नेपाली
»
"प्रचन्ड निवास घेर्ने भए वाइसिएलले"
"प्रचन्ड निवास घेर्ने भए वाइसिएलले"
अध्यक्ष पुष्पकमल दाहालको बोलीमा बिश्वास नभएको भन्दै वाइसिएलले 'लिखित रुपमा आर्थिक प्याकेज उपलब्ध गराउने प्रतिबद्धता नजनाए दाहालकै निवास घेराउ गर्ने' चेतावनी दिएका छन् । वाइसीएल नेताहरुले 'वाइसीएलका लागि भनेर लडाकुबाट एक/एक हजारका दरले तलबबाट उठाएको रकम' सार्वजनिक गर्न माग समेत गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको वाइसीएल केन्द्रीय समिति बैठकमा प्याकेजलाई व्यवहारमा कार्यान्वयन नगरे पार्टीभित्र देखिएका बिकृतिको भण्डाफोर गर्ने अडान व्यक्त गरेका थिए । बैठकमा उपस्थित दाहालले भने 'छिट्टै प्याकेज उपलब्ध गराउने' मौखिक प्रतिबद्धता जनाए । प्याकेज दिन ढिलाइ भएकोमा दाहालले दुःख पनि व्यक्त गरेका थिए ।
'वाइसीएलका उचित माग पुरा गर्न ढिला भएकोमा दुःख लागेको छ' दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'आइतबार केन्द्रीय पदाधिकारी बैठक बसेर निर्णय गर्छौ ।' केही समयअघि लडाकुबाट वाइसीएलमा ल्याइएका बैद्य पक्षीय लडाकुले माग पुरा गर्ने ४८ घण्टे अल्टिमेटम दिएका थिए । बैद्य पक्षका मात्र नभएर दाहाल पक्षकै लडाकु पनि प्याकेजका पक्षमा भने एक देखिन्छन् ।
दाहालको बोलीमा बिश्वास नभएको भन्दै आन्दोलन जारी राख्ने वाइसीएलका नेताहरुले बताएका थिए । 'यसअघि पनि अध्यक्षले पटक पटक माग पुरा गर्ने कुरा धेरैगरिसक्नु भएको छ' वाइसीएल नेता धु्रब घिमिरेले भने- 'अब लिखित रुपमा माग पुरा नभएसम्म मान्ने पक्षमा छैनौ, हाम्रो आन्दोलन जारी रहन्छ ।'उनले आइतबार दाङ, बुटवल र पोखरामा माओवादीभित्र देखिएका विकृतिको भण्डाफोर गर्ने बताए । त्यसपछि पनि माग पुरा नभए केन्द्रीय नेता र लडाकु कमान्डरका गाडी चल्न नदिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय र दाहाल निवास घेराउन गर्ने कार्यक्रम रहेको बताए ।'अध्यक्षले सकरात्मक कुरा गर्नुभएको छ' वाइसीएल संयोजक गणेशमान पुनले भने, 'पार्टी बैठकले समग्र प्याकेजको व्यवस्था गर्नेछ ।' उनले लडाकु वाइसीएललाई आर्थिक प्याकेज दिने, प्रमाणपत्रको व्यवस्था गर्ने, घाइते, अप्ङ्गको व्यस्था गर्ने र सांगठनिक जिम्मेवारी मिलाउने लगायत बिषयमा छलफल भइरहको बताए ।त्यस्तै बैद्य पक्षीय सभासद् एवं वाइसीएल नेतृ सावित्री दुराले दाहालले माग पुरा गर्न केही समय मागे पनि त्यसबीचमा आन्दोलन जारी राख्ने बता्इन् । 'यसअघि पार्टी बैठकले हाम्रा माग पुरा गर्ने निर्णय गरे पनि ठोस कार्यान्वयन हुन सकेको छैन' उनले बताइन् ।
बैठकमा वाइसीएल नेताहरुले संविधानसभा, त्यसपछि पनि आफूहरुलाई 'प्रयोग गरेर फ्याकेको' उल्लेख गर्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । 'हामीलाई संविधानसभा निर्वाचन र त्यसपछि पनि पार्टीले प्रयोग गर्दै आएको छ' घिमिरेले भने, 'हामीलाई चाहिदा भाूडो, नचाहिदा ठाडो बनाइयो । अब धैर्य गर्न सकिन्न ।' उनीहरुले वाइसीएलका लागि लडाकुबाट एक हजारका दरले लडाकुको तलबबाट उठाएको रकम सार्वजनिक गर्न माग समेत गरेका थिए ।वाइसीएका माग पुरा गर्ने सम्बन्धमा माओवादीले स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द र पोलिटव्युरो सदस्य जनार्दन शर्मालाई जिम्मा दिएको छ । दाहालले बैठकमा चन्द र शर्माले आर्थिक प्याकेज र अन्य मागबारे गृहकार्य गर्ने बताएका थिए ।
संविधानसभा निर्वाचन अघि माओवादीले करिब तीन हजार लडाकुलाई वाइसीएलमा तानेको थियो । आन्दोलनमा उत्रिएका वाइसीएलको प्रमुख माग स्वच्छिक अवकाशमा जाने लडाकु सरह आर्थिक प्याकेज दिनुपर्ने छ । उनीहरुलाई कम्तिमा पाूच लाखका दरले राहत दिने हो भने डेढ अर्ब रुपैया आवश्यक पर्ने छ । माओवादी उक्त रकम पार्टी कोषबाट उपलब्ध गराउने निर्णय स्थायी समिति बैठकले गरिसकेको छ ।
by;ekantipur.com
0 comments