सर्वोच्च अदालतमा ४ बटा रिट
संविधानसभाको म्याद थप्ने सरकारी प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट पारेको छ ।
सर्वोच्चका
प्रवक्ता श्रीकान्त पौडेलका अनुसार अधिवक्ता बालकृष्ण न्यौपाने र समाजसेवी
भरतमणि जङ्गम, अधिवक्तात्रय, जगदेव चौधरी, चन्द्रलाल श्रेष्ठ र राजकुमार
राना र अर्का अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टा छुट्टै रिट दायर
गर्नुभएको हो । पौडेलले अनलाइनखबरसँग भन्नुभयो-’सरकारको प्रस्ताव
सर्वोच्चको फैसला र संविधानको धारा १ सय १६ विपरित छ, त्यसलाई बदर गरि
अन्तरिम संविधान संशोधन प्रक्रिया रोक्न माग गर्दै ४ बटा रिट परेको छ ।’
४ बटै रिट भोलि बिहीबार नै इजलासमा पेश
हुनेछ । इजलासले रिट निवदेकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने
नगर्नेबारे निर्णय सुनाउने छ । सर्वोच्चको आदेशलाई लत्याउँदै सरकारले म्याद
थप्न बिधेयक दर्ता गरेपछि असन्तुष्ट भएको भनिएको सर्बोच्च अदालतले यी
रिटलाई कति प्राथमिकताका साथ सुनुवाई गर्छ त्यसमै संबिधानसधाको बैधानिकता
निर्भर रहनेछ ।
सरकारले मंगलबार मात्र संविधानसभाको म्याद
३ महिना थप्न अन्तरिम संविधानको १३ औं संशोधन विधेयक संसद सचिवालयमा दर्ता
गराएको थियो । सरकारको प्रस्ताव सर्वोच्चको फैसला विपरित भएको भन्दै
सत्तारुढ कांग्रेस र एमालेले विरोध गर्दै आएका छन् ।
गत मंसिर ९ गते संविधानसभाको म्याद अन्तिम
पटक ६ महिना थप्न अनुमति दिएको सर्वोच्च अदालतले थपिएको समयमा संविधान
नबने संविधानसभा स्वत विघटन हुने र जनमत संग्रह वा फेरि निर्वाचन गर्न आदेश
दिएको थियो । सर्वोच्चको फैसलाविरुद्ध सरकार र संसद सचिवालयले दिएको
पुनरावलोकको निवेदनलाई समेत सर्वोच्चले अस्वीकार गर्दै म्याद थपको कानुनी
बाटो बन्द गरिदिएको थियो
0 comments