म्याद थपको विरोधमा कांग्रेस र एमाले;प्रधानमन्त्रीको राजीनामा माग

                                                               संविधानसभाको म्याद थप्ने प्रस्तावको विरोध गर्दै कांग्रेस र एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा मागेका छन् । उनीहरूले तीन दिनभित्र संविधानका विवादित विषय टुंग्याउन पनि अडान राखेका छन् ।
जति काम सकिन्छन्, तिनलाई पारित गरी बाँकी विषय रूपान्तरित संसद्लाई छाडेर तीन दिनभित्रै संविधान जारी गर्न सकिने उनीहरूको निष्कर्ष छ ।
माओवादी र मधेसी मोर्चाले भने कांग्रेस-एमाले संविधानसभा विघटन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । दुई दल प्रधानमन्त्रीको राजीनामाको मुद्दा उठाएर संविधानका विवाद पनि नमिलाउने र संविधानसभा विघटन गर्नेतर्फ लागेको उनीहरूको ठहर छ ।
कांग्रेस-एमालेले १४ गतेभित्रै एकमुष्ठ सहमति गरेर त्यसपछि संविधानको मस्यौदा र घोषणातिर लाग्नुपर्ने प्रस्ताव चार दलको बैठकमा गरेका थिए । सिंहदरबारमा दिउँसो बसेको चार पक्षको बैठकमा उनीहरूले प्रधानमन्त्रीको राजीनामासहित संविधानका सबै विषयमा एकमुष्ठ सहमति हुनुपर्ने प्रस्ताव राखेका हुन् ।
'१४ गतेअघि नै आमसहमति गरी संविधान जारी गर्नुपर्छ, त्यसभित्र प्रधानमन्त्रीको राजीनामा पनि पर्छ,' एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने, 'यसका लागि तीनवटा काम गर्नुपर्छ, पहिलो- आमसहमति कायम गर्ने, दोस्रो- संविधानको मस्यौदा बनाई संविधानसभामा लैजाने र तेस्रो- संविधान घोषणा गर्ने । पहिलो अघि बढ्यो भने अन्य प्रक्रियामा जान सकिन्छ ।'

कांग्रेस महामन्त्री तथा उपप्रधानमन्त्री कृष्ण सिटौलाले म्याद थप्ने प्रस्ताव लैजानु गलत भएको स्वीकार्दै ५ बुँदे सहमति अनुसार जसरी पनि १४ गतेभित्र संविधान जारी गर्नुपर्ने बताए । '१४ गतेपछि संविधानसभा रहन्छ/रहँदैन टुंगो छैन, प्रधानमन्त्रीले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ, यो ५ बुँदे सहमतिको दोस्रो चरणको कार्यान्वयन गर्ने बेला हो,' उनले भने । उनले यसका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे ।
माओवादी र मोर्चाले संविधान घोषणा गर्ने सुनिश्चित भएकाले पाँच बुँदे सहमतिअनुसार पनि प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर्क गरेका छन् । उनीहरूले प्राविधिक रूपमा संविधान जारी गर्न समय नरहेकाले १४ गतेअघि सबै विषयमा सहमति कायम गरी केही समय म्याद थपेर संविधान जारी गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, कांग्रेस-एमाले नसकिएका विषय रूपान्तरित संसद्लाई छाड्न सकिने भन्दै म्याद बढाउनै नहुने अडानमा उभिए ।
'कांग्रेस-एमालेले एकल रूपमा सरकारको मात्र एजेन्डा उठाएर संविधान निर्माणलाई उपेक्षा गरेका छन्,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'जेठ १४ अघि संविधान घोषणा हुने अवस्था छैन । तर बाँकी विषयमा सहमति गर्न सकिन्छ ।' उनले संविधानसभा विघटन भयो भने दुर्भाग्यपूर्ण अवस्था आउनेप्रति आफूहरूले सचेत गराएको जानकारी दिए ।
कांग्रेस-एमालेले सहमति नभएको अवस्थामा प्रक्रियाबमोजिम मतदानबाट अघि बढ्न पनि नमानेर अड्को थापेको उनले आरोप लगाए ।
'उहाँहरू संविधानसभा विघटन गर्ने षड्यन्त्रमा हुनुहुन्छ । त्यसैले प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न,' श्रेष्ठले भने, 'पाँच बुँदे सहमतिमा पनि प्रधानमन्त्रीले संविधान घोषणाअघि राजीनामा दिने भनिएको छ ।
तर, अहिले संविधान घोषणाको वातावरण बनिसकेको छैन ।' मोर्चाका नेता राजेन्द्र महतोले आफूहरूले सहमति र संविधानको विषयलाई प्राथमिकता दिँदादिँदै कांग्रेस-एमाले सरकारतर्फ केन्दि्रत भएको आरोप लगाए ।
चार पक्षको बैठकपछि साँझ पुनः छलफल गर्ने भन्दै कांग्रेस र एमालेका नेता आन्तरिक बैठकतर्फ लागेका थिए । कांग्रेसको पार्टी कार्यालयमा केन्द्रीय समिति र एमालेको सिंहदरबारमै स्थायी समिति बैठक बसेको थियो । कांग्रेस केन्द्रीय समितिमा पनि राजीनामाको माग चर्कियो भने एमाले स्थायी समितिले औपचारिक निर्णय नै गर्‍यो ।
'प्रमुख दलहरूबीच यसअघि पाँच बुँदे सहमति भइसकेकाले त्यसका आधारमा प्रधानमन्त्रीले अविलम्ब राजीनामा गरी राष्ट्रिय सहमतिको सरकार निर्माणमा मार्ग प्रशस्त गर्नुपर्छ,' एमालेको निर्णयमा छ । तर १४ गतेभित्र संविधान निर्माणका सवालमा दलहरूबीच सहमति कायम गर्न वार्तालाई निरन्तरता दिने पनि एमालेले निर्णय गरेको छ ।
स्रोतका अनुसार कांग्रेस र एमालेले जसरी पनि संविधानका सबै विषयमा अन्तिम सहमति गरी मस्यौदासम्म तयार गर्न दबाब दिने रणनीति स्वरूप तत्काल प्रधानमन्त्रीको राजीनामाको कुरा उठाएका हुन् । सबै विषयमा सहमतिसहित मस्यौदा तयार भयो भने संविधान घोषणाका लागि आवश्यक पर्ने समयसम्म म्याद थप्न सकिने मत पनि पार्टीभित्र छ । तर, यथास्थितिमा सर्वोच्चको आदेशको अपमान गर्दै म्याद थप्न नहुने तीव्र दबाब कांग्रेस—एमालेमा छ ।
त्यसैले उनीहरू जसरी पनि कुनै न कुनै रूपको संविधान १४ गते जारी गर्नैपर्ने निष्कर्षमा पुगेका हुन् ।

0 comments

Post a Comment

Blog Archive

Join Us On Facebook

Please Wait 10 Seconds...!!!Skip
Powered by Blogger.

Text Widget

यो ब्लगको साथी बन्नु होस्

My Friend Blog List

Hello

Download

Online Friends

धेरैले पढ्नु भएको