छैटौं राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदै
आठ दिन चल्ने राष्ट्रिय खेलकुदमा नेपाली सेनाको टोली भने सहभागी हुने छैन। पाँच विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माओवादीको पिएलए र विश्वविद्यालय गरी नौ टोलीका खेलाडीले ३१ खेलमा प्रतिस्पर्धा गर्नेछन्। २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला खेलाडीसहित करिब ५ हजार खेलकर्मी सहभागी हुनेछन्।
सुदूरपश्चिमका धनगढी र महेन्द्रनगर लगायत स्थानमा प्रतिष्पर्धा हुनेछ। पहिलो दिन नौ खेल हुने आयोजकले जनाए।
देशभरका खेलाडीलाई एकै थलोमा प्रतिभा प्रदर्शनको अवसर दिन तीन दशकअघि राष्ट्रिय खेलकुद सुरु भएको हो। प्रतिभा देशभर भौतिक पूर्वाधार निर्माण उद्देश्यसमेत यसले राखेको थियो। नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव प्रत्येक दुई वर्षमा गर्ने योजना त्यो बेला राखे पनि तीस वर्षमा बल्ल छैटौंपटक यो महोत्सव हुँदै छ।
व्यवस्थापन कति कमजोर छ भने धनगढीस्थित रंगशालाको प्यारापिट ढलान गर्दा राखिएका फर्मा अझै निकालिएको छैन। मैदानको सतह खेल्नलायक छैन। धुलोले खेलाडी बिरामी परे अचम्म हुने छैन।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव युवराज लामाले पर्याप्त समय नपाउँदा सोचेजस्तो तयारी हुन नसकेको बताए। 'छोटो समयमा रातदिन नभनी यो ठाउँ अहिलेलाई प्रतियोगिता गर्न लायक पारेका छौं,'
तयारी समिति संयोजक दीपक सावदले भने, 'हामीले पनि छैटौं राष्ट्रिय खेलकुदको माध्यमले सुदूर पश्चिममा केही भौतिक पूर्वाधार निर्माण होस् भन्ने चाहेका छौं। राज्यले निकासा गरेको सबै रकम सही ढंगले सदुपयोग गरिरहेका छौं।' तीन महिनामै सबै तयारी पूरा गरेको उनले दाबी गरे।उनका अनुसार धनगढी रंगशाला निर्माणका लागि चारवर्षे योजना बनेको छ। तत्काललाई राष्ट्रिय खेलकुद गर्न मिल्ने गरी रंगशाला बनाउने सम्झौता भएको उल्लेख गर्दै उनले चार वर्षमा यसलाई चारैतिरबाट प्यारापिटले घेरिने बताए। अहिले निर्मित प्यारापिट १ हजार ७ सय दर्शक क्षमताको छ।खेलाडी बसोबास व्यवस्था पनि यहाँको समस्या बनेको छ। सीमित होटल भएको धनगढीमा खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई यहाँका विद्यालयमा राखिएको छ। 'यहाँ होटल नपाउने रहेछ, एउटै कोठामा चार जनासम्म राखिएको छ, होटलमा ओछयानसमेत छैन,' एक खेलाडीले भने। परिषदले खान र बस्न प्रत्येक खेलाडीलाई दैनिक ८ सय रुपैयाँ दिएको छ।
धनगढी रंगशालालाई आइतबारका लागि सिँगार्ने काम शनिबार अबेरसम्मै चलेको थियो।
सुदूरपश्चिमकै ओलम्पियन खेलाडी दीपक बिष्टले ओलम्पिक दीप प्रज्वलन गरेपछि खेलकुद सुरु हुनेछ। उद्घाटन समारोहका लागि ५० लाख रुपैयाँको बजेट राखिएको छ। उद्घाटनमा करिब ८ सय सुरक्षाकर्मी र २ सय स्वयम्सेवक हुनेछन्।
0 comments