थिए । तर खानले भने आफुसँग उक्त कोकिन नरहेको दाबी गर्दै सफाइको आग्रह सहित निवेदन दिएका छन् । यद्यपि उनको मुद्धाको फैसला भने भैसकेको छैन ।
प्रीति जिन्टा : जिन्टामाथि सन् २००९ मा आइपिएल क्लब किंग्स इलाभेन पंजाबको आर्थिक हिसाबकिताब लुकाएको आरोपमा मुद्धा परेको थियो । प्रीटिले आफुविरुद्ध परेको मुद्धाको प्रतिवाद गर्दै अदालतमा रिट दायर गरिन् । दुबै पक्षले आआफ्नो दाबी सहित हालेको मुद्धामा सुनुवाइ गर्दै अदालतले विवाद आफै टुंगाउन आग्रह गरी मुद्धा खारेज गरेको थियो ।
By;onlinekhabar.com
By;onlinekhabar.com
0 comments