"अनुहारको पक्षाघात भनेको के हो?"
सामान्य मान्छे मात्र नभई कहलिएका मान्छेलाई पनि यो समस्याले सताउने गरेको छ । ओस्कार अवार्ड विजेता हलिउड अभिनेता जर्ज क्लुनी युवावस्थामा अनुहारको पक्षाघात -बेल्स पाल्सी) ले पीडित थिए । उनले केही समयअघि सञ्चारमाध्यमलाई बताएअनुसार केही व्यक्तिले उनको हाई स्कुल पढ्दाताकाको तस्बिर उनलाई देखाएर नराम्रो देखिएको टिप्पणी गरेका थिए । त्यतिबेला उनले आफूलाई अनुहारको पक्षाघात भएको जानकारी दिएका थिए ।
अनुहारको पक्षाघात भनेको मुहारका दुवैतर्फका नशामध्ये एउटाको क्षतिको परिणामस्वरूप अनुहारको एकातर्फ अस्थायी कमजोरी वा मांसपेशीको पक्षाघातले उत्पन्न अवस्था हो । बेल्स पाल्सीले अनुहारलाई मात्र प्रभावित गर्छ । यसैले कुनै व्यक्तिको शरीरका अन्य भागमा कमजोरी वा लक्षण भए त्यसो हुनुको कारण अर्को हुन सक्छ । चिकित्सा तथ्यपत्रअनुसार वयस्कमा हुने करिब ७५ प्रतिशत अनुहारको पक्षाघातको कारण बेल्स पाल्सी नै हो । 'यो रोग देखिनासाथ तुरुन्त स्नायु विशेषज्ञको सल्लाहमा उपचार थाल्नुपर्छ,' त्रिवि शिक्षण अस्पतालका वरिष्ठ स्नायु रोग विशेषज्ञ प्राडा. जगदीशप्रसाद अग्रवालले भने, 'यसको उपचारभन्दा पनि प्रबन्धन गर्नु महत्त्वपूर्ण हुन्छ ।' यो रोग अनुहारको सात नम्बरको नशा क्षतिग्रस्त हुँदा हुन्छ । तर यो स्थायी भने होइन । यसको खासै कुनै उपचारसमेत छैन ।
यस्तो समस्या भए चिकित्सकहरूले भाइरसविरुद्घको औषधि, स्टेरोइड, भिटामिन 'बी (१२)' को औषधि खाने सिफारिस गर्ने गरेको उल्लेख गर्दै अग्रवालले भने, 'यो रोगमाथिका प्रक्रिया प्रमाणमा आधारित छैन, तर फाइदा हुन्छ भनेर दिने गरिएको हो ।'
तर उनले अनुहारको पक्षाघात भए जतिसक्दो चाँडो अनुहारको फिजियोथेरापी गराउनु राम्रो हुने बताए । फिजियोथेरापीले अनुहारका कमजोर मांसपेशीलाई बलियो बनाउँछ । यस्तै इलेक्टि्रकल स्टिमुलेसन थेरापी, एक्युपन्चर थेरापीले समेत रोगीलाई फाइदा पुर्याउँछ ।
विश्वव्यापी तथ्यांकअनुसार अनुहारको पक्षाघात ०.०२ प्रतिशत जनसंख्यामा हुन्छ । अर्थात्, प्रत्येक ५ हजारमध्ये एक जनामा । दायाँ वा बायाँ अनुहारमा पक्षाघात करिब-करिब बराबर मात्रामै हुने गरेको पाइएको छ । मधुमेह भएकाहरूलाई भने सामान्य जनसंख्याको दाँजोमा यो रोगको सम्भावना चार गुणा बढी हुन्छ । रोग प्रतिरोधक क्षमता प्रभावित भएकाहरू अर्थात् एचआईभी वा सारकोइडोसिसजस्ता समस्या भएकाहरूमा समेत यो रोगको जोखिम बढी हुन्छ ।
अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ न्युरोलजिकल डिजआर्डर एन्ड स्ट्रोक (एनआईएनडीएस) का अनुसार अनुहारको दुवैतर्फको पक्षाघात हुने सम्भावना दुर्लभ हुन्छ । एक प्रतिशतभन्दा कम जनसंख्यामा यस्तो समस्या पाइन्छ ।
अनुहारको पक्षाघात सुरुमा भयावह लागे पनि यो संक्रमणमा परेका धेरैजसो व्यक्ति एकदेखि तीन महिनाभित्र पूर्णरूपमा निको हुन्छन् । तर रोगीको सानो समूहको अनुहारमा भने यो रोगले मुक्त भएपछि पनि केही स्थायी कमजोरी रहिरहन सक्छ ।
विभिन्न चिकित्सा तथ्यांकअनुसार यस्ता करिब आधाजति यो रोगीहरू केही समयमै पूर्णरूपमा निको हुने गरेका छन् । ३५ प्रतिशतले एक वर्षभित्र आराम पाउँछन् ।
एनआईएनडीएसका अनुसार भाइरसको संक्रमणको एक/दुई साताभित्रै रोगीमा अचानक २४ देखि ४८ घन्टाभित्र लक्षण विकसित हुन थाल्छ । यो रोग विकसित हुनुअघि टाउको वा कानपछाडि दुख्न सक्छ । अनुहारमा भने कठोरता र अनुहार एकातर्फ बाँगिने लक्षण सुरु हुन्छ । रोगीलाई अनुहार राम्ररी चलाउन असजिलो हुन्छ । मुख पनि बांगिन्छ ।
रोगीलाई एउटा आँखा पूर्णरूपमा बन्द गर्न पनि असजिलो अनुभव हुन्छ । एउटा आँखाको परेला खुलै रहन्छ । पक्षाघातका कारण जिब्रोको एउटा खण्डले काम नगरी स्वादको अनुभूतिमा समेत कमी आउँछ । मुखमा र्यालको मात्रामा कमी देखिन्छ । नशामा नियन्त्रण नरहने भएकाले ओठको एउटा कुनाबाट र्याल चुहिरहन सक्छ ।
अनुहारको पक्षाघात सामान्यतया पीडितमै सीमित हुने रोग हो । 'तन्त्रिका सुन्निन कम भएपछि रोगीको स्थितिमा सुधार आउन थाल्छ,' प्राडा. अग्रवालले भने, 'स्नायुको गम्भीर क्षतिबाट बँच्न र स्नायु लामो समयसम्म सुन्निने सम्भावना रोक्न औषधि दिन सकिन्छ ।' रोगीले भने पर्याप्त आराम, राम्रो निद्रा, पोषणयुक्त खाना लिनुपर्छ ।
अमेरिकन एकेडेमी अफ ओटो ल्यारेंगोलजी (हेड एन्ड नेक सर्जरी) को तथ्यपत्रअनुसार अनुहारको पक्षाघातमा परेला प्रभावित हुने भएकाले त्यो पूर्णतः बन्द हुन सक्दैन । रोगीको कार्नियल सतह सुख्खा हुने हुँदा कार्नियलको नोक्सान रोक्न चिकित्सकले कृत्रिम आँसु, आई प्याच, सुरक्षात्मक चस्मा सिफारिस गर्न सक्छन् ।
अनुहारका नशा उत्तेजनालगायतका सबै महत्त्वपूर्ण गतिविधिका लागि जिम्मेवार हुन्छन् । अनुहारमा करिब ७ हजार स्नायुका तन्तु हुन्छन् । प्रत्येक तन्तुले विद्युतीय संवेदना प्रवाहित गर्ने गर्छ । परेला सञ्चालन, मुस्कान, र्यालको उत्पादन नियन्त्रण, जिब्रोबाट स्वाद ग्रहण, आँसुलगायतका काम अनुहारका नशाबाट सञ्चालनमा आउने गर्छन् ।
'अनुहारका स्नायु क्षतिग्रस्त भए वा कुनै संक्रमणले गर्दा सुन्निए तिनले संकेतहरूलाई प्रभावशाली रूपमा सञ्चालन गर्न सक्दैनन् र विभिन्न लक्षण देखिन थाल्छन्,' प्राडा.अग्रवालले भने, 'यो सामान्यतः भाइरसको संक्रमणले हुने गरेको भए पनि हरेक संक्रमण अनुहारको पक्षाघातको कारण बन्दैन ।' यो संक्रमण भने कुनै पनि उमेरमा पाउने गरिए पनि २० देखि ४० वर्षको उमेर समूहमा बढी देखिन्छ ।
by;hamrohealth,gogal
0 comments